यो पाराले पार्टी चल्दैन भन्दै 'फायर' बनेर बैठकबाट हिँडे प्रचण्ड - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

यो पाराले पार्टी चल्दैन भन्दै ‘फायर’ बनेर बैठकबाट हिँडे प्रचण्ड



काठमाडौं- नेकपा (माओवादी केन्द्र)को सोमवार बसेको स्थायी समितिको बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भएको छ । बैठकमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले पार्टी विघटनको दिशातर्फ आघ बढेकाले सबै नेताहरू सुध्रनुको विकल्प नरहेको बताएका छन् ।

‘यही पारा हो भने पार्टी चल्दैन,’ अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘सबै नेताहरूले आफूलाई सुधार्नुपर्छ । मेरो तहबाट मैले के गर्नुपर्छ, त्यो गर्न म तयार छु ।‘

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा पार्टीको आगामी सम्मेलनका बारेमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

‘पार्टीको राष्ट्रिय सम्मेलन, प्रदेश तथा स्थानीय सम्मेलन, पार्टी सदस्यता नवीकरण तथा विभाग गठनका बारेमा बैठकमा विषय प्रवेश भएको छ,’ उनले भने ।

बैठकमा पार्टी सुदृढीकरणका विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको र भोलि बिहान ८ बजे पुनःस्थायी समिति बैठक बस्ने उनले जानकारी दिए ।

पार्टी एकतामा आएका सबै सहयोद्धाको जिम्मेवारीसम्बन्धी एजेण्डा बैठकमा प्रवेश भएको र भोलि निर्णय हुने उनले बताए ।

पार्टी एकढिक्का भएर मुलुक र जनताका पक्षमा उभिएको तथा पार्टीभित्र कुनै खटपट नरहेको उनले प्रष्ट पारे । ‘बैठकमा सबै विषयमा खुलारुपमा छलफल भएको छ, निर्णय मात्र हुन नसकेको हो,’ उनले भने ।