कोरोना रोकथामका लागि सरकारलाई प्रदीप पौडेलका आठ सुझाव - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कोरोना रोकथामका लागि सरकारलाई प्रदीप पौडेलका आठ सुझाव



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारलाई आठबुँदे सुझाव दिएका छन् । उनले महामारी बन्दै गएको कोरोना भाइरसको महामारीबाट जोगिन यस्ता सुझाव दिएका हुन् ।

पौडेलले आइतबार बिहान सामाजिक सञ्जाल फसबुकमार्फत सरकारलाई महामारीको सामनाका लागि अबलम्बन गर्नुपर्ने विषयमा आठ बुँदे सुझाव दिएका हुन् ।

नेता पौडेलले लेखेका छन्, “नेपाल सरकारले कोभिड–१९ र लक डाउनबाट उत्पन्न विषम् परिस्थितिमा संवेदनशील भई निम्न क्षेत्रहरुमा तत्काल राहत कार्यक्रम घोषणा गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ।”

उनले भारतले लकडाउनबाट प्रभावित नागरिक र व्यवसायीलाई मद्दत गर्न २७ सय अर्बको राहत प्याकेज घोषणा गरी न्यून आय भएका गरिब, दैनिक ज्यालादारी गर्ने मजदुर र साना व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगदै वितरण गर्ने घोषणा गरी कार्यान्वयन गरिरहेको पनि स्मरण गराएका छन् ।

फेसबुकमा उनले लेखेका छन्, “स्मरण रहोस छिमेकी भारतले लकडाउनबाट प्रभावित नागरिक र व्यवसायलाई मद्दत गर्न नेरू २७०० अर्बको राहत प्याकेज घोषणा गरी न्यून आय भएका गरिब, दैनिक ज्यालादारी गर्ने मजदुर र साना व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगदै वितरण गर्ने घोषणा गरी कार्यान्वयन गरिरहेको छ ।”

पौडेलले सरकारलाई दिएका सुझावहरु यस्ता छन्

१) कोभिड–१९ संक्रमित पहिचान गर्न र संक्रमण भएका नागरिकको स्वास्थ्य सुरक्षामा संवदेनशीलता देखाइयोस् । तत्काल परिक्षणको क्षमता बृद्धि गर्न आवश्यक ब्यवस्था गरियोस् । सातै प्रदेशमा परिक्षणको व्यवस्था तत्काल गरियोस् । स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा उपकरण, परिक्षण उपकरण, स्वास्थ बिमा उपलब्ध गराइयोस् ।

२) न्यून आय भएका गरिब, दैनिक ज्यालादारी गर्ने मजदुर, विद्यार्थी र साना तथा सामान्य व्यवसायीका लागि खाद्य सुरक्षा प्रदान गर्न प्रत्यक्ष नगद वा आवश्यक खाद्य सामग्री वितरण गर्ने व्यवस्था तत्काल गरी कार्यान्वयनमा ल्याइयोस् ।

३) व्यवसायीहरूमार्फत नै दैनिक उपभोग्य बस्तुको सहज र सुपथ मूल्यमा उपलब्ध गराउने सुनिश्चितता गरी नियमित अनुगमनको समेत ब्यबस्था गरियोस् र भ्रष्टाचार, कालोबजारी साथै कृत्रिम अभाव सिर्जना गर्नेलाई कानुनी दायरामा ल्याइयोस् ।

४) स्वास्थ्य उपकरणहरु खरिद गर्दा पारदर्शिता कायम गरियोस् ।

५) यस समयमा खटिने अत्यावश्यक सेवाका कर्मचारी, सुरक्षा निकायलगायतका सम्पूर्ण कर्मचारीहरुको स्वास्थ बिमा गरी काम गर्न अझ प्रोत्साहन गरियोस् ।

६) नेपाल राष्ट्र बैंकले व्याज दर कटौती गर्दै ऋणको सावाँ तथा व्याज भुक्तानी गर्ने समय तीन महिना थप गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिइयोस् ।

७) नागरिकलाई बैंकिङ, बिमा लगायत पूँजी बजारमा अनलाइन कारोबार तथा भुक्तानी प्रणालीको विकास गरी त्यस्तो कारोबार निःशुल्क हुने व्यवस्था तत्काल मिलाइयोस् ।

८) व्यवसायीले चैत मसान्तसम्म बुझाउनु पर्ने अनुमानित आयको ७० प्रतिशत कर तथा सोको विवरण बुझाउने समय २०७७ असार मसान्तसम्म कायम गरियोस् ।