मन्त्री बन्न नपाएपछि प्रदीप यादवले गरे ताण्डव - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

मन्त्री बन्न नपाएपछि प्रदीप यादवले गरे ताण्डव



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले आफू मन्त्री बन्न नपाएको भन्दै ताण्डव गरेका छन्। उनले मन्त्रिपरिषद् विस्तारप्रति असहमति जनाउँदै सामाजिक सञ्जालमै आपत्ति जनाएका छन् ।

खासगरी उनले जसपा अध्यक्ष उपेन्द्र यादवमाथि असन्तुष्टि ब्यक्त गरेका छन्। विभिन्न आरोप लगाउँदै यादवले आफू मन्त्री बन्न नपाएको रोष प्रकट गरेका छन् । उनले आफूले असन्तुष्टि ब्यक्त मात्रै गरेका छैनन्, कार्यकर्तालाई आन्दोलनमै उतारेका छन् भने पार्टी अध्यक्षको पुत्ला समेत जलाएका छन् ।

केन्द्रीय कार्यकारिणी समितिमा भएको सैद्धान्तिक सहमति तोडेको उनको आरोप छ। उनी भन्छन्, “उपेन्द्रजीले चुनाव जित्न सक्ने र युवालाई सरकारमा पठाउने केन्द्रीय कार्यकारिणीको सैद्धान्तिक सहमति तोड्नुभयो।”

अध्यक्ष यादवले अन्तिम समयसम्म पनि आफूलाई मन्त्री बनाउने आश्वासन दिएको सांसद यादवको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार जसपाका रेनुकुमारी यादव, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र रामसहायप्रसाद यादवलाई मन्त्री बनाए।

जसपाका चार जनालाई मन्त्री बनाएकै दिन प्रदीप यादवको निर्वाचन क्षेत्र रहेको वीरगञ्जमा कार्यकर्ताले राँके जुलुस निकाले। शनिबार पनि उनलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताले मोटरसाइकाल र्‍याली निकालेका छन्।

मन्त्री बन्न नपाएका यादवको गुनासो यस्तो छः

२०७४ सालको आमनिर्वाचनमा पर्साका चार वटै निर्वाचन क्षेत्रमा हाम्रो पार्टीले जितेको थियो। प्रदेश सभाको आठमध्ये ६ वटा सदस्य पनि हामीले जित्यौं। १४ वटा स्थानीय तहमध्ये चारमा प्रमुख र १० वटामा उपप्रमुख जित्यौं।

यहाँहरूलाई थाहै वीरगञ्ज मधेश आन्दोलनको केन्द्र हो। आन्दोलनका वेला प्रहरीको गोली थाप्न अग्रपंक्तिमा उभिने वीरगञ्जवासी नै थिए। जनता समाजवादी पार्टीलाई स्थापित गर्न पर्साको ठूलो योगदान छ।

आन्दोलनका वेलामा अग्रमोर्चामा खटे पनि अवसर पाउँदा भने नेतृत्वले सधै उपेक्षा गर्ने गरेको छ। पार्टी दुई–दुई पटक सरकारमा गयो। तर, पर्सालाई वेवास्ता गरियो।

यसपटक पार्टी अध्यक्ष उपेन्द्र यादवले फरक पर्दैन भन्नु भएको थियो। तर, अन्तिममा मेरो नाम झिकियो।

पर्सालाई नेतृत्वले गरेको उपेक्षाको विरोधमा शुक्रबार राँके जुलुस निस्क्यो। शनिबार मोटरसाइकल र्‍याली निकालेका छन्। यो विरोध प्रदर्शन मैले चाहेर पनि रोकिँदैन। किनभने यो मन्त्रिपरिषद् विस्तारप्रति कार्यकर्तामा आक्रोस छ।

केन्द्रीय कार्यकारिणीको बैठकमा चुनाव जित्न सक्ने र युवालाई सरकारमा पठाउने सैद्धान्तिक सहमति भएको थियो। उपेन्द्र यादवले यो सहमति तोड्नुभयो। अब पार्टीमा अन्तरसंघर्ष गर्छौं।