परदेशीहरू किन निष्ठूरी हुन्छन् ? - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

परदेशीहरू किन निष्ठूरी हुन्छन् ?



(यो पत्र काल्पनिक हो कसैको जीवन संग मेल खाएमा संयोग मात्र हुनेछ)

प्रिय काठमाडौँ…..

उनले सोधिन, “परदेशीहरू किन निष्ठूरी हुन्छन्” ?
मैले जवाफ दिन सकिन ।
फ़ोन राखे पछि एक एक घटना सम्झिन थालेँ ।

…घर छाउन ऋण माग्दा हालका वडाध्यक्षले बचन लगाएको,सरकारले सर्टिफ़िकेट त दिएको तर जागिर नदिएको,मनै मनमा रुँदै रुँदै पासपोर्ट बनाउने लाइनमा उभिंदा ‘लाइन मिचिस’ भनेर पुलिसले ढाड़मा लौरो बर्साएको,श्रम इजाजत लिन जाँदा कर्मचारीले मगन्तेलाई जस्तो व्यवहार गरेको,बालबच्चा र सङ्गिनीलाई रुवाइ रुवाई विमानस्थल छोड़दा विमानस्थलका मान्छेले भगौडालाई जस्तो व्यवहार गरेको ; सब सम्झिएँ । किस्ता किस्तामा मन टुटेको रैछ, चालै पाइनछु ।

परदेश आए पछि ज़ोरो आयो,साहूले छुट्टी दिएन,तिम्रो अनुहार सम्झिएँ,जागिर छोड़न पनि सकिन अनि किस्ता किस्तामा टुट्ने र खिइने मनलाई बाहिर झिकेर बेस्सरी जमिनमा पछारें । अचेल मनविहीन भएको छु ।
उनले सोही प्रश्न फेरि सोध्लिन,अब चाहिँ म जवाफमा चुक्ने छैन ।

हो प्रिय काठमाडौँ,म निष्ठुरी भएको छु अचेल । मेसिन सँगै चल्नु पर्छ,मेसिन बोल्दैन,मेसिनको साथी म,त्यसैले निष्ठुरी बनेको छु । एक्काइसौं सताब्दीमा प्रतिस्पर्धा गरिरहेको देशलाई पसिना दिएर केही बढ़ी पैसा समाउन र चुहिने घरको छानो छिटो टाल्न म समय सँगै दौडिरहेको छु । त्यसो त,सेकेण्ड,मिनेट र घण्टा सुई उही गतिमा हिंड़छन,तर समय साह्रै छिटो दौडिन्छ यहाँ । या म समय सँगै दौडिनु पर्छ या म पछाड़ी छोडिनुपर्छ । दुःख नमान्नु, म तिमी जस्तो बाँकी विश्वबाट छोडिएर पछाड़ी पर्न चाहन्न काठमाडौँ,यो रफ़्तारको देशमा आइसके पछि दौडिनै पर्छ,दौडिंदै छु । दौडिंदा म निष्ठुरी देखिएको हुँला,म स्वीकार गर्छु ।

कैले काहिं मलाई पनि कोमल बन्न मन लाग्छ,मायालु बन्न मन लाग्छ । प्रियसीको कपालमा फुल सिउँरिदिंदाको यादलाई बयान गरी कविता कोर्न मन लाग्छ,झरना खोला पशु पंक्षी,बसन्ती कावा र शीतल हावा मनमा भरेर गजल लेख्न मन लाग्छ,सगरमाथाको गीत उँचो स्वरमा गाउन मन लाग्छ,गौतम बुद्धको सन्देश विश्वमा फैलाउन मन लाग्छ,पशुपतिनाथ र स्वयंभुको महिमा गाउन मन लाग्छ,धित मरुन्जेल पुर्खाका वीरताको बयान गर्न मन लाग्छ । तर तिम्रो कसम काठमाडौँ,म निष्ठुरी,म बिद्रोहि,म अराजक, यी अमूर्त गौरवहरुमा लट्पटिएर कर्मबाट निकम्मा बन्न सक्दिन,अहं सक्दै सक्दिन। सट्टामा निष्ठुरी बन्न स्विकार्छु । मलाई निकम्मापन भन्दा निष्ठुरीपन व्यवहारिक लाग्छ । र रूखो शब्दमा भन्नु पर्छ म व्यवहारिक देशमा व्यवहारिकता सिकिरहेको छु,सिकेका कुरा इमान्दारी पूर्वक बताउन खोज़िरहेको छु ।

