प्रचण्डले भने: माओवादी पार्टी बिग्रियो, नेताहरू ब्यक्तिवादी र स्वार्थी भए - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रचण्डले भने: माओवादी पार्टी बिग्रियो, नेताहरू ब्यक्तिवादी र स्वार्थी भए



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बिग्रिएको बताएका छन् । उनले पहिलेको जस्तो क्रान्तिकारी पार्टी नरहेको बताउँदै माओवादी बिग्रिएको बताए ।

पार्टीका नेता रामबृक्ष यादवको स्मृति दिवसमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा प्रचण्डले पार्टीभित्र अहिले ब्यक्तिवादी र स्वार्थी गुटहरु देखा पर्न थालेको बताएका हुन् ।

प्रचण्डले माओवादी विगतको भन्दा विग्रेपनि देशको सवैभन्दा राम्रो पार्टी भने माओवादी नै रहेको जिकिर पनि गरे ।

‘हामी अलिकति बिग्रिएका छौं। हिजोको जस्ता क्रान्तिकारी छैनौं। ब्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थी भएका छौं, हामीले प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर भन्दा पनि आफैंतिर कसरी बलियो बन्ने भन्नेतिर लागेका छौं,’ प्रचण्डले भने,–‘स्वार्थ समूह बनाउनेतिर उद्दत हुन थालेका छौं। यसले क्रान्तिकारी विचारमा स्खलन आएको छ।’

रामबृक्ष यादवको स्पिरिटको जस्तो पार्टी अहिले नरहेको भन्दै प्रचण्डले आफ्नै पार्टीभित्रको समस्याको आत्मसमिक्षा गरेका हुन् । पार्टी धेरै विग्रिएको भन्दै प्रचण्डले त्यसलाई सुधार गरेर जानुपर्ने बताए ।

‘ब्यक्तिबादी, आत्मकेन्द्रीत र स्वार्थी भएका छौं अहिले हामी, सामुहिक भावनाद्दारा ओतप्रोतबाट भएर जाने भन्दा स्वार्थकेन्द्रीत गुट बनाउनेतिर लागेका छौं, यसले क्रान्तिकारी स्पिरिटमा नराम्रोसँग स्खलन आएको छ,’ प्रचण्डले भने,–‘विचारमा, दस्तावेजमा अहिले पनि हामी क्रान्तिकारी नै छौं, तर दैनान्दिनको ब्यवहार र हाम्रो गराई र भनाईमा अन्तर आईसकेको छ । यसको हल गर्न सकिएन भने हामीले क्रान्तिकारी हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ । त्यसैले रामबृक्षको बलिदानलाई सम्झेर सवैले आफैभित्र फर्केर आत्मसमिक्षा गर्नुपर्छ ।’

प्रचण्डले पार्टी बिग्रन खोजेको भएपनि अहिले देशमा रहेको पार्टीमध्येमा सवैभन्दा उच्चस्तरको पार्टी माओवादी नै रहेको बताए । माओवादी पार्टीले मात्रै देशको नेतृत्व गर्न सक्ने प्रचण्डले दावी गरे । लेनिनले क्रान्ति गर्दाको जस्तो विश्व परिस्थित नरहेको र त्यसमा धेरै नै फरक आएको भन्दै प्रचण्डले नयाँ परिस्थितीमा माओवादीहरुले माक्र्सवादलाई नै विकसित गर्ने चुनौति आएको बताए ।

त्यस्तो चुनौति सजिल्यै समाधान हुने खालको नरहेको भन्दै उनले विचारको विकास नगरी अबको दुनियाँमा समाजवादी क्रान्ति अगाडी बढाउन नसकिने बताए । पार्टीको महाधिवेशनमा गरेको संश्लेषण अझै पूर्ण नरहेको भन्द्र प्रचण्डले सवै कुराको विश्लेषण गरेर अर्काे महाधिवेशन गरेर माओवादी पार्टीलाई नयाँ क्रान्तिको नेता बनाउनु पर्ने बताए ।

पूरानै रुपमा मात्र अगाडी बढेर अवको क्रान्ति पूरा हुन नसक्ने प्रचण्डले बताए । कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले धुव्रिकरण गर्ने प्रयास गरिरहेको पनि प्रचण्डले बताए । निर्वाचनको तयारीकै क्रममा पनि क्रान्तिकारी धुव्रिकरणको प्रयास भएको प्रचण्डले बताए ।

बामपन्थी, प्रगतिशिल र देशभक्त शक्तिलाई एकतावद्ध गरेर जानुपर्ने अहिलेको आवश्यकता रहेको र माओवादीको ध्यान अहिले त्यसैमा रहेको प्रचण्डले बताए । ‘यो निरन्तरतामा क्रमभंग गर्ने प्रक्रिया फेरि एक्पटक शुरु भएको मैले देखेको छु,’ प्रचण्डले भने,‘त्यसैमा अहिले वाम आन्दोलनलाई धुव्रिकृत गर्ने र एकीकरण गर्नेतिर नै जोड गर्नुपर्छ ।’