प्रधानमन्त्रीको उम्मेदवार एमालेबाट गौतमलाई बनाउने सम्भावना बढी - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रधानमन्त्रीको उम्मेदवार एमालेबाट गौतमलाई बनाउने सम्भावना बढी



काठमाडौँ, जेठ २० गते । 

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पार्टीको तर्फबाट आगामी प्रधानमन्त्रीको उम्मेदवार उपाध्यक्ष वामदेव गौतमलाई बनाउने तयारी गरेको छ ।

चितवनको मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले मतगणना गर्ने गरी ठोस निर्णय गरे आइतबार बस्ने संसद् बैठक अवरोध खोल्ने सङ्केत एमालेले गरेको छ ।  संसद् सचिवालयले प्रधानमन्त्रीको निर्वाचन आइतबार गराउने गरी तयारी गरिरहेका बेला एमालेको पछिल्लो धारणा आएको हो ।

तर, आयोगले निर्णय गर्न विलम्ब गरे वा पुनः मतदान गर्ने गरी निर्णय गरेमा संसद् बैठक अवरोध कायमै राख्ने एमाले नेताहरूले जानकारी दिएका छन् ।  काँंग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने तयारी गरिरहेका बेला एमालेले उहाँलाई सर्वसम्मत हुन नदिने गरी उम्मेदवार अगाडि सार्न लागेको हो ।  यद्यपि यसबारेमा एमालेले अझै आधिकारिक निर्णय भने गरिसकेको छैन ।
एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने अनौपचारिक चर्चा भए पनि सचिवालयबाट आधिकारिक निर्णय भइनसकेको बताउनुभयो ।  तर, देउवालाई सर्वसम्मत प्रधानमन्त्री हुन भने नदिइने उहाँले प्रस्ट पार्नुभयो ।

स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा एमालेले समर्थन गर्न नसक्ने बताउनुभयो ।  त्यसको विकल्पमा पार्टीले उपाध्यक्ष गौतमलाई अगाडि सार्ने तयारी गरेको उहाँको भनाइ छ ।  पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेले सत्ता समीकरणको विषयमा आन्तरिक छलफल सुरु गरेको छ ।