प्रचण्ड र पोखरेललाई जिम्मवारी दिएर मिर्गौला प्रत्यारोपण - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रचण्ड र पोखरेललाई जिम्मवारी दिएर मिर्गौला प्रत्यारोपण



काठमाडौं । आजका पत्रिकाहरुमा निजामती कर्मचारीको उमेर हद ६० वर्ष हुने र सरकारको विरोध गर्ने कर्मचारीको पेन्सन खारेज हुने समाचार प्राथमिकतामा परेको छ ।

यस्तै चीनले नेपाली भूमि नमिचेको प्रष्टीकरण दिएको विषयलाई पनि पत्रिकाहरुले प्राथमिकता दिएर छापेका छन् ।

‘बालुवाटारमा म्याराथन बैठक’ हेडलाइन दिइएको समाचारमा केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका र प्रमुख प्रतिपक्षी नेताहरुसँग गरेको छलफललाई श्रृंखलाबद्ध रुपमा प्रस्तुत गरिएको छ ।

गत शनिबार कालापानीबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली करिब चार घण्टा व्यस्त भए । त्यसपछि आइतबार नेकपा सचिवालय बैठकमा करिब दुई घण्टा बिताए । मंगलबार नेता माधवकुमार नेपालसँग पनि चार घण्टा छलफल गरे । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब दुई घण्टा छलफल गरे । बिहीबार पनि प्रचण्डसँग चार घण्टा र माधव नेपालसँग डेढ घण्टा लामो छलफल प्रधानमन्त्री ओलीले गरेको कान्तिपुरले लेखेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेटेका थिए । त्यसलगत्तै प्रदीप ज्ञवाली र त्यसपछि सरकारका प्रवक्ता गोकुल बास्कोटा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए । समाचारमा लेखिएअनुसार प्रधानमन्त्री ओलीको यो छलफल सरकार र पार्टीको काम तथा आफ्नो स्वास्थ्यको विषयमा केन्दि्रत छ ।

प्रधानमन्त्री ओलीले सरकारका काममा उपप्रधान तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष दाहाललाई थप केही भूमिका दिने तयारीमा छन् ।’

‘एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन् । यस विषयमा छलफल चलिरहेको छ । प्रत्यारोपणका लागि विदेश जानुअघि नै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए ।’