प्रिय काठमाडौँ,प्रियसीको चाहाना थियो म बिदा मिलाएर स्थानीय चुनावमा भोट हाल्न स्वदेश आऊँ । त्यही बहानामा केही समय साथ बिताउन पाइयोस,केही समय सँगै रमाउन पाइयोस भन्ने उनको अंतरनिहित चाहना थियो होला । उनको पछिल्लो सदीक्षामा मेरो मन नै निचोरेर समर्थन गरूँ गरूँ जस्तो हुँदा हुँदै पनि म उनको चुनाव सापेक्ष आग्रहमा सहमत हुन सकिन । अनि उनी कुँडिइन र प्रश्न गरिन,”परदेशीहरु किन निष्ठुरी हुन्छन्?” भनेर । म सँग जवाफको लामो फ़ेहरिस्त हुँदा हुँदै पनि यति मात्र भनेर फ़ोन राख्न भ्याएँ,”म कसलाई जिताउन र कसलाई हराउन भनी चुनावमा भाग लिन यो बेला स्वदेश आउनु ?” ।

मैले देखेँ प्रिय काठमाडौँ,परदेश दिन प्रतिदिन मेहेनत गरिरहेको छ,तर मेरो देश त्यही रफ़्तारमा गफ गरिरहेको छ । धर्ती हेर्न जमिन छाड्नु पर्छ,सके चन्द्रमा मै पुग्नु पर्छ । त्यसरी नै स्वदेश हेर्न समुद्र तर्नु पर्दो रैछ । मैले परदेश बसेर बिताएका कैयौँ रुखा सुखा समय बिच स्वदेशलाई हेरिरहें,नियालिरहें,स्वदेशकै हितमा केही भन्न खोज़िरहें । वास्ता धेरैले गरेनन थाहा छ,किनकि उनीहरूले पनि विमानस्थलका कर्मचारीले झैँ मलाई भगौड़ा नै सोंचिरहे । तर मलाई फरक परेन किनकि मलाई थाहा छ म भागेको होइन,लखेटिएको हुँ । मैले यसपालि परदेश बसेर देशको निर्वाचन हेरेँ,देशका नौजवानका गतिविधि हेरेँ,विरासत नै आफ्नो झैँ ठानेर अटल अचल राज गरिरहेक़ा नेता ज्यू हरुको चर्तिकला त कति हेरेँ हेरेँ । अझ त्यसमाथि परदेशमा पसिना बगाउने नौजवानका अनौठा चुनाव लक्षित क्रियाकलाप हेरेँ, अनि आफूले आफैलाई धाप मारें, प्रियसीलाई पिरमा पारेरै भए पनि म यसपालि चुनावमा घर नगएर ठिक गरेछु ।

प्रिय काठमाडौँ, मामा,भिनाजु,काकालाई चुनावमा जिताउन परदेशबाट पैसा पेल्ने पसीनावाला पनि देखेँ,छोरीलाई चुनाव जिताउन राज्यबाट शक्ति लगाउने बाबु पनि देखेँ,सालोलाई चुनाव जिताउन दुनियाँलाई गाली गर्ने भिनाजु पनि देखेँ, विभिन्न दलका चुनाव चिन्हका छाप भएका लुगा लगाएका अनि झंडा बोकेका गरिब गुरुवाहरू मदिराको नशाले ढलेका तस्बिर सामाजिक सञ्जालमा देखेँ । मान्छे किनिएको देखेँ,मान्छे बेचिएको देखेँ,इमान मुर्छा परेर ढलेको देखेँ,बेईमान शिर उठाएर चिच्याएको सुनें,मन खिन्न भएर आयो । हाम्रो समाजको विकृतिको प्रतिनिधि तस्बिर र दृश्य चुनावमा म परदेशीले परदेशबाट बड़ो प्रस्ट सँग देखेँ प्रिय काठमाडौँ ।

