प्रकाशमान सिंह काठमाडौँ १ बाट चुनाव नलड्ने - Himal Post Himal Post
  • ६ चैत्र २०८०, मंगलवार
  •      Tue Mar 19 2024
Logo

प्रकाशमान सिंह काठमाडौँ १ बाट चुनाव नलड्ने



नेपाली कांग्रेसमा नेतृत्वको पुस्तान्तरण हुनुपर्ने अडान लिएर अन्तिममा ढोका दिएका कांग्रेस नेता प्रकाशमान सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने भएका छन् । कांग्रेस महाधिवेशनपछि माहोल बिग्रिएको भन्दै उनले यस्तो निर्णय लिएको बताइएको छ ।

प्रकाशमान सिंह निकट स्रोतले दिएको जानकारी अनुसार आफ्नै क्षेत्रमा प्रतिकुल माहोल बनेको भन्दै उनले क्षेत्र नम्बर १ बाट चुनाव नलड्ने निर्णयमा पुगेका हुन् । कांग्रेसवृत्तमा नेता सिंहले ३ पटकसम्म जितेको निर्वाचन क्षेत्र नै परिवर्तन गर्ने चर्चा चलिरहेका बेला उनी यस्तो निर्णयमा पुगेको बताइएको छ ।

स्रोतका अनुसार महाधिवेशनपछि नेता सिंहले आफूनिकट नेताहरूलाई राखेर यसबारे समिक्षा गरेका थिए । उक्त समीक्षामा काठमाडौंको नेवार समुदाय बाहुल्य रहेका कारण सिंहले आफ्नो क्षेत्र नछाड्न सुझाव दिएका थिए । तर महाधिवेशनमा आफ्नो मुद्दा छाडेर देउवालाई साथ दिएका कारण माहोल प्रतिकुल बनेको बताएका थिए ।

उक्त समीक्षामा नेताहरूले देउवालाई साथ दिएपछि सामाजिक संजालमा पनि काठमाडौँ क्षेत्र नम्बर १ बाटै सबैभन्दा बढी आक्रोश ब्यक्त भएको बताएका थिए । महाधिवेशनपछि प्रकाशमान सिंहविरुद्ध सामाजिक सञ्जालमा मतदाताहरू खनिएका थिए । सञ्जालमा एकपछि अर्को आक्रमणमा परेपछि नेता सिंहले कमेन्ट सेक्सन नै अफ गरेका थिए ।

समीक्षामा उपस्थित धेरैजसोले प्रकाशमानले गल्ती गरेको र मुद्दा छाडेका कारण आफूहरूको राजनीति पनि धरापमा परेको बताएका थिए । उक्त छलफलमा क्षेत्र नम्बर १ छाडेको खण्डमा चुनाव लड्न सहज हुने क्षेत्रबारे पनि चर्चा भएको बताइएको छ ।

क्षेत्र नम्बर १ मा असहजता बढेको अवस्थामा सिंहका लागि उपयुक्त क्षेत्र छानेर क्षेत्र फेर्नुपर्ने अवस्थामा काठमाडौं ८ लागि सहज हुने चर्चा भएको बताइएको छ । विगतमा सो क्षेत्रमा कांग्रेसबाट स्व.नवीन्द्रराज जोशी उम्मेदवार बनेका थिए । नेता सिंहले पनि यो क्षेत्र अहिक सहज हुने बताएका थिए ।

केहि सहभागीले भने १४ औं महाधिवेशनमा सिंह पत्नी सिर्जना र छोरा प्रभासमानले महाधिवेशन प्रतिनिधि जितेको क्षेत्र नम्बर ७ मा सहज हुने बताएका थिए ।

महाधिवेशनमा संस्थापन इतरबाट पुस्तान्तरणको मुद्दा लिएर सभापति लडेका उनले पहिलो चरणको चुनाव सकिएपछि नाटकीय रूपमा देउवालाई समर्थन गरेका थिए । संस्थापन समूहमा सहमति बनाउन लगातार गरिएको छलफलमा पनि आफै बाधक बनेका नेता सिंहले झिनो मत ल्याएका थिए ।

आफ्नो समूह छाडेर एकाएक देउवाको पक्षमा उभिएपछि उनी निकै आलोचित बनेका थिए । त्यसको फलस्वरूप नेता सिंह आफ्नो क्षेत्रबाट समेत चुनाव लड्न नसक्ने अवस्थामा पुगेका हुन् । त्यसयता भएका सार्वजनिक कार्यक्रमहरूमा मतदाताको चाहना र पार्टीमा एकलौटी नगर्ने देउवाको वचन अनुसार आफूले देउवालाई समथन गरेको बताउने गरेजा छन् ।

तर सभापतिका लागि भएको दोस्रो चरणको निर्वाचन अगाडी आफ्ना मतदातालाई भेला पारेर देउवासँग राम्रै लेनदेनको सहमति भएको स्रोतले दाबी गरेको थियो । उनले आफ्ना निकटका कार्यकर्ताहरूले अवसर पाउनेदेखि आगामी निर्वाचनपछि आफूलाई प्रधानमन्त्रीको रूपमा देउवाले अगाडी सार्ने सम्झौता भएको बताएका थिए ।

उनी निकट नेताहरूले पनि प्रकाशमान सिंह केहि नपाई समर्थन गर्ने खालको नेचरको व्यक्ति नभएको बताउने गर्छन ।