प्रचण्डको रोचक विज्ञप्ति: चीनको समर्थन गरे, अमेरिकाको विरोध गरेनन् - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

प्रचण्डको रोचक विज्ञप्ति: चीनको समर्थन गरे, अमेरिकाको विरोध गरेनन्



चीन र अमेरिकाबीच तनाव बढिरहेका बेला नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनको समर्थन गर्दै आफ्नो धारणा सार्वजनिक गरेका छन् । प्रचण्डले आफू एक चीन नीतिको पक्षमा रहेको बताएका छन् ।

जापान भ्रमण गर्नुअघि प्रचण्डले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै चीनको एकतामा बाधा हुने जुनसुकै गतिविधिको पार्टीले विरोध गर्ने जनाएका छन्।

शुक्रबार साँझ आफ्ना स्वकीय सचिव रमेश मल्लमार्फत सार्वजनिक गरिएको धारणामा उनले आफू र आफ्नो पार्टी चीनको एकताको पक्षमा रहेको बताएका छन् ।

चीनले विरोध गर्दागर्दै अमेरिकी सभामुख न्यान्सी पेलोसी चीनको स्वशाषित क्षेत्र ताइवान गएपछि उत्पन्न विवादले विश्वव्यापी तरङ्ग ल्याइरहेका बेला प्रचण्डले आफ्नो र पार्टीको धारणा सार्वजनिक गरेका हुन् ।

रोचक त के छ भने प्रचण्डले चीनको पक्षमा धारणा सार्वजनिक गरेका छन् । तर अमेरिकाको कतैपनि विरोध गरेका छैनन् । उनले सार्वजनिक गरेको धारणामा अमेरिकाको कतै पनि विरोध गरिएको छैन ।

प्रचण्डले चीनलाई लिएर घटेको पछिल्लो घटनाक्रममा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन्। उनले स्वकीय सचिव मल्लमार्फत भनेका छन्,’ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) एक चीन नीतिप्रति प्रष्ट छ।’

चीन र अमेरिकाको घटनाक्रमलाई लिएर यसअघि नेपाल मजदुर किसान पार्टी, नेकपा एकीकृत समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहितले कडा शब्दमा भर्त्सना गर्दै विज्ञप्ति निकालेका थिए।

प्रचण्डले चीनको राष्ट्रिय एकताप्रति वाधा हुने कुनै पनि गतिविधिमा विरोध रहने पनि उल्लेख गरेका छन्। ‘चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ’, उनले भनेका छन्।