प्रकाण्डद्वारा विप्लव समूह छाड्ने : नेकपामा प्रवेश गर्ने तयारी - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रकाण्डद्वारा विप्लव समूह छाड्ने : नेकपामा प्रवेश गर्ने तयारी



महासचिव नेत्र विक्रम चन्दसंग सम्बन्ध नसुध्रिएमा पार्टीबार्ट बहिर्गमन हुने मुडमा खडग बहादुर विश्वकर्मा प्रकाण्ड रहेको खबर बाहिरिएको छ । विप्लव र प्रकाण्डबीचको सम्बन्ध अझै सुध्रिन नसकेको अवस्थामा सरकारले विप्लव समूहमाथिको धडपकडलाई तीब्रता दिइरहेका बेला प्रकाण्डले पार्टी छाडने मनस्थिति बनाउनुले विप्लव आन्दोलनलाई क्षती पुग्ने नेता तथा कार्यकर्ताको विश्लेषण छ ।

मध्यकमाण्ड इन्चार्ज समेत रहेका हेमन्त प्रकाश ओली सुदर्शन पक्राउ पर्नु, प्रकाण्डसंगको सम्बन्धमा सुधार नआउनु र पार्टी र जनबर्गीय संगठनहरुमा पैदा भएका आन्तरिक विवाद समाधान भइनसकेको हुदा महासचिव नेत्र विक्रम चन्द विप्लवलाई मोर्चामा कठिनाई भएको अनुमान गरिएको छ ।

२०७५ साउन २२ गते पक्राउ परेर असोज ९ गते सर्वोच्चको आदेशबाट रिहा भएका प्रकाण्डमाथि पार्टीभित्र दर्जनौ आरोप रहेका छन ।

विभिन्न व्यवसायी तथा उद्योगपतिहरुबाट उठाएको करोडौ रुपैया चन्दाको विवरण पार्टीमा नबुझाएको, पार्टीमा गुटबन्दी गरेको र जनबर्गीय संगठनका समानान्तर कमिटी निमार्ण गरेको लगायतका आरोपका कारण प्रकाण्ड जेलमुक्त भएयता पार्टीमा एक्लिएको विप्लव समूहका नेताहरुको भनाई छ ।

महासचिव विप्लवसंग सम्बन्ध सुधार नभए सत्ताधारी नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) मा प्रकाण्ड समूह प्रवेश गर्ने तयारी भइरहेको श्रोतको दाबी छ ।

प्रचण्ड र ओली नेतृत्वको नेकपासंग प्रकाण्डले स्थायी कमिटी सदस्यको हैसियत माग गरेको बताइन्छ । यसैगरी नेकपाले रेस्पोन्स नगरेमा नयाँ शक्ति पार्टीमा पनि प्रवेश गर्नसक्ने संभावना रहेको श्रोतको भनाई छ ।

प्रकाण्ड पक्राउ पर्दा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई उनलाई भेट्न प्रहरी हिरासत नै पुगेका थिए । जेलमुक्त भएयता प्रकाण्ड र डा. भट्टराईबीच भेटघाट बाक्लिएको पनि श्रोतले दाबी गरेको छ ।