प्रचण्डले ओलीलाई सोधे: 'पार्टी र बैठकबाट भागेर कहाँ पुग्ने विचार छ ?' - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रचण्डले ओलीलाई सोधे: ‘पार्टी र बैठकबाट भागेर कहाँ पुग्ने विचार छ ?’



काठमाडौं- तिक्ततापूर्ण बनेको नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको सम्वन्ध केहि सुधार भएको छ । जना साक्षी राखेर आइतबार भएको वार्ता सकारात्मक भएको बताइएको छ ।

वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङलाई साक्षी राखेर प्रधानमन्त्री ओली र अर्का प्रचण्डबीच आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो। बैठकमा कुनै सहमति नभएपनि यसअघिका बैठक भन्दा केहि सकारात्मक देखिएको स्रोतले अटाएको छ । स्रोतका अनुसार फेरि भोलि पनि छलफल हुने भएको छ।

लामो समयपछि भएको बैठकमा अवका विकल्पका बारेमा छलफल भएको र प्रधानमन्त्री ओलीले कतिपय प्रस्ताव सकारात्मक रूपमा ल्याएको प्रचण्डले आफू निकटका नेताहरुलाई व्रिफिङ गरेका छन्।

बैठक विहान १० बजेदेखि साढे ३ घण्टा भएको छलफलमा कुनै सहमति नजुटेको तर पहिले भन्दा ओली मथ्थर देखिएको पनि प्रचण्डले निकट नेताहरूलाई बताएका छन् । यद्यपी प्रचण्डले अन्य कुरा सकारात्मक रूपमा अगाडी बढेपनि प्रधानमन्त्री ओलीले पदबाट राजिनामा दिने कुरामा भने पुरानै अडान लिएका छन् ।

आजको बैठकमा पनि प्रचण्डले एउटा पदबाट राजिनामा दिन ओलीलाई आग्रह गरेका छन् । स्रोतले दिएको जानकारी अनुसार प्रचण्डले पार्टी र कमिटि बाट भागेर कतै पुग्न नसकिने पनि सुझाव दिएका थिए । प्रचण्डले ओलीलाई बैठकमा उपस्थित हुन र चित्त नबुझेको कुरा त्यहीं राख्न सुझाव समेत दिएका थिए ।

“पार्टी र बैठकबाट भागेर कहीं पुग्न सकिन्न, साथीहरूको धैर्यता सधै उस्तै नहुन पनि सक्छ, अध्यक्ष जस्तो मान्छेले बैठकमै नबसेर अनेकौं प्रलोभन बाँड्दै हिनेको राम्रो होइन, बैठक छिटो राखौं, सबैले बिधि र प्रक्रियाबाट अगाडी बढौँ” प्रचण्डको भनाई उद्घृत गर्दै स्रोतले भन्यो ।

जवाफमा ओलीले प्रचण्डलाई गुटलाई उचालेर पनि गन्तव्यमा पुग्न नसकिने बताएका थिए। “तपाईं एउटा गुटमात्र बोकेर कता पुग्ने सोंच्नुभएको छ ? सरकारलाई सहयोग गर्ने बेलामा बैठक भन्दै गुट च्यापेर एता र उता गर्न छाड्नुहोस्, भारतको एजेन्डा बोकेर हिड्न छोड्नुहोस, मेरो अडान त्यहि हो, म राजिनामा दिन्न ।” ओलीको भनाई उद्घृत गर्दै स्रोतले भन्यो ।

रोकिएको स्थायी कमिटी बैठक सुचारु गर्नेबारे पनि दुई नेताबीच कुनै सहमति हुन सकेको छैन।असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको माग प्रमुखरुपमा उठेपछि ओलीले सो बैठक सार्दै आएका छन् भने प्रचण्ड र माधव नेपाल पक्षले बैठकमा जोड दिँदै आएको छ।

असार १८ गतेदेखि औपचारिक बैठक नै बस्न सकेको छैन। साउन १३ गतेका लागि तय भएको बैठक ओलीले एकलौटी रुपमा स्थगित गरेपछि प्रचण्डले बहुमत स्थायी कमिटी सदस्य लिएर बैठक बालुवाटारमै राखेका थिए।

तर, सो बैठकमा ओली र उनीनिकट नेताहरु सहभागी नभएपछि पार्टीको विवाद झन् बल्झिएको हो। त्यसयता ओली र प्रचण्डबीच औपचारिक रुपमा प्रत्यक्ष संवाद भएको थिएन।