प्रकाश चन्द भन्छन: विद्यार्थी लुट्ने माफियाको मुटु र दिमाग हल्लाउनुपर्छ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रकाश चन्द भन्छन: विद्यार्थी लुट्ने माफियाको मुटु र दिमाग हल्लाउनुपर्छ



काठमाडौं- नेत्रविक्रम चन्द विप्लव पुत्र प्रकाश चन्द पछिल्लो समय चितवन मेडिकल कलेजमा विद्यार्थीको आन्दोलनको नेतृत्व गरिरहेका छन् । भूमिगत नेता विप्लवका छोरा प्रकाश पेशाले चिकित्सक हुन् । तर, उनी मेडिकल माफियाविरुद्ध कडा रुपमा उभिएका छन् । उनको कदमले मेडिकल क्षेत्रमा हलचल नै पैदा गरेको छ ।

प्रस्तुत छ प्रकाश चन्दसँग नेपाली रेडियो नेटवर्कको नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानी:

मेडिकल कलेज सञ्चालकहरुले सरकारलाई चाबी बुझाएका छन्, के तपाईंहरु आन्दोलन फिर्ता लिनुहुन्न ?
माफियाहरुले घुर्की लगाएर तालाचाबी बुझाउँदैमा सरकार आत्तिहाल्नुपर्छ भन्ने छैन । हामी अहिले सरकारको नीतिलाई कार्यान्वयन गर्नको लागि दिनरात सडकमा सुतेर संघर्ष गरिरहेका छौं । मेडिकल कलेज माफियाहरुले सरकारलाई दङ्ग्याएका हुन् । यही मौकामा सरकारले लिँदा हुन्छ ।

शुल्क घटानुपर्ने हो भने हामी मेडिकल कलेज चालउन सक्दैनौं भनेका छन् नि ?
उहाँहरुले मेडिकल कजेल चलाउन सक्ने÷नसक्ने भन्दा पनि राज्यले त्यो क्षेत्रमा कति लगार्न सक्छ भन्ने कुरा हो । कलेज सञ्चालकहरुले सरकारबाट केही सौलिएत लिएर काम गर्न सक्नुहुन्छ भने त्यसमा छलफल गर्नुपर्यो नि । राज्यसँग आफ्ना समस्या नबताउने अनि खाली विद्यार्थीमाथि मात्रै शोषण गरेर मेडिकल कलेज चालाउँछु भनेर व्यापारमुखी मात्र हुनु भएन ।

खाली विद्यार्थीलाई मात्रै शोषण गरेर ब्यापार गर्न खोज्ने उहाँहरुको प्रवृत्तिलाई विद्यार्थी आन्दोलनले उदाङ्गो बनाइदिएको छ । विद्यार्थीलाई शोषण गर्न नपाउने भएपछि उहाँहरुले हामी शुल्क घटाएर कलेज संचालन गर्न सक्दैनौं भनेर चाबी बुझाउनुभएको छ । यो अत्यन्तै निन्दनीय कुरा हो । पहिलो कुरा राज्य यही बेलामा बुझाएको चाबी स्वीकारेर आफ्नो मातहतमा ल्याउनुपर्छ । दोस्रो यदि सरकारले पनि सक्दैन भने केही सहुलियत दिएर भए पनि विद्यार्थीले पढ्न पाउनुपर्ने वातावरण बनाइदिनुपर्छ । मेडिकल कलेज सञ्चालकहरु पनि त्यो लिकबाट अगाडि बढ्नुपर्छ ।

मेडिकल कलेज सञ्चालकहरुलाई चौतर्फी रुपमा तपाईंको दबाब छ रे नि ?
यो मेरो मात्रै दबाब होइन । यहाँ त सिंगो एप्रोनको दबाब हो नि । विद्यार्थीहरु सडकमा आएर मर्न तयार भइहेका छन् । कहिल्यै पुलिसको अगाडि नपरेका मान्छेहरु पुलिसको लाठी खान तयार भइराखेका छन् । पुलिसले पक्रँदा आफै लाइन लागेर गिरफ्तारी दिइरहेका छन् । यो भनेको आफूमाथि भएको चरम शोषण, दमनको रिफ्लेक्सनको पराकाष्ठा हो । त्यसकारण यहाँ प्रकाश चन्दको दबाब भन्दा पनि यो भित्र भएको विकृति, विसंगती विरुद्धको विष्फोटन हो ।

