जब पार्टीको बैठकमै प्रकाशमानले शेरबहादुरलाई हप्काए - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

जब पार्टीको बैठकमै प्रकाशमानले शेरबहादुरलाई हप्काए



काठमाडौं- आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कमिटि बैठक निकै रोचक बन्यो । पार्टी कार्यालयमा बस्न नसकेर पार्टी सभापति शेरबहादुर देउवाको निजि निवास बुढानिलकण्ठमा बसेको बैठकमा नेताहरूले एकले अर्कोलाई मज्जैले पलपाल गरे ।

तोकिएको समयभन्दा करिव चार घन्टा ढिलो सुरु भएको आइतबारको केन्द्रीय कमिटी बैठकमा संस्थापन इतर पक्षले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्नको वर्षा नै गरे । पार्टीमा देउवाले एकलौटी गरेको आरोप लागिरहेका बेला नेताहरूले उनको कार्यशैलीको चर्को आलोचना समेत गरे ।

अन्य बैठकमा भन्दा रक्षात्मक देखिएका देउवाले एउटा प्रश्नको उत्तर दिन नपाउँदै नेताहरूले अर्को प्रश्न तेर्साएका थिए । पार्टी र सरकारमा पनि राम्रोसँग कार्य सम्पादन नगरेको भन्दै देउवाले चर्को आलोचनाको सामना गरेका छन् ।

बैठकमा १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी रहेका प्रकाशमान सिंहले देउवाको सबैभन्दा बढी आलोचना गरेका थिए । त्यतिमात्र होइन नेता सिंहले देउवालाई एकलौटी गरेको भन्दै हप्काएका थिए । उनले सरकार र देउवाको आलोचना गर्न थालेपछि बीचैमा रोक्न खोजेका थिए । तर सिंह रोकिएनन्।

मन्त्री चयनदेखि देउवासँग फायर बनेका सिंहले सरकार संचालनदेखि राजनीतिक संयन्त्रसम्मको विषय उचालेर देउवालाई काउन्टर गरेका थिए । आगामि निर्वाचन गठबन्धन मिलेर चुनाव लड्ने भन्ने विषयमा चर्चा बाहिर सुनिएको प्रसंग सिंहले के निकालेका थिए, देउवाले बीचमै रोके ।

देउवाले आफूहरुले चुनावमा सँगै लड्ने कुनै निर्णय नभएको मात्र बताएनन्, यस्तो कुनै सम्झौता वा सहमतिसमेत नभएको बताए । देउवाले यो विषयमा अझ लामो बोल्ने थिए होलान्, सिंहले बोल्न रोकिएनन् ।

सिंहले त्यसपछि देउवाले केही दिनअघि गठन गरेको रामचन्द्र पौडेल नेतृत्वको राजनीतिक संयन्त्रको विषयमा बोले । उनले यो संयन्त्र नचाहिएको मात्र बताएनन्, यो कम्युनिस्टको बलमा बनाइएको समेत आरोप लगाए ।

सिंहको यो प्रसंगमा पनि देउवाले जवाफ फर्काए । उनले भने, ‘यो संयन्त्र राष्ट्रिय सभा निर्वाचनसम्मका लागि मात्र हो ।’

कांग्रेस पार्टीभित्र पनि देउवाले समय नदिएको र क्रियाशिल सदस्यता विवाद समाधानमा पनि काम नगरेको आरोप सिंहले के लगाएका थिए, देउवाले यसबारे आफूले काम गरिरहेको बताए ।