प्रचण्ड ज्यू ! सहिद र बेपत्ताको आँसुको श्राप लाग्ला । « Himal Post | Online News Revolution
Logo

प्रचण्ड ज्यू ! सहिद र बेपत्ताको आँसुको श्राप लाग्ला ।



 दीपक घिमिरे

वर्गीय समानता र आमूल परिवर्तनको नारा दिएर देश जनयुद्धमा होमिएपछी मर्ने र मार्ने खेल सुरु भयो । सशस्त्र विद्रोह गरेको माओवादी र सरकारी सुरक्षा फौज बिच निर्णायक लडाई चलिरहदा हजारौँ सर्वसाधारणले पनि ज्यान गुमाए । ज्यानको बाजि लगाएर युद्धको मोर्चा सम्हाल्ने लडाकुहरु मर्नु मारिनु नौलो लाग्थेन त्यति बेला । दैनिक मरेका खबरले झस्काउन छाडिसकेको थियो र म बुझ्ने भैसकेको थिएँ ।
राजनीतिप्रति चासो राख्दिन भन्ने मनसाय भएकाहरु पनि एउटा खेमा पकडेर बस्न बाध्य थिए । सशस्त्र विद्रोह गरेको माओवादीलाई समर्थन गर्नु या सरकारी सेनालाई । सहर केन्द्रीतहरु सरकारी सेनालाई समर्थन गर्थे भने गाउँबासी माओवादीलाई । अवस्था पनि ठ्याक्कै त्यस्तै थियो । जहाँ जसको राज चल्छ , त्यहाँ उसकै समर्थक खुल्लम खुल्ला हिडडुल गर्न पाउथे ।

गाउँसमाजमा माओवादीको जनसरकार चलिरहदा शोषक सामन्तिको बिल्ला भिरायर कैयौ जमिन्दार अनि फरक दलमा आस्था राख्नेलाई गाउँ निकाला गरियो । सजिलो अर्थमा भन्नु पर्दा माओवादीले सत्ता चलाउने आधार ईलाकाहरुबाट माओवादी बिरोधीहरु बिस्थापित भए र सरकार सहर केन्द्रित मात्र भयो ।

म त्यति बेला देखि माओवादीको अन्धभक्त हुँ जतिबेला गाउँगाउँमा जनसरकार स्थापित थियो र सर्वहारा वर्गमा समानताको सपना थियो । ज्यानको बाजि लगाएर लडने जनयोद्धालाई म भगवान् ठान्थे अनि उनीहरूको लागि सहर सम्म पुग्थें ।सुरुवाती चरणमा नेपाली जनताको मन जित्न सफल माओवादी शान्ति सम्झौता पछाडिका हरेक निर्णय, हरेक गल्तीहरुले गर्दा यसरी पछाडि पर्‍यो कि त्यो भन्दा पछाडि फर्कने ठाउँनै रहेन । नेता केन्द्रमा बस्न थाले पछि गाउँमा बस्ने कार्यकर्तालाई माओवादी हुँ भन्न पनि लाज लाग्ने अवस्था सृजना हुँदै गयो ।

पदीय लोभमा माओवादी यतिसम्म डुब्यो कि जनयुद्धको रापमा पाकेर आएको माओवादी पार्टी चिराचिरामा बिभाजित भयो । जनताले सजिलै बुझेका छन् कि पार्टी बिचार नमिलेर फुटाइएको हैन , पद नपुगेर हो । अन्तिम अवस्थामा आएर पार्टी भित्र पदलोलुपता हाबी हुँदै गएको कुरा चार हजार भन्दा माथि केन्द्रीय सदस्य सङ्ख्याले पनि जनाउछ ।

नेता केन्द्रमा बस्ने, जनता माओवादी बनेर हिडन नसक्ने अवस्था आउँदै गएपछी कार्यकर्तामा वैचारिक बिचलन हुन थाल्यो । वैचारिक बिचलनको मार माओवादीले खेपेपनि यसको असर केन्द्रमा बस्ने माओवादीले महसुस गरेनन् । किनभने सत्ता चलाउन दुई तिहाई बहुमत कसैको नभएपछी सत्ता साझेदारमा माओवादी नै निर्णायक भूमिकामा बस्यो । प्रचण्डको हात जसको टाउकोमा पर्छ, उहीँ प्रधानमन्त्री बन्ने सौभाग्य नेपाली राजनीतिक दलमा देखा परेपछी प्रचण्ड पुनः एक पटक हिरो भए ।

हो ! नेपाली राजनीतिक इतिहासमै प्रचण्डको पालामा स्थायी विकासका कामहरू सम्पन्न हुदैछन । सकारात्मक कामको चर्चा गरिनु पर्दछ । नेपाली जनताले प्रचण्डबाट धेरै आशा पनि गरेका छन् । हरेक सकारात्मक कामको नकारात्मक टिप्पणीले गर्दा प्रचण्ड ओझेलमा परिरहेका छन् त्यो गलत हो ।तर एउटा काम प्रचण्डकै पालामा हुन गयो जसले गर्दा म जस्ता अन्धभक्तहरुले पनि आँखा खोल्ने बेला आएको छ । एक पटक प्रचण्ड लगायतको केन्द्रीय टिमलाई झस्क्याउने बेला आएको छ ।