सुनिल शर्माले त प्रकाश चन्दहरुले कलेजमा बम पड्काइदिन्छु भनेपछि आतंक फैलिएको भनेका छन् नि ?
उहाँ पनि विद्यार्थी आन्दोलनका बेला पुलिसले लाठी बर्साउँदा बुटले नै कन्ट्रोल गर्छु भनेर आउनुभएको मान्छे हो । ठिकै छ व्यक्तिगत कुरातिर नजाऔं । यदि त्यो हो भने हरिशचन्द्र न्यौपानेजी र प्रकाशको रेकर्ड त होला नि उहाँसँग । त्यो ल्याउन सक्नुप¥यो ।
मैले रेकर्ड सुनाउनुस् भन्दा अहिले हरिशचन्द्र न्यौपाने बोल्न सक्ने अवस्थामा हुनुहुन्न भन्नु भएको छ नि ?
के हो गम्भीर अवस्था भनेको ? विद्यार्थीको ५६ करोड पैसा लुट्न चाहिं हुने अनि त्यो पैसा फिर्ता गर भन्दा गम्भीर अवस्था भनेर पन्छिन खोज्ने ?

तपाईंहरुको दबाबले गर्दा उहाँ बिरामी हुनुभयो रे ?
त्यो उहाँहरुको वाहिएत आरोप हो । त्यसमा हाम्रो भन्नु केही छैन । यसमा सबैले दबाब दिन पाउँछ । यहाँ प्रकाण्ड, विप्लबको मात्रै कुरा होइन । यसमा सकिन्छ भने देशका प्रधानमन्त्री, राष्ट्रपतिले पनि दबाब दिए हुन्छ । विद्यार्थीका जायज मागमा उहाँहरु किन बोल्नुहुन्न ।

प्रधानमन्त्री जस्तो राष्ट्र प्रमुखको फोटो माफियाहरुसँग खिचेर सामाजिक सञ्जालमा आउँदा आफ्ना जायज माग राखेर सडकमा आन्दोलन गरिरहेका विद्यार्थी र उहाँहरुका अभिभावकहरुले के बुझ्ने ? यस्ता कुरामा उहाँहरुले ख्याल गर्नुपर्छ कि पर्दैन ? विद्यार्थीहरुको माग पुरा गराउन दिएको दबाबलाई चाहिं उहाँहरुले विध्वंशकारी गतिविधि भन्ने । त्यसलाई हतियार धारी, बम काण्ड भनेर जोड्ने । सरकार प्रमुखले मेडिकल माफियासँग फोटो खिचेर सामाजिक सञ्चालमा हाल्दा त्यसलाई जनताले कसरी बुझ्ने ?

हामीले राज्यलाई कर तिरेका छौं त्यसैले दबाबका भरमा शुल्क घटाउन सक्दैनौ बरु कलेजै बन्द गरिदिन्छौं भनेका छन् नि ?
उद्योग चलाएर कर तिरेको छ भन्दै राज्यले जति पनि लुट्न दिनुपर्छ भन्ने हो ? यो कसैले मान्ने नमान्ने भन्ने होइन । सम्पूर्ण नेपाली जनताको स्वास्थयसँग जोडिएको कुरा हो । यहाँ कसले बढी पैसा ति¥यो कसले बढी लियो भन्ने नै होइन । यसमा राज्य, आमनागरिक, प्रशासनलगायत सबै सरोकारवाला सचेत हुनुपर्ने कुरा हो । उहाँहरुले कलेज चलाएर राज्यलाई कर तिरेको छ भन्दैमा विद्यार्थी र अभिभावकलाई जति पनि ठग्न, लूट मच्चाउन पाउनुपर्छ भन्नेमा हामी सहमत हुन सक्दैनौं ।

