प्रचण्ड र यान्छीबीच सरकारबारे छलफल भएको दाबी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्ड र यान्छीबीच सरकारबारे छलफल भएको दाबी



काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । राजदुत यान्छीले प्रचण्डसँग सोमबार बिहान प्रचण्डनिवास खुमलटार पुगेर भेटवार्ता गरेकी हुन् ।

राजदुत यान्छी र प्रचन्डको भेट र छलफलबारे माओवादी केन्द्रका एक नेताले पुष्टि गरे । भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको भनिएको छ ।

पछिल्लो समय चीन नेपालमा कम्युनिस्ट पार्टी एक बनाउन निकै ठुलो मेहनत गरेको थियो । अहिले पनि कम्युनिस्ट शक्तिहरूलाई एक बनाउन चीन लागिपरेको छ ।

गत फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादीबीचको एकता बदर गर्दै दुवै पार्टीलाई ब्युँताएपछि राजदूत यान्छीले पहिलोपटक प्रचण्डलाई भेटेकी हुन् ।

अहिले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने चर्चा चलिरहेका बेला यान्छी र प्रचण्डको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । एक नेताहले अब बन्ने सम्भावित सरकारका बारेमा छलफल भएको दाबी गरेका छन् ।

यान्छीसंगको छलफलपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पछिल्ला राजनीतिक घटनाक्रम र सरकारबारे छलफल गर्न मंगलबार बिहान स्थायी कमिटी बैठक बोलाएका छन् ।

यसअघि नेकपामा विवाद हुँदा राजदुत यान्छीले आफ्नो सक्रियता बढाउदै नेकपाका शिर्ष नेताहरुलाई पालै पालो भेट्ने गरेकी थिइन् । उनले नेकपाको विवाद मिलाउन सक्रियता देखाएको भन्दै सामाजिक संजाल र मिडियामा व्यापक आलोचना पनि खेप्नु परेको थियो ।