यी पछिल्ला घटनाले सङ्केत गर्छ, प्रचण्ड एउटा खतरानक तयारीमा छन् - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

यी पछिल्ला घटनाले सङ्केत गर्छ, प्रचण्ड एउटा खतरानक तयारीमा छन्



काठमाडौँ- चिनिया राष्ट्रपतिको नेपाल भ्रमण र पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणपछि नेपाल कम्युनिस्ट पार्टीभित्र एक प्रकारको द्वन्द्व स्थापित भएको छ। यो खालको द्वन्दले पार्टी एकतामा नै असर गर्ने सङ्केत समेत देखिएका छन् ।

एकताप्रति कतिपय पूर्वमाओवादी असन्तुष्ट थिए । प्रचण्डलाई पार्टी एकता नगर्न नेताहरूले दबाब पनि दिएका थिए । उनलाई एकता नगरौँ भनेर लामो समय साथ दिएका कतिपय नेताहरूले सुझाव पनि दिएका थिए ।

तत्कालीन दबाब, सुझाव र विकराल परिस्थितिलाई छाडेर प्रचण्डले एउटा ‘बोल्ड’ निर्णय गरेका थिए । जोखिम मोलेर तत्कालीन नेकपा एमालेसँग प्रचण्डले एकताको पहल थालेका थिए। अहिले त्यसरी गरिएको एकता प्रचण्डको टाउको दुखाई बनेको छ ।

केपी शर्मा ओलीको कार्यशैलीले गर्दा कतै एकता निर्णय गलत त भएन भन्ने संशय पूर्वमाओवादी वृत्तमा यतिबेला भुसको आगो बनेको छ । प्रचण्डले बेलाबेलामा एकताबारे पछुतो लागेको समेत बताइरहेका छन् । महरा प्रकरणपछि पूर्वमाओवादी नेताहरूमाथि गरिएको पछिल्लो व्यवहार र पूर्वएमाले समूहबाट हुने गरेको हेपाइले प्रचण्ड लगायत कतिपय नेताहरू चौतर्फी घेराबन्दी बनेको निष्कर्षमा पुगेका छन्।

प्रचण्डले ईश्वर पोखरेलको घरमै पुगेर नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोका भएको समेत भन्न थालेका छन् । त्यतिमात्र होइन चिनिया राष्ट्रपतिको भ्रमण लगत्तै उनले काङ्ग्रेससँग सहकार्य हुनसक्ने छनक समेत दिएका छन्। पूर्वमाओवादीका एक नेताका अनुसार ‘त्यो ओलीप्रति लक्षित सङ्केत थियो’। ती नेता भन्छन् ‘मन्त्रिमण्डल फेरबदलको चर्चा पनि यसैसँग जोडिएको एउटा विषय हो । ओजिलीले एकतर्फी रूपमा केहीको नाम ल्याउँदा प्रचण्डले यस्तो हुननसक्ने भन्दै विमति जनाएपछि मन्त्रिमण्डल फेरबदल तत्काल नहुने अवस्थाको सृजना भएको हो।’

आफ्ना सबैभन्दा नजिकका नेता कृष्णबहादुर महरा महिलामाथि जर्बजस्ती प्रकरणमा परेपछिको घटनाक्रमप्रति पनि प्रचण्डले अध्ययन थालेका छन्। ओलीले महराले अमेरिकी विकास सम्झौतासम्बन्धी रणनीति सम्झौता ‘एमसीसी’ संसदबाट पारित गर्नबाट अड्काएको खुलाएपछि प्रचण्ड असन्तुष्ट भएका छन् । देव गुरुङले महरा प्रकरणपछिका घटनाक्रम पश्चिमा षड्यन्त्र हुनसक्ने बताइरहँदा ओलीको भनाई बाहिर आयो । यसलाई प्रचण्डले ओलीको चेतावनी र त्रास सृजना गरेको अवस्था बुझेका छन् ।

