नयाँ रणनीतिमा प्रचण्ड: निर्वाचन अघि पूर्व माओवादी एक बनाउने, यसरी हुँदैछ वार्ता - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

नयाँ रणनीतिमा प्रचण्ड: निर्वाचन अघि पूर्व माओवादी एक बनाउने, यसरी हुँदैछ वार्ता



काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाको निर्वाचन अगाडी नै पूर्व माओवादीहरुबीच एकता गर्ने रणनीति बनाएका छन् । पार्टीकै नेताहरूले माओवादीका सबै घटक मिल्नेहो भने आउने निर्वाचनमै ठूलो शक्ति बन्न सकिने सुझाव दिएका आधारमा प्रचण्ड सक्रिय रूपमा लागेको बताइएको छ ।

माओवादी पराजयको मुख्य कारण नै फुट भएको निष्कर्ष यसअघि नै पार्टीले निकालेको थियो । त्यसैले माओवादी छाडेर अन्य पार्टी खोलेका र अन्य पार्टीमा लागेकाहरुलाई एकत्रित गर्न पार्टीभित्र संयन्त्र नै बनाएर प्रचण्ड लागिरहेको स्रोतले बताएको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचन अघि नै पार्टी एक गराउन प्रचण्डले भित्रि तयारी थालेर संयन्त्र निर्माण गरेका छन् । जसमा केहि नेताहरूसँग गोप्य रूपमा वार्ता गर्ने जिम्मेवारी कृष्णबहादुर महरालाई दिइएको बताइएको छ ।

स्थानीय निर्वाचनको परिणामपछि हौसिएको माओवादी केन्द्रले पार्टीको केन्द्रीय समितिको बैठकमा पनि एकताको विषयमा छलफल गर्ने तयारी गरिएको छ । पार्टी एकता र सुध्रिढिकरणका लागि नै पदाधिकारीको विषय पनि थाति राखिएको स्रोतले बताएको छ ।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनमा आएको परिणामका आधारमा अबको निर्वाचनमा सबै घटक एक हुने अवस्था आए निकै राम्रो नतिजा ल्याउन सक्ने निष्कर्ष निकालेका छन् । सधै गठबन्धन गर्न नसकिने र परिस्थिति निर्माण गर्न नसकिने निष्कर्ष उनको छ ।

संघीय संसद्को निर्वाचनअघि नै माओवादीहरु एक भएर जान सकिए सके पहिलो दल नत्र दोस्रो डल बन् बन्नसक्ने माओवादी केन्द्रका नेताहरुको दाबी छ । एमालेसँग सहकार्य गर्दा पनि अब जनताले विश्वास नगर्ने प्रचण्डलगायतका नेताहरूको बुझाई छ । दुवै दलका कार्यकर्तामा तिक्तता बढेकाले एमालेसँग गठबन्धन गर्दा पनि पहिलेजस्तो नतिजा पनि आउन नसक्ने माओवादी नेताहरूको बुझाई छ ।

६४ को जस्तो माओवादीहरु एकजुट भएर जान सकिए पहिलो दल बन्न कुनै असम्भव नरहेको प्रचण्डले सार्वजनिक कार्यक्रममा नै बताउने गरेका छन् । त्यतिमात्र होइन प्रचण्डले जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन बैद्यलगायतसँग संवाद गरिरहेको बुझिएको छ ।

त्यतिमात्र होइन पछिल्लो समय प्रचण्ड र अन्य नेताले एमालेमा लागेका पूर्वमाओवादी नेताहरूसँग पनि लगातार संवाद गरिरहेको बुझिएको छ ।