प्रचण्ड पुत्र प्रकाश दाहाल माओवादी केन्द्रबाट चुनाव लड्ने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्ड पुत्र प्रकाश दाहाल माओवादी केन्द्रबाट चुनाव लड्ने



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहाल यसपटक चुनाव लड्ने भएका छन् ।

उनी मंसिरमा हुने निर्वाचनमा समानुपातिक तर्फको उम्मेदवार बनेका हुन् । नेता बर्षमान पुन नेतृत्वको कार्यदलले छनोट गरेको उम्मेदवारको सूचीमा प्रकाशको नाम पनि रहेको छ ।

प्रचण्डको परिवारमा छोरी, बुहारी पछि छोरा पनि चुनाव लड्न लागेका हुन् । यसअघि बुहारी विना मगर कञ्चनपुरबाट र छोरी चितवनको भरतपुरबाट चुनाव लडिसकेका छन् । अब प्रकाश पनि प्रत्यक्ष रुपमा राजनीतिक मैदानमा आउन लागेका हुन् । र, उनको जित सुनिश्चित रहेको चर्चा माओवादी वृतमा हुन लागेको छ । छोरीलाई मेयर बनाइछाडेका प्रचण्डले छोरा प्रकाशलाई जिताएरै छाड्ने बताइन्छ ।

कार्यदलले बनाएको सूचीमा प्रत्यक्षतर्फ पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठ, बर्षमान पुन, कृष्णबहादुर महरा, मातृका यादव लगायत सबै नेताहरु प्रत्यक्ष तर्फको उम्मेदवार छन् ।

कार्यदलले जिल्ला कमिटीहरुबाट आएको सिफारिसका आधारमा उनीहरुलाई उम्मेदवारको सुचीमा समेटेको हो । स्रोतका अनुसार पार्टी अध्यक्ष प्रचण्ड चितवन ३ बाट, रामबहादुर थापा चितवन १ बाट, नारायणकाजी श्रेष्ठ गोरखा २ बाट चुनाव लड्ने तय भएको छ । यस्तै, कृष्णबहादुर महरा दाङ र बर्षमान पुन अनन्त रोल्पाबाट चुनाव लड्ने निश्चित भएको छ ।

समानुपातिकमा को–को ?

माओवादी केन्द्रको समानुपातिक तर्फको उम्मेदवारको सूचीमा प्रकाशसहित नेताहरु मणि थापा, रेखा शर्मा, दिनानाथ शर्मा, सभामुख ओनसरी घर्ती मगर, पूर्व मन्त्री हितराज पाण्डे लगायत रहेका छन् ।