फेरि पनि,म परदेशीले मन दुखाएर के गर्नु ? देशमा हुने साथीहरूलाई,हाम्रा अग्रजहरुलाई त्यसै गर्न पाए रमाइलो लाग्दो रैछ,अनि परदेशमा हुने हामीहरुलाई चाहिँ फुर्सद हुने बित्तिक़ै तेरो दल र मेरो दल भनेर लड़न पाए गौरव लाग्दो रैछ । हामी साह्रै नै ख़राब संस्कार र ख़राब सिकाइहरु बाट गुज्रिरहेक़ा रहेछौं प्रिय काठमाडौँ । मैले यहाँ बसेर यी कुरा लेखिरहँदा मेरै नजिकका मान्छेले विदेश बसेर आनन्दको जीवन बिताएर अर्ती दियो/ठुलो भयो भनी बांगो मुख बनाउँछन । म खिन्न हुन्छु,बोल्नु भन्दा नबोल्नु बेस भनेर चुप लाग्छु । मौन रहँदा प्रियसीलाई म निष्ठुरी भएको पो लाग्दो रैछु,हेर त विडम्बना !

सबैजसो परदेशीले देश छाड़दाको एक मात्र साक्षी तिमी हौ काठमाडौँ । देशका सबै जसो परिवर्तन हरुको प्रमुख साक्षी पनि तिमी नै हौ । देशमा भएका ठुला ठुला परिवर्तनले किन परदेशीको बाटो रोक्न सकेनन्,बरु झन् बढ़ी पासपोर्टहरू छापिए, त्यो तिमीलाई भन्दा बढ़ी कसलाई थाहा होला र ! विदेश जान सूटकेस कंसेको ठिटो साथीहरूलाई पाटी दिँदा दिँदै सुटुक्क रेस्टुरेन्टको बाथरूम छिरेर आँसु बगाएको अरू कसैले देखेका हुँदैनन प्रिय काठमाडौँ तिमीले बाहेक । सङ्गिनी,सन्तान र जन्म दिने बा आमालाई हाँसी हाँसी बिदाइका हात हल्लाएको र खादा लगाई सेल्फी खिची विमानस्थलको गेट भित्र छिरेको नेपाल आमाको सन्तान जहाज़ चढ़दा आँखाले देख्न सक्ने जति देशलाई हेर्दै छातीमा समेट्दै गर्दा टिल्पिल गर्ने आँसुलाई बड़ो कष्ट सँग आँखा भित्रै दबाएको तिमीले मात्र महसुस गरेको हुन्छौ काठमाडौँ,अरू कसैले गरेको हुँदैन ।

देख्नेलाई त फलानो विदेश गयो,अब लाहुरे पैसा कमाएर फर्किन्छ भन्ने लाग्दो हो । एउटा परदेशीले पैसा कमाउनको लागि के के गुमाएर फर्किन्छ,त्यो कुराको महसुस पनि तिमीले प्रत्येक लाहुरे घर फिर्ती हुँदा विमानस्थलमा देख्छौ । अझ राता बाकसको त के कुरा गरूँ र ! भो नगरूँ ।
तिनै अभागी लाहुरेलाई प्रियसीहरुले निष्ठुरी भन्ने बचन लगाउँदा आज मैले तिमीलाई सम्झिनु परेको हो प्रिय काठमाडौँ ।

म, म मात्र हैन । म मेरो परिवारको मात्र हैन । म मेरो देशको हुँ । तर के मलाई मेरो राज्यले आफ्नो नागरिक भन्यो ? कहिले भन्यो? भन्न त भन्यो,भोट माग्ने बेला मात्रै भन्यो । चुनावमा भोट हाल्न आउनोस भन्ने प्रियसीको आग्रह भित्र हालका वडाध्यक्षको घचघची मिसिएको अनुमान लगाउन मलाई गाह्रो परेन काठमाडौँ । त्यही वडाध्यक्ष जसले मेरो चुहिने घरको छानो छाउन ऋण माग्दा बचन लाएर मलाई खाडी पठायो,अनि अहिले गाउँमा रक्सीको खोलो बगायो । गहिरो गरी हेर्ने हो भने प्रत्येक परदेशी प्रत्यक्ष वा परोक्ष रूपमा यिनै मेयर,अध्यक्ष,वडाध्यक्ष,सदस्य(जितेका वा हारेका) का कारणले घरदेश छोडेर बाहिरिएका छन् । त्यसैले त चुनावको बेला यिनीहरूले ‘लाहुरे घरमा छैन,बूढ़ा बा आमा,अनपढ़ दाइ भाउजू,सोझी जहान र केही नबुझ्ने भुराभुरी छन्,जसरी नि प्रभावमा पार्न सकिन्छ’ भनेर पैसाको खोलो बगाउँदा हुन । कस्सम काठमाडौँ,लाहुरेले चुनावमा भोट हाल्न नपाएको खुसीमा रांगा पाठा ढालेर रक्सीको खोलो बगाएर पार्टी/पिकनिक मनाए झैँ लाग्छ यिनीहरूले ।