उनीहरुको अर्बौको लगानी पनि सुरक्षित हुनुप¥यो नि ?
लगानी गरेको छ भन्दैमा जे पनि गर्न पाइँदैन नि । आज लगानी गरेर भोलिपल्टै करोडौं असुली गरिहाल्ने भन्ने होइन होला । लगानी गरेपछि विस्तारै फाइदा हुँदै जाने केही नीतिनियमहरु होलान् । अहिलेको संविधानमै उल्लेख छ । शिक्षा र स्वास्थ्यमा नागरिकहरुको मौलिक कह रहने छ भने पछि उहाँहरुले पनि केही बुझेर लगानी गर्नुप¥यो नि । आज लाख रुपैयाँ लगानी गरेर भोलिनै खर्बपति बन्छु भनेर जथाभावी असुली गर्न थालेपछि हामीले पनि मान्न सक्दैनौ नि । त्यसकारण लगानी गर्नु एउटा कुरा हो । यसलाई बरु सरकारले केही सहुलियत दिएर प्रोमोट गर्नुपर्छ । लगानी गरेको छ भन्दैमा विद्यार्थी, अभिभावक र आमनागरिकबाट असुली गरेर रातारात खर्बपति बन्छु भन्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ ।

कलेज सञ्चालकहरुले त सरकार बनाएको मापदण्डमै ४२ लाख छ हामीले त्यही अनुसार नै लिएका छौं भनेका छन् नि ?
उहाँका कुरा त पहिलाका मुखिया हुन्थ्ये नि चर्को ब्याज असुली गरेर रातारात धनी हुने त्यस्तै हो । उहाँहरुको तर्क नै होइन राज्यलाई कर तिरेको छ त्यसैले जति पनि असुली गर्न पाउनुपर्छ भन्ने । त्यसो त गाडी चलाउनेलाई राज्यले लाइसेन्स दिएको हुन्छ जसलाई पनि हान्दै हिड्ने, हतियारको लाइसेन्स छ जसलाई पनि गोली हान्दै हिड्ने हो त ? त्यस्तो त भएन नि, एउटा नीति नियम, क्राइट एरिया त होला नि ।

राज्यलाई कर तिरेरको छ भन्दैमा विद्यार्थीबाट १२÷१२ लाख, २०÷२० लाख बिना बिलभौचर जथाभावी असुली गर्दै हिड्ने हो त ? यस्ता खाले अनियमिततालाई रोक्नुपर्छ भनेको हो हामीले । राज्यले तोकेको पैसाबाट कर तिर्ने हो विद्यार्थीबाट थप असुली गरेर तिर्ने होइन । त्यसरी जथाभावी असुली गरेर उठाएको पैसाको हिसाव देखाउनुस् र आइन्दा त्यस्ता खालका असुली रोक्नुहोस् भनेका छौं हामीले ।

अहिलेको अवस्थामा एमबीबीएस पढ्ने एउटा विद्यार्थीले कति पैसा तिरेका छन् ?
कलेजैपिच्छे फरक–फरक छ । आजभन्दा तीन वर्ष अगाडि राज्यले ३८ लाख तोकेको बेलामा एउटा विद्यार्थी ६४ लाखसम्म तिरेको पाइएको छ । राज्यले अहिले भ्यालीबाहिर ४२ लाख ४५ हजार तोकेको बेलामा हरेक विद्यार्थीले एस्ट्रा ६ लाख रुपैयाँ बिना बिल तिरिसकेका छन् । थप ६ लाख रुपैयाँ माग्ने काम भइराखेको छ । राज्यले तोकेकोभन्दा बढी मागिएको पैसा तुरुन्तै रोक्नुपर्छ ।

कलेज सञ्चालकहरुले त सरकारले भनेको मान्ने हो विद्यार्थीको कुरा किन मान्ने भनेका छन् नि ?
सरकारले भनेको मान्ने भए मान्नुप¥यो नि । शिक्षा मन्त्रालय र गृमन्त्रालयबाट निर्देशन आइसकेको छ । सरकारले तोकेकोभन्दा बढी लिएको पैसा तुरुन्त फिर्ता गर्नु भनेर । यसमा त्रिभुवन विश्वविद्यालयले, डीनले निर्णय निकालिरहेको छ । त्यसलाई मान्नुप¥यो नि । विद्यार्थीले भनेको नमान्ने हो भने पनि राज्यले भनेको कुरा त मान्नुप¥यो नि । यसमा माफियाहरुको छुट्टै संगठन छ । त्यो संगठनमार्फत छुट्टै निर्णय बनाउनुहुन्छ उहाँहरु । हामीले कुरा नबुझेको के छ भने यहाँ राज्य कतिवटा छन् ? राज्यले एउटा निर्णय निकाल्ने, माफियाहरुले आफ्नो संगठनबाट छुट्टै निर्णय निकाल्ने, त्रिविविले छुट्टै निकाल्ने । त्यसकारण माफियाको मान्ने कि राज्यको मान्ने भयो । हामी नागरिक राज्यका हौं कि राज्यका हौं कोबाट परिचालित छौं भन्ने भयो ।

