संविधानको सर्वस्वीकार्यता बढाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

संविधानको सर्वस्वीकार्यता बढाउन सरकार क्रियाशील छ : प्रधानमन्त्री



काठमाडौँ,  माघ १ गते  । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदायलगायत अन्य समुदायले मनाउने चाड माघे सङ्क्रान्तिका अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले आज शुभकामना सन्देश दिँदै यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्दै सबै नेपालीलाई मुलुकको विकासमा एकताबद्ध हुन प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

सन्देशमा भनिएको छ– “भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा एकै दिन पर्ने र एउटै नामको पर्वलाई पनि भिन्न भिन्न भेग र समुदायमा भिन्नभिन्न ढङ्गले मनाउने प्रचलन समेत रहेको छ । यो पर्व यसको उदाहरण समेत हो ।”

प्रधानमन्त्रीले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट समावेशी सङ्घीय लोकतान्त्रिक संविधान निर्माण गरिएको जनाउँदै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराईका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताउनुभएको छ ।

संविधानको सर्वस्वीकार्यता बढाउन सरकार संवाद र सहमतिका आधारमा लक्ष्य हासिल गर्न क्रियाशील रहँदै आएको सन्देशमा उल्लेख छ । रासस