करिब दुई दशक पछि हुन थालेको स्थानीय तह निर्वाचनलाई हामीले गौरवको रूपमा लिएका छौ । हारजित एउटा पाटो होला तर दुई दशक पछि निर्वाचन हुनु नै गौरवको कुरा हो र माओवादीले चुनावको श्रेय लिन पाउनु नै जित हो । यति कुरा माओवादी समर्थकले बुझेका छन् । तोकिएको समय भित्रै प्रचण्ड सरकारले चुनाव सम्पन्न गराउन सक्यो भने सबैभन्दा ठुलो जित हुनेछ ।

एउटा प्रश्न प्रचण्ड जी “अरूका सन्तान सहिद बनाएर आफ्नालाई नेता बनाउने सपना किन देखेको ? सहिद र बेपत्ताको आँसुले श्राप लाग्ला ।”

तर पद, सत्ता प्राप्ति र नाताबादकै लागि हरेक दलसँग गरिने सहकार्यले माओवादी पार्टीलाई कता डोर्याउँदै छ भन्ने चिन्ता कसैले लिएको पाईदैन । स्थानीय तहको निर्वाचनमा पदकै लागि हिजो दक्षिणपन्थी भनेर वर्ग दुस्मनमा सुचिकृतहरुसँग साझेदार गरिनु सच्चा माओवादीको लागि पीडाको कुरा हो ।

सत्ता साझेदार गरिनु एउटा बाध्यात्मक अवस्था थियो होला किनभने गणतन्त्रलाई संस्थागत गर्न , सङ्घीयतालाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई जनताको तन्त्र बनाउन दुई चार वर्ष माओवादी सत्तामा बस्नै पर्छ । त्यसको लागि दुई ठुला दल मध्य एउटालाई काधमा नबोकी सम्भव नै छैन । स्थानीयतहमा समेत हिजोका वर्गीय दुस्मनसँग सहकार्य किन ?

हामीले भुलेका छैनौ र भुल्न पनि सक्दैनौ कि तिनै नेताले हिजो प्रचण्ड लगायतका शीर्ष नेताहरूको टाउकाको मूल्य तोकेका थिए । त्यही रिसमा हामीले गाउँ गाउँबाट वर्ग दुस्मनको आरोप लगाएर, सुराकीको आरोप लगाएर, दक्षिणपन्थीको आरोप लगाएर तिनै नेताका कार्यकर्तालाई गाउँ निकाला गरेका थियौ । सुराकिको आरोपमा सफाया पनि गर्न भ्यायौ तर आज परिस्थिति यस्तो आईदियो कि टाउकाको मूल्य तोक्ने र तोकि माग्ने सँगै बसेर चियर्स गरिरहदा हामी गाउँमा अझै वर्ग दुस्मन ठानेर लडदै छौ । आखिर के का लागि ? नेताले आफ्नो औकात देखाईसके, नाताबादका लागि हिजोका सबैभन्दा ठुला दुस्मन ठानिएकाहरुसँग चुनावी तालमेल गर्न तम्सिए पछि हामी उनै नेतालाई अझै देवत्वकरण गर्न पछि पर्दैनौ । साँच्चै हामी आफै गलत छौ , नेतालाई किन दोष ?

अबको स्थानीयतह चुनावमा माओवादीले गरेको तालमेल स्पष्ट रूपमा पदीय लालच हो । जसले जितेपनि सङ्घीयता र गणतन्त्र सस्थागत भयो भने माओवादीकै जित सम्झेर माओवादीकै गुणगान गाउने हामी जस्ता अन्धभक्तहरुलाई लोप्पा खुवाउदै वर्ग दुस्मनसँग साँठागाँठ गर्नुको केही औचित्य छैन ।

हिजो लडाइको मोर्चामा सर्वहाराको हातमा सत्ता भनेर सपना देखाउदा ताली पडकाईयो । घाइते भएको आफ्नै साथीले प्राण गुमाउदा मुठ्ठी कसेर कम्युन अवधारणा अन्तर्गत एउटै परिवार भएको आश्वासन दिइयो अनि सहिद परिवार मात्र होइन देशकै जिम्मेवार भइयो तर आज ती सहिद परिवार कहाँ छन् थाहा छ नेताजी ? युद्धको मोर्चामा मर्न र मार्न तम्सिएका ती वीरहरु आज खाडीको तातो बालुवामा पसिना बेच्दै छन् तर नाताबाद र पदीय लोभमा चुर्लुम्म डुबेर प्रचण्ड महोदय छोरीका लागि काँग्रेसको पाउ मोल्दै हुनुहुन्छ ।

एउटा प्रश्न प्रचण्ड जी “अरूका सन्तान सहिद बनाएर आफ्नालाई नेता बनाउने सपना किन देखेको ? सहिद र बेपत्ताको आँसुले श्राप लाग्ला ।”