प्रधानमन्त्री ‘एमसीसी’ सम्बन्धी अभिव्यक्तिले ओली दोहोरो भूमिकामा देखिएको केही नेताहरूको निष्कर्ष छ भने प्रचण्डले भेनेजुएलाको समर्थन गर्दा ओलीले काउन्टर गरेका थिए। त्यतिमात्र होइन प्रचण्डले चिनिया विदेशमन्त्रीसंगको भेटमा दिएको अभिव्यक्तिको समेत ओली विपक्षमा थिए । ओलीको विदेशीलाई हेर्ने दृष्टिकोणका अलावा सी जिनपिङको नेपाल भ्रमणका बखत प्रचण्डलाई एक्लै भेट्नबाट रोक्न खोज्ने प्रयास समेत नेकपाभित्रबाट भएको सूचना प्रचण्डले प्राप्त गरेका छन् । यद्यपि, प्रचण्डलाई सीले भेटे ।

सरकारमा आलोपालो गर्ने सहमतिको विषयमा लामो समयदेखि अन्तर्द्वन्द्व चलिरहेको छ । सहमति कार्यान्वयन हुनेमा प्रचण्ड स्वयं शङ्का गर्न थालेका छन् । नेकपाभित्र ओली निकटस्थले आलोपालो सहमति नभएको र ओली पाँच वर्ष प्रधानमन्त्री बन्ने बताइरहेका छन् । यी भनाइहरूलाई ओलीले नै प्रोत्साहित गरेको बुझाई पूर्व माओवादीभित्र रहेको छ । यसले पनि प्रचण्ड सतर्क बनेका छन् ।

पार्टीको एकता प्रक्रियामा विभिन्न विभाग प्रमुख तोक्ने देखिको विवादले पनि प्रचण्ड झस्केका थिए। त्यतिखेर पनि ओलीले आफूलाई चेपुवामा परेको प्रचण्डले आफूनिकट नेताहरूलाई बताएका थिए । पछिल्लो समय प्रचण्डले दिएका कडा अभिव्यक्तिले समेत यस्तो सङ्केत गर्दछ, उनले हालैमात्र अर्को आन्दोलन हुनसक्ने बताएका थिए ।

सार्वजनिक भएको सहमति पत्रअनुसार अबको आठ महिनापछि प्रचण्ड प्रधानमन्त्री बन्ने अवस्था आउनेछ । तर, त्यसमा धोकाधडी हुनसक्नेतर्फ प्रचण्डलाई निकटस्थले सचेत गराएका छन् । प्रचण्डले राजनीतिमा आश्चर्यजनक निर्णयहरू लिने गरेका छन् । जनयुद्ध देखि राजनीतिक मूलधारमा आइपुग्दा उनले जोखिमयुक्त कदम चाले ।

अहिले उनले फेरि कुनै जोखिमयुक्त कदम चाल्ने सङ्केत गरिसकेका छन् । प्रचण्डले ओलीबाट धोका भएको निष्कर्ष निकालेकाले अब त्यसको जवाफ दिन सक्ने सम्भावना छ। काङ्ग्रेससँगको सम्बन्ध पनि नजिक हुँदै गएको कतिपयले बताउँदै आएका छन्। सरकारको कामसँग समेत सन्तुष्ट नभएका प्रचण्डले यसबारे पनि सार्वजनिक रूपमै बोल्दै आएका छन।

पछिल्ला केही घटनाक्रमले अहिले दुई पार्टीबिचको सम्बन्ध तनावपूर्ण अवस्थामा चलिरहेको स्रोतले जनाएको छ । स्रोतले दाबी गर्दै भन्यो ‘महरा काण्डले पार्टी एकता नै नहुने खतरा बढेको छ।’ यस्तो अवस्थामा प्रचण्डले अर्को ‘सरप्राइज’ गर्नसक्ने देखिन्छ।