सुरक्षा योजना सार्वजनिक: ‘पाँच मिनेटभित्र प्रहरी उपलब्ध’ - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

सुरक्षा योजना सार्वजनिक: ‘पाँच मिनेटभित्र प्रहरी उपलब्ध’



असोज ५, काठमाडौँ-

महानगरीय प्रहरी कार्यालयले उपत्यकाको शान्तिसुरक्षा चुस्त र प्रभावकारी बनाउन शङ्कास्पद गतिविधिको सम्बन्धमा सूचना पाएको पाँच मिनेटभित्र प्रहरी सेवा पुग्ने गरी सुरक्षाव्यवस्था मिलाएको छ ।

महान् चाड दसैँ, तिहार र छठलाई लक्षित गरी एक महिना लामो सुरक्षा योजना बुधबार सार्वजनिक गर्दै महानगरीय प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) जयबहादुर चन्दले सूचना आएको पाँच मिनेटभित्र प्रहरीसेवा उपलब्ध हुने बताए ।

त्यस्तो सेवा लिनका लागि उपत्यकावासीले तत्काल प्रहरी कन्ट्रोल–१०० मा फोन गर्नुपर्नेछ । महानगरीय प्रमुख चन्दले भने, “दसैं, तिहार र छठका अवसरमा हुनसक्ने सम्भावित घटना तथा दुर्घटना हुन नदिन ठूलो सङ्ख्यामा सादा पोसाकका प्रहरी परिचालन गरेका छौँ । ”
अपराध भइहाले पनि त्यसको सूचना तत्काल नजिकको प्रहरी कार्यालय तथा प्रहरी कन्ट्रोलमा गरिदिए प्रहरीलाई अपराध नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने अपेक्षा उनले ब्यक्त गरे ।

गृहजिल्ला फर्किनेहरूलाई घर–कोठा सुरक्षित ढङ्गले बन्द गर्नसमेत सुझाव दिए ।

‘अपराधविरुद्धको ऐक्यबद्धता, महानगरीय प्रहरीको प्रतिबद्धता’ भन्ने मूल नारा सहितको उपत्यकावासीको शान्तिसुरक्षाका लागि २२ बँदे अपिल सार्वजनिक गर्दै डीआईजी चन्दले यस पटकको दसँै, तिहार र छठपर्वलाई शान्त, सुरक्षित र दुर्घटनारहित बनाउने तयारी भइरहेको बताए ।

दसँै, तिहार र छठपर्वका लागि अन्य समयको तुलनामा सुरक्षा गस्ती, सुरक्षा जाँचलगायत सुरक्षाकर्मीको सङ्ख्यासमेत बढाएको जनाइएको छ । उपत्यका प्रवेश गर्ने नाकाहरूमा तालिमप्राप्त कुकुरसहितको चेकजाँच, बैङ्क, व्यापारिक महल र मुख्य बजार क्षेत्रमा सुरक्षा अप्रेसन चलाइनेछ ।

त्यस्तै राज्यका विशिष्ट व्यक्ति, मठमन्दिर, शक्तिपीठहरूमा पनि मजबुत सुरक्षाव्यवस्था मिलाइएको छ । दसैँतिहार सुरक्षाका लागि महानगरीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) गणेश केसीको कमान्डमा पाँच हजार ४३७ जनशक्ति परिचालन गरिएको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत काठमाडौँ जिल्लाका लागि वरिष्ठ प्रहरी उपरीक्षकको कमान्डमा तीन हजार २०, ललितपुरमा प्रहरी उपरीक्षकको कमान्डमा ६५८ र भक्तपुरका ५८५ जना सुरक्षाकर्मी परिचालन गरिएको र ८२० जना सुरक्षाकर्मी रिजर्भका रूपमा राखिएको जानकारी परिसरले दिएको छ । केही दिनअघि क्षेत्रपाटीबाट बरामद ८८ किलो अवैध सुनको कारोबारमा संलग्न रहेको अभियोगमा थप पाँच जनालाई पक्राउ गरिएको जानकारी गराइयो । बा. १७ च ६४२७ नम्बरको गाडीमा लुकाइराखेको अवस्थामा उक्त सुन बरामद भएको थियो ।