प्रचण्डलाई पेन्डुलम बनाउने रणनीति « Himal Post | Online News Revolution
Logo

प्रचण्डलाई पेन्डुलम बनाउने रणनीति



काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक विवाद पेचिलो बन्दै गएको छ । २०७७ सालको शुरु देखि नै चुलिएको विवाद आज साउनको तेस्रो हप्ता पुगिसक्दा पनि समाधान हुन सकेको छैन । अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकार दुवैतर्फ एकछत्र राज गर्दै आएका छन् । उनले एउटा गुट बनाएर पार्टीभित्रकै अन्य पक्षकालाई पेलेरै जाने रणनीति लिएका छन् । यतिसम्मकी, आफैँले विगतमा पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गरेको भद्र सहमति तोडिदिएका छन् । यसले तत्काल प्रधानमन्त्री ओलीलाई शक्तिशाली देखाए पनि यसले गम्भीर राजनीतिक दुर्घटना निम्त्याउने खतरा बढाएको छ ।

ओलीलाई उनका सल्लाहकारहरुले घेरबन्दीमा पारेर राजनीतिका यथार्थ तस्बिरहरु नियाल्न नपाउने बनाइदिएका छन् । बालुवाटारको कोठाभित्र सिमित व्यक्तिहरुको घेराबन्दीले उनी महाभारतका धृतराष्ट्र जस्तै बनाइएका छन् । बरु महाभारतका धृतराष्ट्रलाई बिदुर र सञ्जयले यथार्थ जाहेर गर्दै सम्झाउँथे । तर, ओलीलाई सकुनी शैलीमा उक्साउनेहरु हावी भएका छन् । उनी देशमा बढ्दो भ्रष्टाचार, बेथिति र अराजकताबारे बेखबर जस्तै बनाइएका छन् ।

देशमा नीतिगत भ्रष्टाचार बढेको छ । कोरोना भाइरससँग सिंगो देश जुधिरहँदा स्वास्थ्य क्षेत्रमा भएका भ्रष्टाचारहरु छताछुल्ल भएका छन् । जनता महङ्गीको मारमा परेका छन् । तर, त्यसतर्फ सरकारको कुनै ध्यान गएको छैन । कालोबजारीहरु सलबलाएका छन् । जनतामा व्यापक असन्तुष्टिले बिष्फोटक रुप लिइरहेको छ । तर, उनका सल्लाहकारहरु सबै ठिक छ भनी ओलीलाई मख्ख पारिरहेका छन् । जनतामा बढेको असन्तुष्टिलाई परिवर्तन विरोधीले आफ्नो स्वार्थमा प्रयोग गर्न सक्ने गम्भीर परिणामका बारेमा ओली र उनका सल्लाहकारहरुले बेवास्ता गरिरहेका छन् । सत्ता सधैको पेवा हो जसरी अहंकार देखाउनमै केन्द्रित छन् ।

एकातर्फ जनतामा असन्तुष्टि बढेको छ, अर्कोतर्फ नेकपाभित्रको मतभेद मनभेदमा समेत बदलिदै गएको छ । विशेषगरी ओलीको प्रचण्डप्रतिको व्यवहारले कुनैपनि बेला दुर्घटनाको खतरा बढाउँदै लगेको छ । दश वर्ष जनयुद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिक मूलधारमा आएका प्रचण्डले तत्कालिन नेकपा एमालेसँग पार्टी एकीकरण गरेर सबैलाई आश्चर्यमा मात्र पारेनन् ठुलै त्याग पनि देखाएका थिए । उनले अब पुच्छर राखेको कम्युनिस्ट पार्टी रहनुहुन्न र एउटै कम्युनिस्ट पार्टी हुनुपर्छ भनेर उद्घोष पनि गरेका थिए । नेपाली राजनीतिको केन्द्रमा रहेका प्रचण्डले ओलीपछि वरियतामा दोस्रो बनेर नेकपा एकताका लागि तयार हुनु चानचुने विषय थिएन । यत्रो त्याग नेपालको कम्युनिस्ट इतिहासमा मनमोहन अधिकारी र मदन भण्डारीले बाहेक सायदै कुनै नेताले गरेका थिए ।

प्रचण्डले पार्टी एकताका लागि ओलीलाई एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री मान्न पनि तयार भए । दुवैबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति पनि भयो । यस्तो भद्र सहमतिको प्रचण्डले खुलासा पनि गरे । दुई वर्षसम्म प्रचण्डले नाम मात्रको अध्यक्षको भरमा चल्नुपरेको थियो । त्यसलाई पनि उनले सहेकै थिए । तर, ओलीले प्रचण्डलाई रणनीतिक रुपमा कमजोर बनाउन लागिपरे । घुमाउरो तरिकाले विधेयक ल्याएर तर्साउन थाले । जनयुद्धकालिन मुद्दा उल्टाइदिने देखि विगतका केही विवादास्पद घटनाबाट अप्ठ्यारोमा पारिदिने संकेतहरु गर्न थाले । राजनीतिक व्यक्तिको शैलीभन्दा षड्यन्त्रको शैली अपनाउन थाले ।

