स्व. प्रकाश दाहालको परिचय बदल्ने एउटा लेख - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

स्व. प्रकाश दाहालको परिचय बदल्ने एउटा लेख



मेरो नाम प्रकाश दाहाल हो। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सदस्य। नयाँ परिचय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयको सदस्य हुँ। यसबाहेकका अन्य परिचय गौण हुन्। मेरा व्यक्तिगत सम्बन्धका आधारहरू यी परिचयका अगाडी गौण हुन्।

म माओवादीको निरन्तर लडिरहने एउटा योद्धा हुँ। यी प्राथमिक परिचयबाहेक जोडिएका अन्य परिचय मेरा लागि गौण हुन्। तर पूरै समाजले त्यसलाई प्रधान परिचय र मेरा सङ्घर्षका मैदानहरूमा दिएको योगदानलाई माध्यमिक परिचयका रूपमा अपव्याख्या गरिरहेका छन्। हो, म पुष्पकमल दाहालको छोरा हुँ। तर, म प्रचण्डको एउटा लडाकू र कार्यकर्ता हुँ। म पुष्पकमल दाहाललाई बुवाका रूपमा अगाडी उभ्याउँछु, प्रचण्डका अघि नेकपा माओवादी केन्द्रको एउटा सदस्यका रूपमा उभिएको हुन्छु।

समय चक्रका कारण म अध्यक्षको वरिपरि नै धेरै नै खटिएको थिएँ। जतिबेला अध्यक्ष प्रचण्डलाई राज्य र अन्तर्राष्ट्रिय जगतले पनि रेडकर्नर नोटिस जारी राखेको थियो। त्यस बेला उहाँको सुरक्षा अङ्गका रूपमा मैले लामो समय काम गरेको छु। उकाली ओराली, भन्ज्याङ चौतारी र विभिन्न युद्धमा मेरो उहाँसँग निरन्तर सहयात्रा छ।

हाम्रा लागि संविधानसभा, परिवर्तन हरेक जाति, वर्ग र समुदायको राजनीतिक उत्थान प्रधान हुँदाको लडाइ प्रधान हो। हामी युद्धकालमा पनि यही लडाइमा निरन्तर लागिरहेको थियौँ, जसका केही उपलब्धि भए त्यसको संस्थागत काम गर्नका लागि अहिले पनि लागिरहेका छौँ। नेकपा (माओवादी केन्द्र)को एउटा साधारण योद्धाका रूपमा म यी सबै कुरा गरिरहेको छु।

मलाई लाग्ने गरेको आक्षेपका पछाडि म दौडन चाहन्नँ। तर, यी आक्षेपहरू कुन नियतका आधारमा लागिरहेका छन् भन्ने कुरामा मेरो दृष्टि छैन भन्नेचाहिँ होइन। त्यसका विरुद्धमा मेरा प्रतित्रियाहरू मात्रै नआएका हुन्। शान्ति प्रक्रिया हुँदै नेपाली सरल राजनीति, मूल राजनीतिको केन्द्रबिन्दुमा आएपछि प्रचण्डलाई प्रहार गर्ने योजनाका आधारमा अनेक कोणबाट मेरो नाममा नकारात्मक टिप्पणी हुन थाल्यो।

स्मरण होस्, हामी पनि चन्द्रमाबाट झरेका एलियन होइन।  साधारण परिवारका मान्छे हौँ जो सधैँ साधारणको अधिकारका लागि निरन्तर लडिरहेको थियो। यसमा मेरो नाम जोडेर प्रचण्डमाथि किन प्रहार ? अथवा प्रचण्डको नाममा ममाथि किन प्रहार ?  जीवनको एउटा ऊर्जाशील समयमा मलाई आक्षेप लगाउने साथीहरूले राजनीतिक मुनाफा लिएर वा अन्य अवसरको उपभोग जसरी गरिरहेका थिए, म युद्धको मैदानमा थिएँ। हजारौँ सहादत पाएका योद्धाहरूको भिडमा बन्दुक बोकेर राज्य र तानाशाहीविरुद्धको अभियानमा सक्रिय भएको थिएँ।

यसलाई नजरअन्दाज गरी प्रकाश दाहालको परिचय पुष्पकमल दाहाल प्रचण्डको छोराका रूपमा मात्र गरिन थालियो। हो, म प्रचण्डको छोरा अवश्य हुँ। तर, त्यसबाहेक म माओवादीको निरन्तर सहयात्रामा जनयुद्धकालदेखि लागेको योद्धा पनि हुँ। मैले जतिबेला बन्दुक बोकेर जीवनलाई मृत्युको धारमा हिँडाएको थिएँ। त्यसबेला कोही कसैले प्रचण्ड वा प्रकाशको जीवनबारे चर्चा गहन रूपमा गरेन। तर, यो परिवेशमाथि मेरो केही विरोध वा समर्थन छैन।

समाजको व्याख्या गर्ने एउटा दृष्टि हुन्छ। मान्छेका व्यक्तिगत कुरामा कहिले सही र कहिले गलत हुन सकिन्छ। समाजको हेर्ने दृष्टिकोण र मान्छेको जीवनको दृष्टि फरक हुनसक्छ। त्यसमा प्रत्येक व्यक्तिका प्रश्नको उत्तर दिँदै वा खण्डन गर्दै हिँड्न सकिन्न। मैले त्यसो गर्नु पनि आवश्यक ठानिन तर यसको अर्थ यो होइन कि मेरो बारेमा हुने अनेक टिप्पणीसँग म जानकार छैन।

म जानकार छु भन्दैछु– ‘बुवा प्रधानमन्त्री बन्नु उहाँको राजनीतिक जीवनको चक्रले दिएको अवसर भएझैँ म त्यो सचिवालयमा उहाँको छोराका हिसाबले होइन, सहयोद्धाका हिसाबले भएको हुँ।’ मेरो विषयमा विभिन्न टिकाटिप्पणी गरी सामाजिक सञ्जाल र चियापसलहरू फोहोर बनाउने साथीहरूलाई एउटै प्रश्न छ,  ‘परिवर्तनका लागि हामी मर्न तयार हुँदा, म बन्दुक बोकेर हिँड्दा कहाँ थियौ साथी ? परिवर्तन यत्तिकै भएको होइन, परिवर्तनका लागि मृत्युलाई अँगालेर हिँड्न सक्नुपर्छ।’

अवसरसँग बाह्रैकाल नजिक हुने तर जब सङ्घर्ष गरेकाहरूले काम गर्ने मौका आउँछ त्यस बेला वाहियात कुरामा अल्झिने साथीहरूले तथ्यलाई केलाएर अघि बढ्नुहुनेछ भन्ने अझै विश्वास लिएको छु। मुलुक निर्माणका लागि जसले जहाँ जसरी टिप्पणी गरिरहेपनि मेरा यात्राहरू निरन्तर अध्यक्षको सहयोगमा अघि बढ्नेछ भन्नेमा शङ्का छैन। यसर्थ, मेरा विरोधमा अक्षरहरूको थुप्रो लगाउनेहरूसँग गुनासो गर्नुको साटो सुझाव दिन्छु– ती फगत शब्दहरूको थुप्रो सृजनात्मक कामका लागि उपयोग गरे कसो होला ?

जनप्रहार साप्ताहिकबाट