नवलपरासीको प्रतापपुरमा वृहद स्वास्थ्य शिविर - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

नवलपरासीको प्रतापपुरमा वृहद स्वास्थ्य शिविर



 झविन्द्र देवकोटा/ नवलपरासी । नवलपरासीको प्रतापपुर नगरपालिकामा शनिबार वृहद निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण कार्यक्रम गरिएको छ ।

भारतीय सीमानाका नजिकै रहेको तथा स्वास्थ्य सेवाको पहुँचको अभाव रहेको प्रतापपुरमा बुटवलमा रहेको इनरव्हील क्लव अफ बुटवलले स्वास्थ्य शिविर गरेको हो । लुम्विनी सिटी हस्पिटल र नेशनल प्याथ ल्याव बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा प्रतापपुर र त्यस आसपासका गाउपालिकाहरुका एक हजार पाँच सयबढीले शिविरबाट स्वास्थ्य उपचार सेवा लिएका थिए ।

शिविरमा मेडिकल, हाडजोर्नि, स्त्री तथा प्रसुती, नाक, कान, घाटी लगायतका समस्या भएकाले शिविरबाट सेवा लिएका थिए भने उनीहरुले औषधी समेत निःशुल्क वितरण गरिएको थियो ।

इनरव्हील क्लव अफ बुटवलका अध्यक्ष सञ्जीला कसजुको अध्यक्षतामा भएको शिविर उद्घाटन कार्यक्रममा प्रदेश सांसद अजयबहादुर शाहि, लुम्विनी सिटी हस्पिटल बुटवलका प्रमुख लोकनाथ भूषाल, बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, कार्यक्रम संयोजक रुपा कार्कि भण्डारी, सचिव माया भट्टराई लगायतले स्वास्थ्य सेवाको पहुँच कम भएका ग्रामिण क्षेत्रमा रहेका बासिन्दालाई स्वास्थ्य उपचारको सहज र निःशुल्क सेवा दिएर आयोजकले ठुलो गुन लगाएको प्रशंसा गर्नुभयो ।

लुम्बिनी सीटि हस्पिटल तथा नेशनल प्याथ ल्यावका दुई दर्जन चिकित्सक, प्राविधिक तथा स्वास्थ्यकर्मीहरुको टोलीले सेवा दिएको शिविरबाट रिफर भएका विरामीलाई लुम्विनी सिटीमा उपचारमा २५ प्रतिशत छुट दिइने प्रमुख लोकनाथ भूषालले जानकारी दिनुभयो । शिबिरमा बिरामीहरुलाई अल्ट्रासाउन्ड र प्रयोगशालाको सुबिधा समेत दिइएको थियो ।