केहि दिनभित्रै केन्द्र र प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन हुँदैछ: सरकारका प्रवक्ता - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

केहि दिनभित्रै केन्द्र र प्रदेशमा मन्त्रिमण्डल पुनर्गठन हुँदैछ: सरकारका प्रवक्ता



रुपन्देही- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले केही दिनमै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् । प्रेस संगठन नेपाल रुपन्देहीले आज (शुक्रबार) बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले अबको साता १० दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन हुने जानकारी गराएका हुन् ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले कार्य मूल्यांकनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने र यसको तयारी भइरहेको बताए ।

लामो समय पार्टीमा देखिएको विवाद अन्त्य भएको जनाउँदै उनले पार्टी भित्रको सन्तुलन मिलाउन र सरकारको कामलाई थप प्रभावकारी गराउन पनि मन्त्रिमण्डल पुनर्गठन हुन लागेको बताएका छन् । मन्त्री ज्ञवालीले संघसँगै प्रदेशका मन्त्रीहरु पनि फेरबदल हुने जानकारी गराएका छन् ।

‘अब प्रदेशका मन्त्रिमण्डल समेत पुनर्गठन हुनेछन् । मुख्यमन्त्री नफेरिए पनि प्रदेश मन्त्री फेरिनु हुनेछ । यसले प्रदेश सरकारको कामको स्पीडलाई थप बलियो बनाउनेछ’, मन्त्री ज्ञवालीले भने।
कालापानी, लिपुलेक र लिम्पियाधुराको नेपाली भूभाग भारतसंगको कुटनीतिक पहलमा फिर्ता गर्ने प्रयास जारी रहेको बताए ।

‘कुटनीतिक पहल भइरहेको छ । प्रधानमन्त्रीज्यूले यस विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्नुभएको छ । यस्तै अन्य उच्च स्तरमा पनि छलफलको प्रारम्भ भएको छ । छिट्टै हाम्रो भूमि फिर्ता हुने मलाई विश्वास छ’, उनले भने ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने बताएका छन् ।

यस्तै मन्त्री ज्ञवालीले एमसीसीका विषयमा उठेका केही प्रश्नको हल गरेर अनुमोदन हुने बताएका छन् । पार्टीले गठन गरेको कार्यदलले परिमार्जनसहित एमसीसी पारित गर्ने सुझाव पार्टीलाई दिएकाले आवश्यक परे सच्याएर एमसीसी अनुमोदन हुने बताए ।