त्यसकारण यहाँ सरकारको गम्भीर ध्यानाकर्षण होस् । माफियाहरुले राज्यले तोकेकोभन्दा छुट्टै निर्णय निकालेर जसरी विद्यार्थीमाथि असुली गर्ने काम भएको छ । त्यसलाई राज्यले तुरुन्त रोक्नुपर्छ र त्यसो गरेबापत उनीहरुलाई कारबाही पनि हुनुपर्छ । माफियाहरुसँग पैसा असुल्ने बाहेक अरु कुनै पनि काम हुँदैन । उनीहरु चाहन्छन् कि विरुद्धमा कसैले आवाज नउठाओस्, अदालतमा कुनै मुद्दा नपरोस् भन्ने छ । आफियाहरुले सडकदेखि सदनसम्मका संयन्त्रलाई आफ्नो मातहतमा राखेका छन् । त्यसकारण विद्यार्थीले जाहेज माग राखेर आन्दोलन गर्दा कहींबाट सुनुवाइ हुँदैन । उनीहरु भनिरहेका छन् विद्यार्थीले भनेको मान्दैनौंं । राज्यले भनेको मात्रै गर्छौं भनेर फेरि किन फिर्ता गर्दैनन् ? उल्टै उनीहरुले सरकारलाई ताला बुझाउने हो त ? त्यसैले यिनीहरुले घुर्की देखाएर ताला बुझाएका छन् भने राज्यले त्यो ताला स्वीकारोस् ।

त्यसो भए सरकारले मेडिकल कलेजको स्वामित्व लिए हुन्छ ?
लिए हुन्छ केही फरक पर्दैन । समाजवाद उन्मुख सरकार भनिएको छ । शिक्षा, स्थास्थ्यलाई मौलिक हक भनिएको छ । अहिले देशैभरी गरेर १८ मेडिकल कलेजहरु छन् । यहीबाट सरकारले आफ्नो प्रशासन खडा गरेर कलेज सञ्चालन गरे हुन्छ ।

उचित मूल्यांकन भए कलेज राज्यलाई बेच्न तयार छौं त उनीहरुले पनि भनेका छन् नि ?
उचित मूल्यांकन भनेको के हो ? उहाँहरु ५ लाख लगानी गरेर शेयर होल्डर भएर कलेजभित्र छिर्नु हुने । केही वर्षपछि उहाँहले त्यही प्रोपटीलाई १०-१५ अर्ब भन्नुभएको छ । राज्यले त्यसको सही मूल्यांकन गरेर ५० प्रतिशत पेमेन्ट गरेर आफैले कलेज सञ्चालन गर्दा केही फरक पर्दैन । त्यो गर्न सक्ने राज्यसँग आर्थिक पुँजी पनि छ । जनशक्ति पनि छ । राज्य त्यो काम गरेमा विद्यार्थीमाथि ठूलो न्याय हुन्छ ।

विद्यार्थीको पढाइदेखि सबैतिर समस्या छ त्यसको समाधानको लागि गरिएको दबाब त होइन होला नि ?
यसमा आर्थिक भारका मात्रै कुरा छैनन् । पढ्ने करिकुलमका कुराहरु पनि छन् । हामीले पढ्ने शैलीका कुराहरु छन् । अर्को मेडिकल पढ्नै यति धेरै पैसा लाग्नुपर्ने कारण के छ भनेको ? सरकारमा यो सम्बन्धी नलेज भएका मान्छेहरुको कही न कही कमी देखिन्छ ।

