ओलीले प्रचण्डलाई सधै सोध्ने त्यो प्रश्न, जवाफ कसले देला ? - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

ओलीले प्रचण्डलाई सधै सोध्ने त्यो प्रश्न, जवाफ कसले देला ?



प्रमु्ख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादीले जनयुद्धका नाममा हतियार उठाउनुको कारणबारे फेरि प्रश्न उठाएका छन्। ओलीले अहिले मात्रै होइन लगातार यो प्रश्न गर्दै आएका छन् ।

एमाले नेता छविलाल कार्कीको १२ औँ स्मृति सभालाई शुक्रबार सम्बोधनका क्रममा ओलीले माओवादीले हतियार उठाउनुको कारणबारे पहिलेदेखि नै आफूले प्रश्न उठाइरहेको पनि बताएका छन्।

‘माओवादीले केका लागि हतियार उठाएको हो? भनेर मैले पहिलेदेखि नै सोध्दै आएको छु’, उनले भने, ‘अहिले पनि मैले त्यसको जवाफ पाएको छैन। माओवादीले भनेको सशस्त्र जनयुद्धका नाममा एमाले र कांग्रेसका कार्यकर्ता मात्रै मारिए।’

उनले माओवादीले के का लागि हतियार उठाएको थियो? अहिले पनि बोलिरहेको बताए।

‘मैले त्यसबेला देखि बोल्दै आएको छु। प्रचण्डले आजको कुरा सुनेर उत्तर दिए हुन्छ। कार्यकर्ता त कम्युनिष्ट र कांग्रेस सबै मारिएका थिए’, उनले भने, ‘पेरुमा कम्युनिष्ट आन्दोलन हुँदा ३५ हजार कम्युनिष्ट कार्यकर्ता मारे। अनि आफू पनि गिरफ्तार भए गोन्जालेज। नेपालमा पनि यतिका मान्छे मारिए तर किन हो उत्तर पाएको छैन।’

उनले ३५ हजार कम्युनिष्ट कार्यकर्ताको ज्यान लिएपछि पेरुको साइनिङ पथका नेता गोन्जालेल ३० वर्ष जेलमा बसेर मरेको पनि सुनाए।

‘पेरुमा देश बनाउँछु भन्ने ३५ हजार कम्युनिष्ट कार्यकर्ता मारिएका थिए। जम्मा ६० हजार मारिएकोमा सेना प्रहरी र माओवादी २५ हजार थिए’, उनले भने, ‘त्यहाँका प्रचण्डहरूले ३५ हजार कम्युनिष्ट मारे। यहाँका प्रचण्डहरूले सेना प्रहरीसँगै हाम्रा साथीहरु पनि मारे। कांग्रेसका कार्यकर्ताहरु पनि मारिए। तर आजसम्म यसको उत्तर पाएको छैन।’