प्रकाश दाहालबारे बाहिर नआएका केही तथ्य - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

प्रकाश दाहालबारे बाहिर नआएका केही तथ्य



काठमाडौँ-

प्रकाश दाहाल सानै उमेरदेखि नै राजनीतिमा सक्रिय रहेका एक पात्र हुन्, माओवादी जनयुद्द देखि नै भूमिगत राजनीतिमा होमिएका उनी पछिल्लो समय सम्म विभिन्न कारणले चर्चामै रहे ।

पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का एक मात्र पुत्र प्रकाश प्रचण्डका हरेक कार्यक्रम तथा भेटघाटहरुको कुशल व्यवस्थापन गर्ने, प्रचण्डको सुरक्षाको व्यवस्था मिलाउने, हरेक कार्यक्रमहरूको अपडेट सामाजिक सञ्जालसम्म मिलाउने गर्थे ।

असामयिक रूपमा भएको प्रकाशको निधनपछि सामाजिक सञ्जालमा समवेदनासहित विभिन्न टीकाटिप्पणीको भैरहेका छन् । बिहानको ५ बजे उनकी आमाले प्रकाशलाई उठाउन खोज्दा नउठेपछि सुरक्षाकर्मीको सहयोगमा नर्भिक अस्पताल पुर्र्याइएको थियो। अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको थियो।

२०३८ असार १७ गते जन्मिएका प्रचण्ड-पुत्र प्रकाश १६ वर्षकै उमेरमा २०५४ सालमा पार्टी सदस्यता लिएर राजनीतिमा होमिएका हुन्। २०५७ सालदेखि उनी पूर्णकालीन कार्यकर्ता भए। ०५७ सालदेखि नै उनी अध्यक्ष प्रचण्डको सचिवालयमा काम गर्न थाले।

जनमुक्ति सेनामा जाने इच्छा राखे पनि उनलाई पार्टीले तत्काल स्वीकार गरेन। ०६०/०६१ सालतिर उनी झन्डै एक वर्ष रुकुम-रोल्पातिर खटिए। सञ्चार विभागको जिम्मेवारी पनि उनलाई दिइएको थियो।

प्रचण्डको नेतृत्वमा सशस्त्र विद्रोह सुरु हुँदा दिदी रेणु र गङ्गासँगै प्रकाश राजधानीमा थिए। गोंगबुमा ६ कक्षामा पढ्दै गरेका प्रकाशसहित दिदीहरू समेतलाई प्रचण्डले भारत पुर्‍याए। ०५३ मा दुवै दिदीको विवाह एकैसाथ भएपछि उनी दिदी रेणुको घर पन्जाब गए।

त्यहीँ बसेर उनले पढाइ अगाडि बढाए। बुवाको सचिवालयमा काम गरे पनि उनले अध्ययनलाई निरन्तरता दिए। भारतमै उनले कक्षा १२ को औपचारिक शिक्षा पूरा गरे। नेपाल फर्केपछि रत्नराज्य क्याम्पसमा स्नातक तहमा भर्ना भए पनि उनले पढाइ पूरा गरेनन्।

शान्ति सम्झौताअघि प्रचण्डको अंगरक्षक भएर सँगसँगै हिँडेका प्रकाश विवादमुक्त भने कहिल्यै रहेनन्। व्यक्तिगत आचरण र बहुविवाहका कारण उनी विवादमा तानिए। पत्नीसँगको झगडा र सम्बन्ध विच्छेदका कारण पनि प्रकाशको चर्को आलोचना भयो।

पिता प्रचण्डका निकट मित्र पोष्टबहादुर बोगटीकी छोरी प्रभा बोगटीलाई छाडेर ०६४ माघ ३ मा पोखराकी सिर्जना त्रिपाठीसँग विवाह गरे प्रकाशले। सिर्जनाबाट पनि प्रकाशका एक छोरा छन्। विवाह दर्ता र छोराको जन्मदर्ता समेत नगरिदिएको भनेर आलोचित थिए उनी। औपचारिक रूपमा सम्बन्ध विच्छेद नगरी उनले तेस्रो विवाह विना मगरसँग गरे।

तत्कालीन एकीकृत नेकपा माओवादीको विद्यार्थी सङ्गठनमा रहेकी बिनासँगै २०६९ असार २१ देखि बेपत्ता भएपछि उनलाई पार्टीले कारबाही नै गरेको थियो। त्यसपछि उनी केही समय भारतको राजधानी नयाँ दिल्ली बसेका थिए। पार्टीले दुई वर्षसम्म साधारण सदस्यतासमेत नरहने गरी कारबाही गरेको थियो। बिनातर्फ उनका एक छोरा छन्।

राज्यकोषको पैसामा सगरमाथा चढ्दा उनको चर्को आलोचना भएको थियो। त्यही क्रममा उनी बिनासँग लहसिएका थिए।

यसबाहेक पनि कहिले प्रहरीको पोसाक लगाएर त कहिले बन्दुक बोकेर उनी विवादमा आइरहे। विपक्षी नेतामाथि सामजिक सञ्जालमा छुद्र टिप्पणी गर्नेदेखि अधिक मदिरा सेवनका कारण पनि उनी विवादित बनिरहे।

पूर्णकालीन कार्यकर्ता बनेपछि नै प्रचण्डको सचिवालयमा काम गरेका उनी बिनासँग विवाह गरेपछि निलम्बनमा परे। उनको जिम्मेवारी खोसियो। संविधानसभाको चुनावपछि २०७० माघदेखि भने पुन: उनलाई सचिवालयमा पठाइयो। त्यसयता उनले बुबा प्रचण्डकै सुरक्षा सहयोगीका रूपमा खटिँदै आएका थिए।

प्रकाशले गणतन्त्र दिवसका अवसरमा सरकारले दिएको सुप्रवल जनसेवाश्री पदक भने बहिष्कार गरे। उनले त्यो बेला फेसबुकमा वालमा ‘आफू गणतन्त्र ल्याउनका लागि सङ्घर्ष गरेको व्यक्ति भएको तर कुनै पदकका आकांक्षी नभएको’ स्पष्टीकरण दिएका थिए।