यसमा माफियाहरुको संलग्नता पनि देखिन्छ । पढाइका शैलीहरु हेर्दा पनि सामान्य विषय ह्युमानिटिज पढाइएको जस्तो छ । एउटा स्लाइडमा वर्षभरि पढाइन्छ । लेक्चरको भाषणको भरमा सारा क्लास कटाइन्छ । अनि पैसा केमा लाग्छ । प्राक्टिकल विषयमा भाषणको भरमा क्लास कटाएपछि पैसा कहाँ खर्च हुन्छ ? पढाइको गुणस्तर पनि नहेर्ने अनि खाली विद्यार्थी र अभिभावकलाई पैसा मात्रै तिराएर घिसार्न त पाइएन नि । उहाँहरुले भनेजस्तो विद्यार्थीले गरेको एउटा दबाब पनि हो । दबाब पनि पढाउने होइन सरकारले तोकेकोबाट पनि घटाउन मिल्छ । सरकारले तोकेकोबाट पनि वार्षिक ४-५ करोड फाइदै छ ।

डा. केसीले शुल्क फिर्ता नगरे फेरि सत्याग्रह गर्छु भन्नुभएको छ नि ?
अबका आन्दोलनमा हिजोका गोविन्द केसी मात्रै होइनन् । यहाँ धेरै गोविन्द केसीहरु आइसकेका छन् । अरुले पनि सत्याग्रह गर्नेवाला छन् । माफियाहरुले जे भन्छन् त्यो मानेर बस्ने हो भने यहाँ राज्यदेखि सबै आएर एक ढिक्का भएर बस्ने रहेछन् । त्यसलै यो समस्या समाधान नभए थुप्रैले सत्याग्राह गर्ने छन् । यो कुरालाई बुझेर विद्यार्थी एक ठाउँमा आएर आन्दोलन गर्ने हो भने समाधान हुन्छ । यो कुरा विद्यार्थीहरुले बुझिसकेका छन् । त्यसैले अब गोविन्द केसीमात्रै होइन आमविद्यार्थी नै यसमा सचेत भइसकेका छन् ।

नेत्रविक्रम चन्दको पार्टी हावी भएको हो मेडिकल माफियालाई तह लगाउन ?
नागरिकको पक्षमा काम गर्न जो हावी भए पनि हुन्छ । यहाँ नेत्रविक्रम चन्दको पार्टी मात्रै किन ? तपाईं आफैले अभियान चलाउँदा हुन्छ । रातदिन यिनीहरुको मुटुमा ढ्याङग्रो ठोक्ने गरी तपाईंको एनआरएन रेडियो र प्राइम टेलिभिजनबाट बजाइदिनुस् न । जसरी अहिले पैसा फिर्ता गर्नुपर्छ भनेर हस्पिटल भर्ना भएका छन् । अर्को मुटु, दिमाग पनि हल्लियोस् । त्यसकारण सबै सचेत नागरिकले यो अनियमितताको विरुद्ध अभियान चलाउँदा हुन्छ ।

विद्यार्थीको मागलाई जोडेर धम्की त दिनुभएन नि ?
अहिले विप्लबको नाम जोडेर अनेक खालका आरोपहरु लगाइएको छ । त्यसैले सबै नागरिकहरु के अपिल गर्न चाहन्छु भने यो नितान्त सेतो कोट लगाएर मेडिकल विद्यार्थीहरु आफूलाई परेका मार विरुद्ध गरिएको जाहेज आन्दोलन हो । यो आमनागरिकको पक्षमा छ । यसमा कुनै पार्टीविशेष जोडेर अलमल्याउने, हिलो छ्याप्ने काम नगरियोस् । यसमा नेपाल विद्यार्थीं संघले साथ दिइरहेको छ । सत्तारुढ पार्टीको विद्यार्थी संगठनले पनि विज्ञप्ति निकालेको अवस्था छ । विद्यार्थीको आन्दोलनमा अरु व्यक्तिको नाम जोडेर गलत प्रचार गर्नुपर्ने आवश्यकता छैन । यसमा त प्रधानमन्त्रीले नै विशेष सम्बोधन गर्दा हुन्छ । उल्टै सँगै बसेको फोटो किन हाल्नु ।