प्रचण्डको विजयलाई कुनै तागतले रोक्न सक्दैन :पोखरेल - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रचण्डको विजयलाई कुनै तागतले रोक्न सक्दैन :पोखरेल



चितवन, १२ मंसिर –

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका कृष्णभक्त पोखरेलले वामपन्थीको सरकार हेर्न जनता आतुर रहेको बताएका छन् ।

रिपोर्टस क्लब नेपालले गरेको चुनाव लक्षित विशेष साक्षात्कारमा बोल्दै एमालेका तर्फबाट उमेदवार बनेका पोखरेलले विगतमा कांग्रेसले तीन पटक बहुमत ल्याउँदा पनि देशको हितमा काम गर्न नसकेको बताउँदै अब वामपन्थीलाई नै जनताले बहुमत दिने दाबी गरे ।

‘नेपाली जनता एक पटक कम्युनिष्ट नेताको शासन वा वाम गठबन्धनको शासन हेर्न आतुर भएका छन्’, उनले भने ।

वामपन्थीको सरकार बन्यो भने लोकतन्त्र र स्वतन्त्रता खोसिन्छ भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई हाँस्यास्पद भएको उनको भनाई छ ।

चितवन जिल्लाको विकासका लागि आफूले धेरै काम गरेको दाबी गर्दै पोखरेलले अझै काम गर्न बाँकी रहेको स्वीकार गरे ।

माओवादी अध्यक्ष प्रचण्डलाई राजनेताको रुपमा व्याख्या गर्दै चितवन एमालेका अध्यक्षसमेत रहेका पोखरेलले प्रचण्डलाई जिताउनका लागि लोकतान्त्रिक शक्तिसमेत लागि परेको दाबी गरे ।

प्रचण्डलाई चुनाव जिताएर चितवनलाई औद्योगिक नगरी र मेडिकल सिटीको रुपमा विकास गर्ने उनको भनाई थियो ।

एमालेका शतप्रतिशत कार्यकर्ताले प्रचण्डलाई बोकेर हिँडेको उनले बताए । पुसको पहिलोसाता एउटै कम्युनिष्ट पार्टीको बहुमतको सरकार बन्ने पोखरेलको दाबी छ ।

प्रचण्डलाई राजनेताको रुपमा स्वीकार गरेको बताउँदै उनले प्रचण्डलाई चुनाव जिताउने जिम्मा आफूले लिने बताए ।

‘उहाँको विजयलाई कुनै तागतले रोक्न सक्दैन । जनताले १५ हजारभन्दा बढि मत अन्तरले हराउँछन् भन्नेमा म विश्वस्त छु’, पोखरेलले भने ।