कांग्रेस र नेकपा एसले पनि प्रचण्डलाई समर्थन गर्ने - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कांग्रेस र नेकपा एसले पनि प्रचण्डलाई समर्थन गर्ने



प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन्। माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधिसभामा विश्वासको मत लिन लागेका हुन्। नयाँ प्रतिनिधिसभाको सोमबार बसेको पहिलो बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले प्रधानमन्त्री दाहालले मंगलबार विश्वासको मत लिनेबारे जानकारी गराएका थिए। संविधानको धारा ७६ को २ अनुसार पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले विश्वासको मत लिने कार्यसूची छ।

प्रतिनिधिसभाको ठुलो दल नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिने तयारी गरेको छ। एमालेको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त दाहाललाई कांग्रेसले विश्वासको मत दिएर प्रतिपक्षीमा बस्ने तयारी गरेको हो। मंगलबार बिहान बस्ने संसदीय दलको बैठकले दाहाललाई विश्वासको मत दिने निर्णय कांग्रेसले लिने एक नेताले जानकारी दिए।

विश्वासको मत लिने अघिल्लो दिन सोमबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने आश्वासन दिएको पनि ती नेताको दाबी छ। ‘कांग्रेसकै समर्थनमा हामी उहाँ (पुष्पकमल दाहाल) लाई प्रधानमन्त्री बनाउन चाहन्थ्यौं,’ देउवानिकट ती नेताले भने, ‘हतार गरेर उहाँ एमालेकहाँ पुग्नुभयो। विश्वासको मत दिएर विपक्षमा बस्ने भन्ने अहिलेसम्मको हाम्रो तयारी हो।’

दाहाललाई प्रधानमन्त्री नियुक्त गर्न समर्थन नगरेको र अहिलेसम्म विश्वासको मत दिने निर्णयसमेत नगरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि विश्वासको मत दिने भएको छ। निकट स्रोतका अनुसार दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एस पनि कांग्रेसजस्तै विपक्षमा बस्ने भएको हो। उसले पनि मंगलबार (आज) संसद् बैठकअघि निर्णय गर्नेछ।

प्रतिनिधिसभामा कांग्रेसका ८८ र नेकपा एसका १० सांसद छन्। दाहाल नेतृत्वको सरकारमा ७९ सिट रहेको एमाले, २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ६ सिट रहेको जनमत पार्टी सहभागी भइसकेका छन्। १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने तयारीमा छ। सम्भवतः बिहीबार हुने मन्त्रिपरिषद् विस्तारमा राप्रपा सरकारमा सहभागी हुनेछ। त्यस्तै दाहाललाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी (नाउपा) सहित तीन स्वतन्त्र सांसदले समर्थन गर्ने जनाइसकेका छन्।