प्रचण्डपथको आमूल परिवर्तन ‘सक्या जति कमाउ नीति’ ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

प्रचण्डपथको आमूल परिवर्तन ‘सक्या जति कमाउ नीति’ !



दीपक घिमिरे

५२ साल पछाडिका वर्षहरूमा एउटा मीठो खबर सुनिन्थ्यो ‘ माओवादीका फलाना नेताले आफ्नो सम्पती पार्टीलाई बुझाए ! ’ भन्ने खालका खबर । सर्वहारा र बर्गिय मुक्तिका लागि हतियार उठायको माओवादी आन्दोलनले गरिब र धनी बिचको खाडल पुर्न अनि यी दुई तप्का बिच भएको असमान व्यवहार लाई चिर्न हतियारको प्रयोग ग¥यो अनि खुसी भयौ हामी बिचका तप्का ।

गरिबलाई साझ बिहान के खाउ भन्ने पिरलो अनि धनीलाई कमायको कहाँ राखौ भन्ने पिरलोलाई समाधान अब यही माओवादीले गर्छ भन्ने सपना सबैले देख्न थाल्यौ । गरिबले खुलेर समर्थन गरे , बिचकाले सुटुक्क सहयोग गरे र हुनेखाने वर्ग ज्यान जोगाउन सहर छिरे । त्यसपछि कब्जा भयो हुनेखाने वर्गका घर खेत । अनि बाडियो सर्वहारा वर्गलाई ।

त्यति खेर हुनेखाने जिम्दारका घरखेत मात्र बाडियनन , स्वयम् नेताका घरखेत पनि पार्टीकरण भए । धमाधम नेताहरूले आफ्ना घरखेत पार्टी लाई बुझाउदै सर्वहाराको नेतृत्वमा सामेल भएपछि हामी मन्द मुस्कानले माओवादी लाई साथ र सहयोग गर्न थाल्यौ । सोच्यौ अब देशमा आमूल परिवर्तन हुन्छ ।

गरिब झन् झन् गरिब हुने अनि धनी दिन प्रतिदिन धनी हुँदै जाने व्यवस्थालाई खारेज गर्न हतियार उठाएका नेताहरूलाई अनि तिन्का कार्यकर्ताहरूलाई साझ बिहानको गाँस जुटाउन धौ धौ पर्नेहरुले पनि हास्दै खुवाय , हिम्मत लिदै ज्यानको बाजि थापेर खुवाय । किनभने प्रचण्डपथले आमूल परिवर्तन चाहेको थियो । त्यो आमूल परिवर्तनमा सर्वहारा वर्गले धेरै सपना देखेको थियो । सर्वहारा वर्ग खानको लागि रुनु पर्ने थिएन ।

गाँस बाँस अनि कपासको व्यवस्था सर्बसुलभ बनाउनु अनि सर्वहारालाई मध्यमबर्गिय बराबरको पहुचमा ल्याउनु प्रचण्डपथको सपना थियो । त्यही सपनामा हराउदै हजारौले बलिदानी दिए । तिनै मिठा सपनाले गर्दा प्रचण्डपथले नयाँ आधार इलाका निर्माणमा सहजता पाउदै गयो । त्यतिखेरको अवस्थालाई सम्झिने हो भने साँच्चै आमूल परिवर्तन भयो नेपालमा । हिजो कार चढनेलाई हामी सामन्ती देख्थ्यौ , मौजा ओगटेर बसेका जमिन्दारलाई हामी शोषक देख्थ्यौ । अलि ठुलो व्यापार गरेर बसेकाहरुलाई हामी फटाहा ठान्थ्यौ अनि सुरक्षाकर्मीको पहुचमा बस्नेलाई हामी जासुस ठान्थ्यौ ।

ठ्याक्कै आमूल परिवर्तन भएर हिजो जस्लाई बर्गिय दुस्मन ठानियो उनैको जस्तो जिबनशैली हाम्रा नेतामा फर्कियो । अब यसैलाई मान्नु पर्छ प्रचण्डपथले ल्याएको आमूल परिवर्तन । हिजो झुसे दारी सँगै जङ्गलमा मोर्चा सम्हालेका कमान्डर हरू चिल्ला कारमा सयौ सुरक्षाकर्मिको बिचमा गुडछन । हिजो गरिबको झुपडिमा सीँकी र आटो पचाएका हरू आज पाँच तारे होटलामा फ्राई राईस अनि बिरयानी डकार्दै निस्कन्छन । हिजो कम्ब्याट ड्रेससँग सिपाई जुत्ता लगायर जङ्गल घुम्नेहरु आज टाई सुटमा सिंहदरवार तिरै बरालिन्छन अनि भुल्छन ती दिन । यसैलाई मान्नुपर्छ आमूल परिवर्तन ।

आमूल परिवर्तनको नारा लगाउनेहरुले साँच्चै परिवर्तनको स्वाद चाख्न पाए तर आमूल परिवर्तनको लागि हतियार उठाउनेहरु कोही खाडी छन् त कोही जिउदा सहिद बनेर आफ्नै घर आगन मा बाचेका छन् , ह्विलचियरको सहारामा ।

