प्रचण्डले भने: कहिले मरिन्छ भन्ने त्रास भयो - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डले भने: कहिले मरिन्छ भन्ने त्रास भयो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध सुरु गर्दा आफूहरु छिटै मरिन्छ भन्ने भन्ने त्रास भएको बताएका छन् ।

सुरेश वाग्लेको स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा जनयुद्धका बेला मर्नका लागि तछाडमछाड भएको बताए । त्यसपछि सहिदको संख्या बढेर गएको बताए ।

“को बाँचिन्छ को मरिन्छ त्यसबेला ठेगान थिएन,” दाहालले भने,“ त्यसबेला हामी केन्द्रीय समितिमा १९ जना थियौं । हामीमध्ये धेरै छिटै मारिन्छौं भन्ने लागेको थियो । विद्रोहलाई निरन्तरता दिन सकिन्छ तर हाम्रो बौद्धिक तागतले राज्यसँग लडेर छिट्टै जित्न सकिन्छ भन्ने थिएन । त्यसैले पनि नेतृत्व सबै बाँकी राख्ने भन्ने हुँदैन । नेतृत्वपंक्तिबाटै बलिदान हुनुपर्छ भन्ने थियो ।”

प्रचण्डले वाग्लेको हत्यापछि सहिद हुन तछाडमछाड भएको बताए । प्रचण्डले अहिले केही व्यक्तिहरुले यसरी प्राप्त भएको उपलब्धिको बदनाम गर्न लागिपरेको बताउँदै उनीहरु सफल हुन नसक्ने धारणा राखे । “उपलब्धिको बदनाम गर्नका लागि सिलसिला सुरु गरेका छन्,” दाहालले भने, “संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गर्नका लागि लागिपरेका छन् हामी सफल हुन दिँदैनौं । सरकार प्रभावकारी होस् भन्ने चिन्ता हामीले पनि सुनेका छौं । राम्रा काम गर्न नखोजिएको होइन, आकांक्षाअनुसार काम भएनन् भन्ने कुरा आएको छ ।”

उनले पार्टी एकताका सबै काम पूरा हुन लागेको जानकारी गराउँदै देशव्यापी रुपमा कार्यक्रम लगेर देशभर अपील गर्ने तयारीमा रहेको पनि बताए । “हामी एकतावद्ध हुनुको विकल्प छैन,” दाहालले भने, “सरकारलाई पनि प्रभावकारी बनाएर गणतन्त्र उल्ट्याउन कुनै पनि हालतमा दिइने छैन ।”