म क्रान्तिका लागि जन्मेको हुँ भन्ने ठानेर दशैंको वास्ता गरिनँ « Himal Post | Online News Revolution
Logo

म क्रान्तिका लागि जन्मेको हुँ भन्ने ठानेर दशैंको वास्ता गरिनँ



आजकाल दशैंको सौन्दर्य हराउँदै गयो। पहिले–पहिले दशैं भनेपछि नयाँ कपडा लगाउने, घुम्न जाने हुन्थ्यो। दशैं कहिले आउला र के किनौंला भन्ने प्रतीक्षा हुन्थ्यो। राजनीतिमा लागेपछि घुम्ने, दशैं मनाउने भन्ने नै हरायो। अहिले दशैं आउनु र नआउनुमा खासै अन्तर छैन। टीका लगाउनुभन्दा दशैंमा खासै नयाँ केही छैन।

नेपालमा नयाँ प्रवृत्ति देखापरेको छ, यसले दशैंलाई फिक्का बनाउँदै लगेको छ।

बीचमा माओवादीको सशस्त्र युद्धले पनि दशैं हाम्रो सांस्कृतिक मान्यताबाट बाहिर गयो। १० वर्षसम्म मानिस गाउँ जान सकेनन्। टीका लगाउन पाएनन्। दशैंको मुख्य रौनक भनेकै गाउँमा हुने हो। दशैंको रमाइलो, खुसीयाली र महत्त्व गाउँमै हुन्छ। त्यसैले पनि दशैंमा गाउँ जानेहरुको भीड लाग्छ।

लाखौं मानिस काठमाडौं छाडेर गाउँतिर गइरहेका हुन्छन्। काठमाडौं रित्तो हुन्छ। दशैंको महत्त्व काठमाडौंमाभन्दा बाहिर नै छ। तर, १० वर्षसम्म यो समय स्वभाविक रुपमा बित्न पाएन। युद्धले मान्छेलाई अलग गरिदियो। युद्धअघिको समय र पछिको समयका दुई पुस्ताबीच दशैंको सौन्दर्य जोडिन सकेन।

म काठमाडौं २०२६ सालमा आएको थिएँ। त्यतिबेला दशैं मनाउन घरै जान्थें। घर पुग्न धेरै दिन लाग्थ्यो। रेल चढ्नुपथ्र्यो। काठमाडौंमा दशैं चाडजस्तै लाग्दैनथ्यो। अहिलेको स्थिति उस्तै छ। जसको बाहिर केही पनि छैन, तिनले जसोतसो यहीँ दशैं मान्छन्। जसको बाहिर केही छ, उनीहरु जसरी नि पुग्छन्।

मैले १५ वर्ष भूमिगत जीवन बिताएँ। त्यसबेला दशैंको वास्ता हुँदैनथ्यो। जिन्दगी नै क्रान्ति हो, म क्रान्तिका लागि जन्मेको हुँ जस्तो लाग्थ्यो। दशैं मान्न पाइएन, भेटघाट गर्न पाइएन भन्ने हुँदैनथ्यो। संगठन निर्माण र बिस्तारका क्रममा कहिलेकाहीँ राम्रैगरी दशैं मनाइरहेको घरमा पनि पुगिन्थ्यो र त्यहीँ रमाइन्थ्यो। कहिलेकाहीँ बाहिर आँगनमा पनि निस्कन नसकिने घरमा बस्नुपथ्र्यो। त्यहाँ पनि आफ्नो उद्देश्य सम्झेर रमाइन्थ्यो।

दशैं विशेष चाड हो भन्ने दुई दशकसम्म मैले महसुस गरिनँ। पछि सबै दाजुभाइहरु काठमाडौंमा जम्मा भयौं र फेरि मनाउन थाल्यौं। बीस–बाइस वर्ष भयो मैले काठमाडौंमै दशैं मनाउन थालेको। मता–पिता नभएकाले दशैंमा दाजुभाइ मात्रै जम्मा हुन्छौं। टीका लगाउन ठूलो दाजुकहाँ जान्छौं। काकाहरुकोमा पनि जान्छौं।

कतिले दशैं आयो भनेर मासुलाई बढी प्राथमिकता दिन्छन्। तर, मासु मेरो विशेष प्राथमिकतामा पर्दैन। म निकै कम मासु खान्छु।

दशैंको दक्षिणाको कुरा गर्दा मामाले दिने दक्षिणा सम्झिन्छु। उहाँले मलाई सबैभन्दा बढी दक्षिणा दिनुहुन्थ्यो। त्यतिबेला चार आना दक्षिणा दिनुहुन्थ्यो। कहिले आठ आना पनि दिनुहुन्थ्यो। यो २०१८–२० सालतिरको कुरा हो।

दशैं आयो, के पढौं भन्ने मलाई हुँदैन। एक–डेढ सय पेजका किताबहरु म तत्काल पढिहाल्छु। दशैंका लागि भनेर छुट्याउँदिनँ। मोटा किताब त म वर्षभरि नै पढिरहेको हुन्छु। त्यो वर्षभरिमा दशैं पनि पर्छ। तर, दशैंमै यति पढ्छु भन्नेचाहिँ हुँदैन।

(किशोर दहालले गरेको कुराकानीमा आधारित)

नेपाल लाईभबाट