जब प्रहरीले मुखमा कण्डम कोच्याएर तेस्रो लिङ्गीलाई दुर्व्यवहार गरे ..... - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जब प्रहरीले मुखमा कण्डम कोच्याएर तेस्रो लिङ्गीलाई दुर्व्यवहार गरे …..



काठमाडौं । सुनसरीको इटहरीस्थित तेश्रो लिङ्गीहरूले बिना कुनै कसुर आफुहरूलाई प्रहरीले अनावश्यक पक्राउ गरी हदैसम्मको दुव्र्यवहार गरेको आरोप लगाएका छन् । सोमबार इटहरीमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका तिन जना तेश्रो लिङ्गीहरूले प्रहरीबाट आफुहरू असुरक्षित भएको बताए ।

 

जनता उच्च मावीको खेल मैदानमा सञ्चालन हुँदै आएको रमाइलो मेला हेरी आइतबार राती घर फर्कदै गर्दा प्रहरीले आफूहरूलाई अनुसन्धान गर्नुछ भन्दै पक्राउ गरी कार्यालयमा लगेको र हदैसम्मको दुव्र्यवहार गरेको पीडिहरूले पत्रकार सम्मेलनमा बताए । प्रहरीले आफूहरूलाई सुत्ने कोठामा लगेर नाङ्गै बनाइ जबरजस्ती मुखमा कण्डम कोच्याएर दुव्र्यवहार गरेको आरोप उनीहरूले लगाए ।

रमाईलो मेलाका नाममा स्थानीय प्रशासनले जुवाजन्य मेला लगाएर समाजभित्र विकृति फैलाउने जस्तो कार्य गर्न स्वीकृति दिएको तर मेला हेरेर फर्कदै गरेका तेस्रो लिङ्गीलाई भने नियन्त्रणमा लिई प्रहरीले दुव्र्यवहार गरेकोप्रति निलहिरा समाजले आपत्ती जनाएको छ ।

‘तेस्रो लिङ्गी माथि अमानवीय तरिकाले दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही हुनुपर्दछ’ पत्रकार सम्मेलनमा बोल्दै निलहिरा समाज इटहरीका कोर्डिनेटर बिनोद वाग्लेले भने, ‘जबसम्म हाम्रा पीडित साथीहरूमाथि न्याय हुँदैन, तबसम्म हामी चुप लाग्दैनौं ।’ प्रहरीमाथि कार्वाहीको माग गर्दै सोमबार ईलाका प्रहरी कार्यालय इटहरीमा लिखित जाहेरी दिएको पनि उनले बताए । ‘इलाका प्रहरी प्रमूखबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ’ वाग्लेले महिलाखबरसँग भने, ‘प्रहरी नायव उपरीक्षक सञ्जय राउतले प्रहरीबाट गल्ती भएको कुरा स्वीकार्नु भएको छ । उहाँले घटनाको छानबिन गरेर दुव्र्यवहार गर्ने प्रहरीलाई कार्वाही गर्ने आश्वासन दिनुभएको छ ।’

प्रहरीको पिटाईबाट तेस्रो लिङ्गी मोनीका परियारको देब्रे खुट्टामा निलडाम समेत परेको छ । त्यस्तै अर्का अभय लिम्वुको हात सुन्निएको छ । उनीहरूको स्थानीय अस्पतालमा स्वास्थ्य जाँच गरी अहिले सामान्य अवस्थामा रहेका छन् ।

घट्नामा आफ्नो सहकर्मीहरू माथी भएको ज्यादतीप्रति आक्रोेस पोख्दै निलहिरा समाज इटहरीका रवि श्रेष्ठले प्रहरीले देखाएको अमानवीय र क्रुरतापूर्ण व्यवहार क्षमा योग्य नरहेको बताए । उनले दोषी प्रहरीको पहिचान गरी तत्काल कडा भन्दा कडा कार्वाहीको माग समेत गरे ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक चिरञ्जीवी दाहालले आफूलाई तेस्रोलिङ्गी भन्नेहरूले अत्यन्तै अश्लील शब्दहरू बोल्दै बाटो हिँड्ने मान्छेलाई समेत दुख दिने गरेको गुनासो आइरहेको बेला गस्तीमा गएको प्रहरीले केही व्यक्तिहरूलाई अर्धनग्न अवस्थामा अश्लील शब्द बोल्दै हिडिरहेको बेला पक्राउ गरेको बताए ।

प्रहरी निरीक्षक दाहालले तिमीहरू को हौ ? भनि सोधपुछ गर्दा आफूहरू तेस्रोलिङ्गी हौं भनेको र उनीहरूको साथबाट ५० वटा कण्डम समेत फेला पारेको दाहालले बताए । तेस्रोलिङ्गीहरूले रातको समयमा अश्लीलता प्रकट गरेर सताएका थुप्रै मौखिक गुनासा आइरहेका बेला पक्राउ गरिएका उनीहरूलाई छानबिनको लागि एक रात राखिएको तर, दुव्र्यवहार भने नभएको जीकिर पनि प्रहरी निरीक्षक दाहालले गरे ।

महिला खबर