प्रचण्डपथले सिकाएको बाटोमा मुक्तिको सपना देखेर हिडेकाहरु यति बेला पछुताउदै छन् या गर्वले छाती फुल्याउछन ? यो एउटा अध्यनको विषय होला तर सरसर्ती हेर्दा प्रचण्डपथले उल्टो बाटो पकड्यो , जसले गर्दा गन्तव्य फेरि उहीँ अवस्थामा फर्कियो जहाँ धनी झन् धनी बन्दै जाने अनि गरिबले आकाशका तारा गन्दै निदाउने दिनहरू थिए ।

हो ! राजनैतिक रूपमा आमूल परिवर्तन भयो । हिजो एउटा राजालाई हामी सबैले दुस्मन देख्यौ , त्यही राजालाई जरै देखि उखेलेर फाल्ने आन्दोलन ग¥यौ । परिवर्तन गरायौ व्यवस्थाको । राजतन्त्रात्मक देशलाई गणतन्त्रात्मक देशमा आमूल परिवर्तन गर्न सक्यौ । राजनैतिक रूपमा परिवर्तन यत्ति नै हो भन्दा हुन्छ ।

व्यवस्था परिवर्तन भए । सङ्घीय गणतान्त्रिक देश बन्यो । तर यी सबै माओवादी ले ५२ सालमा पछाडि जनता उचाल्न प्रयोग गरियका नारा या देखाईएका सपना थिएनन । त्यति बेला त “मान्छे मान्छे एउटै हो , फरक किन भो ? ” भन्ने खतरनाक प्रश्न थियो । यही प्रश्नलाई समाधान गर्न या उनीहरूकै भाषामा आमूल परिर्तन गर्न हतियार उठेका थिए । तर ती उस्तै भए । गरिब गरिबै भए , धनी झन् धनी भए । हिजो गाउँ का घरखेत पार्टीलाई बुझाएकाहरु ले ( यहाँ सबैलाई नभनौ , केही भनौ ) सहरमा घरखेत जोडे । साइकल चढने औकात नभएकाहरु अहिले पजेरो , प्राडो चढने भए । हिजो शोषक र शामन्तीको आरोपमा काटिएका हरुको जस्तै जिबनशैली अहिले ती नेताले देखाउन थाले जसले हिजो सफायाको नाममा धनाढ्यलाई काटेका हुन । यही भयो परिवर्तन , नेताको जिबनशैलीमा आमूल परिवर्तन ।

परिवर्तन जनताले समाजमा चाहेका हुन , तर परिवर्तन समाजमा भएन नेता माथि भयो । टाठाबाठा कार्यकर्ता हरुले आफ्नै जिबनयापनमा परिवर्तन ल्याउन सफल भए । तर सर्वहाराको जिबनयापन परिवर्तन भएन अनि बर्गिय मुक्ति त अहिले सम्म नारामै सीमित छ ।
एकैछिन विषयवस्तु तर्फ लागौ !

तत्कालीन युद्ध को समयमा हुनेखाने वर्गलाई बर्गिय दुस्मन देख्ने माओवादीको आफ्नै शैली थियो । हुनेखानेलाई शोषक सामन्तीको बिल्ला भिरायर सफाया गर्ने जस्ता आफ्नै कानुन थिय । आधार इलाका भित्र पर्ने जमिन्दार अनि धनिबर्गहरु को जीवन माओवादी नेताको मुठ्ठीमा कैद हुन्थ्यो । उनीहरू माओवादीले चाहे अनुसार चल्थे , नचले बिस्थापित हुन्थे या त मारिन्थे ।

यो क्रम दस वर्ष सम्म चल्यो । आधार इलाका निर्माणको महान् दिशामा अघि बढेका माओवादीहरुले ठुला सपना बाडन अनि जनतालाई आफ्नो पक्षमा पार्न मिठा नीति नियम बनाय । नेताले आफ्नो सम्पती पार्टिकरण गरेर सर्वहाराकै हैसियतमा बस्ने अवस्था देखाय । सर्बहाराबादी नेता कहलिन आफू सर्वहाराको बनेको नाटक गरे । भएको सबै पार्टीलाई बुझाए ।

समय परिवर्तनशिल थियो । प्रचण्डपथले देखाएको आमूल परिवर्तनले नेतालाई यसरी परिवर्तन गराईदियो कि हिजो ज्यान दिन पछि नपर्ने ती योद्धाहरु यति बेला तिनै नेतालाई मार्ने सपना देख्दैछन । कारण अधुरा सपनालाई त्यागेर प्रचण्डपथले अंगालेको कमाउ नीति । सर्वहारा वर्गको नेता भन्न रुचाउने तर आफू आर्थिक रूपमा सम्पन्न हुन चाहने सपना शान्ति सम्झौता पछाडि नेताहरूले देख्न थाले । अनि सुरु भयो जति सक्छौ , कमाउ नीति ।

आर्थिक आय आर्जनको लागि जस्तो सुकै पनि सम्झौता गर्न पछि नपर्ने नेतृत्वले पुरानो हैसियत बिर्सियो । प्रचण्डपथले यति बेला जति सक्चौ कमाउ नीति पकड्यो । र यही नीतिकै कारण जनता माझ बाडियका सपना लथालिङ्ग अवस्थामा गए । र संसार जित्न हिडेको माओवादी सिंहदरवारमा केन्द्रित भयो । सत्ता र भत्तामा अडकियको माओवादीलाई आधार इलाका निर्माणको महान् दिशामा कसले हिडाउने अब ?