प्रदेश १ मा गठबन्धनसँग बढी मतभार हुँदा पनि किन हारे हेमराज ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रदेश १ मा गठबन्धनसँग बढी मतभार हुँदा पनि किन हारे हेमराज ?



काठमाडौँ- राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश–१ जनता समाजवादी पार्टीका उम्मेदवारलाई गठबन्धनबाटै धोका भएको छ ।

प्रदेश–१ मा गठबन्धनबाट अल्पसंख्यकतर्फ जनता समाजवादी पार्टी नेपालका हेमराज राई थुलुङलाई उम्मेदवार बनाइएको थियो । उनी भोजपुरका हुन् ।

त्यसैगरी, एमालेबाट सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार भएका थिए । निर्वाचनमा एमालेका उम्मेदवार शेर्पा विजयी भएका छन् ।

प्रदेश–१ मा एमालेभन्दा सत्ता गठबन्धन १४४ मतभारले अगाडि थियो ।

प्रदेश १ मा प्रदेशसभा सदस्य ९३ जना (हाल ९२) र स्थानीय पालिका प्रमुख/उपप्रमुख २७४ (हाल २७२) गरी ३६४ मतदाता थिए । ३ सय ६७ मतदातामध्ये तीन सदस्य रिक्त थियो ।

आज भएको मतदानमा प्रदेश १ मा एक प्रदेश सांसदसहित तीन मतदाताले भोट हालेका थिएनन् । त्यसमा पनि एमालेकै सांसद मतदानमा अनुपस्थित भएका थिए । एमालेबाट प्रदेश सभा सदस्य निर्वाचित गुलेफन खातुन मतदानमा सहभागी भएकी थिइनन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ पनि राष्ट्रिय सभा सदस्यको मतदानमा सहभागी भएनन् । विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की पनि मतदानमा गइनन् ।

प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख/उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४ हजार ६६८ मतभार थियो ।

४१ प्रदेश सांसद र १४२ प्रमुख/उपप्रमुख रहेको एमालेको मतभार ४ हजार ५२४ थियो । एमाले सत्ता गठबन्धन भन्दा १४४ मतभारले पछाडि थियो ।

तर, सत्ता गठबन्धनका सांसद र प्रमुख/उपप्रमुखले इमान्दारीपूर्वक गठबन्धनको पक्षमा मतदान नगर्दा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका जसपाका नेता हेमराज राई थुलुङ पराजित भएका हुन् ।