प्रदेससभाको सिट बाँडफाँटमा पनि गठबन्धनमा सहमति - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रदेससभाको सिट बाँडफाँटमा पनि गठबन्धनमा सहमति



काठमाडौं- सत्ता गठबन्धनको कार्यदल प्रदेससभातर्फको सिट बाँडफाँटमा सहमति नजिक पुगेको छ। प्रतिनिधिसभातर्फ लगभग समझदारी जुटाइसकेको कार्यदल प्रदेससभा सिट बाँडफाँटका लागि पनि सहमति नजिक पुगेको हो।

प्रतिनिधिसभातर्फको सिट बाँडफाँट लगभग टुंगोमा पुगेपछि गठबन्धनको कार्यदल प्रदेससभातर्फ केन्द्रित भएको थियो। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको कार्यदलको बैठकमा प्रदेससभातर्फका सिट बाँडफाँटमा मोटामोटी सहमति जुटेको एक नेताले जानकारी दिए।

सिट बाँडफाँटमा सहमति नजिक पुगेपछि कार्यदलले शीर्ष नेतालाई बुझाउने गरी प्रस्तावसमेत तयार पारेको छ। कार्यदलको बैठकमा सहभागी जसपा प्रवक्ता मनिष सुमनले प्रदेससभातर्फको सिट बाँडफाँटका लागि प्रस्ताव तयार पारिएको जानकारी दिए।

‘कार्यदलले एउटा प्रस्ताव तयार पारेको छ, भोलि शीर्ष नेताहरूको बैठकमा प्रस्तुत गर्छौं,’ सुमनले भने, ‘त्यसपछि सिट बाँडफाँटलाई अन्तिम रूप दिइनेछ।’

प्रतिनिधिसभातर्फ सिट बाँडफाँटसम्बन्धमा तयार पारेको प्रस्ताव कार्यदलले यसअघि नै शीर्ष नेतालाई बुझाइसकेको छ। प्रतिनिधिसभा र प्रदेससभाका सिटको भागबन्डा प्याकेजमै टुंग्याउने तयारी गठबन्धनको छ।

‘प्रतिनिधिसभातर्फ पनि मोटामोटी सहमति भइसकेको छ। त्यो प्रस्ताव शीर्ष नेताहरूलाई बुझाइसकेका छौं,’ सुमनले भने,‘प्याकेजमै टुंग्याउने कुरा छ। प्रदेससभाको समेत प्रस्ताव गइसकेपछि शीर्ष नेताहरूले अन्तिम रूप दिनु हुनेछ।’

प्रदेससभातर्फका ३३० मध्ये ११० सिटमा कांग्रेसले दाबी गरेको छ। सोमबार बसेको बैठकमा कांग्रेसले यस्तो दाबी गरेको थियो। जसपा प्रवक्ता सुमनले भने दलको दाबीबारे अहिले भन्न नमिल्ने बताए।

पाँचदलीय गठबन्धनमा ८० देखि ८५ सिट कांग्रेसलाई, ४५ देखि ४७ माओवादीलाई, १५ देखि १७ एकीकृत समाजवादी र जसपालाई तथा दुई सिट राष्ट्रिय जनमोर्चालाई दिने मोटामोटी सहमति जुटेको छ।