एकल अध्यक्षको लागि प्रचण्ड तयार: गोप्य भेट, शिर्ष नेताको समर्थन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

एकल अध्यक्षको लागि प्रचण्ड तयार: गोप्य भेट, शिर्ष नेताको समर्थन



काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा यतिबेला शक्तिसन्तुलनको विषय पेचिलो बन्दै गएको छ। एकता प्रक्रिया सकिने लाग्दा देखिएका दृश्यले निकै असन्तुलित देखिएको शक्तिको लडाईले यतिबेला फरक मोड लिएको छ।

अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यो विषयमा पटक पटक गम्भिर छलफल भैरहेको त छदैछ । प्रचण्ड जुनसुकै हालतमा पनि एकल अध्यक्ष आफूले पाउनुपर्छ भनेर लागिपरिरहेका छन् । त्यसैले उनले प्रधानमन्त्री ओलीले नै अर्को निर्वाचन नभएसम्म सरकारको नेतृत्व गर्ने र आफूले पूर्ण रुपमा सघाउने भनेर सार्वजनिक गरिसकेका छन् ।

पार्टी एकतापछि नै सचिवालय बैठकले सरकारको नेतृत्व गर्नेले सरकारको मात्रै काम गर्ने र पार्टीको नेतृत्व गर्नेले पार्टीको मात्रै काम गर्ने निर्णय गरेको थियो । पछिल्लो समय यो विषय नेकपामा चर्को रुप लिँदैछ ।

यसै सन्दर्भमा मंगलबार पनि पनि प्रचण्डले आफ्नै निवासमा बरिष्ठ नेता माधव कुमार नेपाल र सचिवालय सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् । उनले नेता नेपाल र गौतमसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । स्रोतकाअनुसार अध्यक्ष प्रचण्डले नेताद्धयसँग एकल अधिकार आफूले लिनेबारे सहमति लिएका थिए । उनको प्रस्तावमा दुवै नेता सहमत भएको बुझिएको छ ।

अहिलेको समयमा त नेता नेपालले प्रचण्डलाई खुलेर समर्थन गर्ने अवस्था छ किनकि केपी शर्मा ओली र नेपालको पछिल्लो सम्बन्ध निकै चिसिएको छ। नेता नेपालले आजको भेटमा पनि अध्यक्ष प्रचण्डलाई एकल अध्यक्ष बनाउनको लागि आफ्नो पूर्ण समर्थन रहेको बताएको बुझिएको छ । अर्का नेता गौतमले पनि ‘वान म्यान, वान पोष्ट’ को पक्षमा आफूपनि रहेको सुनाएका थिए र आजको भेटमा पनि प्रचण्डसँग म त छँदैछु नि भनेर निस्किएको स्रोतले बताएको छ ।

सिङ्गापुर जानुभन्दा अगाडी प्रचण्डलाई एक्लो अध्यक्ष बनाउने मनस्थिति बनाएर हिँडेका ओलीले त्यहाँको बसाईमा एकाएक ‘मुड चेन्ज’ गरेको र नेपाल फर्केपस्चात उक्त विषयमा कुरै गर्न नचाहेको स्रोतको दाबि छ। बरु ओलीले आफु निकट नेताहरूलाई वालुवाटारमा बोलाएर प्रचण्डलाई अब एकल अध्यक्ष दिन नसकिने बताउँदै नेतृत्व दोश्रो पुस्तालाई दिनेबारे गोप्य छलफल गरेका थिए।

उक्त कुरा बाहिर आएपछि प्रचण्ड नेतृत्वको विषयमा गती बढाएका छन्। नेताहरूसंगको भेट बाक्लो बनाउँदै उनले तयारी थालेको स्रोतले बताएको छ।