प्रचण्डले गरे माधव नेपालको प्रसंशा - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रचण्डले गरे माधव नेपालको प्रसंशा



काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आवको आवश्यकता वामपन्थी दलहरूको एकता रहेको बताएका छन् ।

माओवादीका स्वर्गीय नेता रामवृक्ष यादवको २८ औँ स्मृति दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्न वामपन्थीको बिचमा एकता आवश्यकता रहेको बताएका हुन् ।

‘पुरानो ढंगले अगाडी बढेर अबको आवश्यकता वा क्रान्ति पुरा हुन सक्दैन ’ उनले भने, ‘कम्युनिस्ट आन्दोलनलाई नयाँ ढंगले एकीकृत गर्ने सच्चा वामपन्थीको बिचमा एकता होस् भन्ने हाम्रो प्रयास छ ।’

पछिल्लो समय केही सकारात्मक पहलहरू भएको समेत उनले बताए । ‘केही समाचार सकारात्मक भएको तपाइ हामीले पनि महसुस गरेका छौँ । चाहे हँसिया हतौडा चुनाव लड्ने साथीहरूको स्थिति होस् चाहे पार्टी एकता संयोजन समिति बनाएर भएपनि कम्युनिस्ट आन्दोलनलाई एक बनाउने कुरा होस्’ उनले भने।

नेकपा एकीकृत समाजवादीले पनि यस बिषयमा छलफल सुरु गरेको बताउँदै प्रचण्डले यो सकारात्मक रहेको टिप्पणी गरेका हुन् । उनले भने, ‘हामीले पहिले बाट प्रयास गरिरहेका छौँ । हिजो मात्रै पनि समाजवादी पार्टीले पनि त्यो निर्णय गरेको कुरा आइरहेको छ। यतिले मात्र पुग्दैन । अझै धेरै मेहनत गर्नु छ । हाम्रो पार्टीको ध्यान त्यसैमा छ ।’

उनले नयाँ वातावरण बनाएर समाजवादीको संघर्ष विकसित गर्न सकिने र त्यसले मात्र वर्ग सङ्घर्षको नयाँ आधार तयार गर्न गर्न सक्ने दाबी गरे ।