थाहा छैन कति परदेशी साथीले यसरी महसुस गर्दा हुन । त्यसो त परदेशमै नेतागिरी गर्नेको पनि कहाँ कमी छ र ! ४६ साल यता देशलाई निश्चित पहूँचवालाको बन्धकमा राखेर प्रत्येक विपन्न घरका छोराछोरीलाई विदेश लखेटेको यथार्थलाई सजिलै बिर्सेर परदेशमा अझ चर्को राजनीतिमा रमाउनेहरुलाई देखेर झन् उदेक उदेक लाग्छ । नढांटी भनूं भने त्याहाँ भन्दा झन् फोहोरी राजनीति परदेशमा छ । किनकि यहाँ खेलिरहन र खेलाइरहन मिल्ने पैसा छ । आख़िर नेपाली जहाँ पूग़ोस नेपाली राजनीतिलाई खेलाउने,चलाउने,उचाल्ने,पछार्ने सब पैसाले त रैछ काठमाडौँ ।

नेपालीहरू रोज़गारी,शिक्षा वा व्यवसायको लागि जाने देशहरू नेपाल भन्दा विकसित देश हुन । पक्कै पनि ती देशहरूमा सिस्टम राम्रो छ । रूल अफ ल छ । नेपालीले सिक्नुपर्ने धेरै कुरा छन् । तर नेपालीहरू सिक्न कहाँ चाहन्छन र ? धेरै जान्ने सुन्ने पो छन् त नेपालीहरू । त्यसैले त जहाँ पुगे पनि उही बिहारी राजनीति र संस्कार फैलाइरहेक़ा छन् । त्यसो त आज बिहार कहाँ पुग्यो आर्थिक र भैतिक विकासमा । आज बिहारीहरुले नै उतातिर भन्दा हुन, ‘नेपाली पारा नदेखा त यहाँ !’

ख़ैर काठमाडौँ,मलाई धेरै नै गुनासो छ नेपाली सोंच,चिन्तन र व्यवहार प्रति । भन्यो, संगीसाथी,आफन्त रिसाउँछन । नभन्यो, छाती भतभती पोल्छ । मेरा आफ्ना कष्ट,परिवार पाल्ने कष्ट,घरको छानो छाउने कष्ट जहाँका त्यहीँ छन् । तर म मूर्खले चैँ देशका बारे लेख्छु रे, प्रियसीले भनेकी । जब आफ्नैबाट कटाक्ष आउँछ,मान्छे निष्ठुरी बन्न खोज्दो रहेछ । अचेल म निष्ठुरी भएकै यही कारणले हो । तर जति निष्ठुरी भए पनि म तिमीलाई भुल्न सक्दिन । किनकि, भन्न त तिमीलाई कसैले निर्जीव सहर भन्लान,तर मैले मेरो परिवार र देश छोड़दाको अन्तिम क्षणको धड़कन छामेको र वेदना नापेको मेरो एकमात्र साक्षी हौ ।
म तिमीलाई फेरि सम्झिने छु । आजलाई बिदा ।

-परदेशी,हेमन्त गिरी -परदेशबाट

[email protected]

नोट :हिमाल पोस्टबाट प्रकाशित कुनै पनि सामाग्रीहरु अनुमति बिना साभार गरेर अन्य मिडियामा प्रकाशित गरेको पाईएमा  क्षतिपूर्ति स्वयम् ले व्यहोर्नु पर्नेछ ।