प्रचण्डले भने: उपेन्द्र-बाबुराम, किरण र विप्लवसँग एकताको पहल भैरहेको छ - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डले भने: उपेन्द्र-बाबुराम, किरण र विप्लवसँग एकताको पहल भैरहेको छ



काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपेन्द्र-बाबुराम, किरण र विप्लवहरुसँग एकताको पहल भैरहेको बताएका छन् । उनले कम्युनिष्ट विचारधाराहरुबीच एकता प्रक्रिया चलिरहेको भन्दै यस्तो बताएका हुन् ।

काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो नगरसभालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एकताका लागि मोहन वैद्य र नेत्रविक्रम चन्द लगायतसँग छलफल चलिरहेको बताएका हुन्।

‘किरणजी, विप्लव जीसँग छलफल चलिरहेको छ’, प्रचण्डले भने, ‘बाबुराम-उपेन्द्रजीसँग गठबन्धनमा छौं। मोहन विक्रमजीसँग पनि छलफल चलिरहेको छ।’ प्रचण्डले एकता प्रक्रियामा किरण र विप्लवहरुसँग हार्दिकतापूर्वक व्यवहार गर्न पनि कार्यकर्तालाई निर्देशन दिए।

‘किरण, बाबुराम, उपेन्द्र, विप्लव, मोहनविक्रमजी लगायतका कम्युनिष्टहरुसँग हार्दिकतापूर्वक सम्बन्ध बढाउनुहोला’, उनले भने, ‘हामीले केन्द्रमा एकता प्रक्रिया अघि बढाइरहेका छौं।’

ओलीमाथि आरोप

एक फरक प्रसंगमा प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी ओलीलाई दिमागमा गोबर भरिएको मान्छे भनेका छन् ।

उनले ओलीलाई विदेशीसँग लम्पसार पर्ने, सामन्ती, अतिवादी दिन्दू, भएको आरोप समेत लगाएका छन्। काभ्रेको पाँचखालमा पार्टीको भातृ संगठन योङ कम्युनिष्ट लिग, (वाईसीएल) को दोस्रो पाँचखाल नगरसभालाई बिहीबार सम्बोधन गर्दै ओलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।

‘केपी प्रवृत्ति सामान्ती हिन्दु अतिवादी हो’, प्रचण्डले आरोप लगाउँदै भने, ‘पशुपतिमा जलहरी चढाउँदै हिँडे। मेरो निर्वाचन क्षेत्रमा राम, सीता, हनुमान राख्दै हिँडे। रामसीताको विषयमा म लड्न जानु त भएन नि।’

ओली विदेशीसँग लम्पसार परेको भन्दै प्रचण्डले ओलीलाई भगौडा भएको समेत आरोप लगाए। ‘केपी भगौडा हो, कम्युनिष्ट आन्दोलन, मार्क्सवादबाट भागे,’ उनले भने, ‘बालुवाटारबाट निकाल्यौँ तर तामझामसहित उनी बालकोटको बार्दलीमा पुगेर कराए।’

नेकपा एकता भंग भए पनि आफूहरुले केपी प्रवृत्तिमाथि विजय पाएको उनले बताए। ‘केपी जस्तो अंहकारी र निरकुंशलाई हटायौं’, उनले भने, ‘केपी ओली गिदीभित्र गोबर भरिएको मान्छे हो।’