यसले प्रचण्डलाई पार्टी एकता गर्नु कतै गल्ती त थिएन भनी सोच्न वाध्य बनायो । उनलाई निकटस्थहरुमध्ये कतिपयले पार्टी एकता गर्नु भुल थियो भन्दै आएका पनि छन् । प्रचण्डले सार्वजनिक रुपमा आफूले विगतमा ओलीसँग गरेका केही भद्र सहमतिबाट ब्याक भएर गल्ती त गरिनँ ? भनी बोले । प्रचण्ड जस्तो नेताले यति गम्भीर विषयमा टिप्पणी गर्नु सामान्य विषय थिएन ।

प्रधानमन्त्री ओलीले चालेका कतिपय राम्रा कामहरुमा प्रचण्डले पुरापुर साथ दिए । तर, ओलीले जस एक्लैले लिन खोज्ने र प्रचण्डलाई होच्याउन थाले । देशको नयाँ नक्शा जारी गर्दा प्रचण्डको साथ थियो । नेकपाले आधिकारिक निर्णय गरेको थियो । यतिसम्मकी नेपाली काँग्रेसले पनि साथ दिएको थियो । प्रचण्डको नियत खराब थियो भने, नयाँ नक्शा जारी नगर्दै ओलीलाई अप्ठ्यारोमा पार्नसक्थे । तर, उनले राजनीतिक चरित्र देखाएर ओलीलाई राष्ट्रिय मुद्दामा निशर्त साथ दिए ।

तर, ओलीका सल्लाहकार र निकटस्थहरुले प्रचण्डलाई होच्याउने गरी नक्शाको विषयमा टिप्पणी गरे । ओलीले राष्ट्रवादी नेताको पहिचान बनाएको र समृद्ध नेपाल निर्माणमा आफूलाई केन्द्रित बनाइरहँदा प्रचण्डले निकै सहयोग गरेका थिए । कतिपय राजनीतिक तथा संवैधानिक नियुक्तिमा पनि लचिलो रुपमा प्रस्तुत भएका थिए । त्यसलाई ओलीले प्रचण्डको कमजोरी देख्न थाले । अहिले प्रचण्ड राजनीतिक जीवनको सबैभन्दा चुनौतीपूर्ण घडीमा छन् । उनले अस्तित्वकै संकट आउनसक्ने देख्न थालेका छन् । नेपालको राजनीतिको कोर्स बदल्ने नेतालाई यति संकटमा धकेल्नु भनेको स्वयं राजनीतिक प्रणालीका लागि खतरा बन्नसक्छ । १२ बुँदे जगमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पर्न सक्छ ।

ओलीको पछिल्लो कदमले १२ बुँदे समझदारी नै गलत थियो भन्ने निष्कर्ष एकथरि भारतीय बुद्धिजीवीहरुले निकाल्न थालेका छन् । नेपाली काँग्रेसभित्र गणतन्त्र र धर्म निरपेक्षतामाथि प्रश्न उठाउनेहरु हावी हुँदै गएका छन् । बिपी कोइरालाका पुत्र डा. सशांक कोइरालाले गणतन्त्र र धर्मनिरपेक्षताबारे पुर्नविचार गर्नुपर्ने भन्दै आएका छन् । हाल महामन्त्री रहेका कोइराला काँग्रेसको सभापति बन्न यही पुर्नविचारको एजेन्डा लिएर बढ्ने तयारीमा छन् ।

एकातर्फ नेकपाभित्र ओलीको कदम दुर्घटनातर्फ बढिरहेको छ भने, अर्कोतर्फ दक्षिणपन्थी शक्तिहरु एकजुट हुँदै गइरहेका छन् । ओलीले आफ्नै दलका नेताहरु प्रचण्ड र माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतमलाई सिध्याउने नीति दक्षिणपन्थी शक्तिलाई उचाल्न मद्दत गर्दैछ । यसैगरी, छिमेकसँगको शक्ति सन्तुलनमा ध्यान नपु¥याउँदा अहिलेको व्यवस्थाप्रति नै असहयोगको अवस्था आउने खतरा बढेको छ । यसले १२ बुँदे सम्झदारीको जग नै भत्कने खतरा बढाएको छ ।