प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै: तनावग्रस्त बन्दै देश - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रत्येक घण्टामा १४ संक्रमित थपिँदै: तनावग्रस्त बन्दै देश



काठमाडौं । नेपालमा प्रत्येक एक घण्टामा १४ जना नयाँ संक्रमित थपिने गरेका छन् । पछिल्लो एक सातालाई आधार मान्दा एक घण्टाको अवधिमा १४ जना संक्रमित थपिने गरेका छन् । अहिले दैनिक ३ सय ३५ नयाँ संक्रमित थपिँदै आएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो एक सातामा ३ हजार ४२ जनामा संक्रमण देखिएको छ ।

यस्तै, प्रत्येक एक घण्टामा ३ सय ५८ जनाको कोरोना परीक्षण हुने गरेको छ । पछिल्लो एक सातामा ६० हजार २ सय २६ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । बुधबार मात्रै १० हजार ४ सय ८१ जनाको कोरोना परीक्षण गरिएको छ ।

पछिल्लो केही दिनयता कोरोना परीक्षण दर बढेको छ । गत बिहीबार ६ हजार ६ सय २२, शुक्रबार ७ हजार ९ सय २६, शनिबार ७ हजार ७ सय ८८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको थियो ।

यस्तै, गत आइतबार ८ हजार ५ सय १५, सोमबार ८ हजार ४ सय ३२, मंगलबार १० हजार ४ सय ६२ जनाको कोरोना परीक्षण गरिएको थियो ।

यस्तै, बुधबार काठमाडौं उपत्यकामा मात्रै थप १ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १ सय ११, ललितपुरमा २१ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएको प्रशान्त वलीले राजधानीमा लेखेका छन् ।

काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ४ सय ५४ पुगेको छ । काठमाडौंमा १ हजार १ सय ६९, ललितपुरमा १ सय ८० र भक्तपुरमा १ सय ५ संक्रमित पुष्टि भएका छन् ।

यस्तै, बुधबार देशभर ४ सय ८४ संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । यस्तै, ६४ जना संक्रमित निको भएका छन् । निको हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।

कसरी जोगिने ?

  • मास्कको उचित प्रयोग गर्ने
  • भौतिक दुरी (कम्तीमा दुई मिटर) कायम गर्ने
  • सकभर घरबाहिर ननिस्कने
  • साबुनपानीले नियमित हात धुने
  • कुनै वस्तु छोएमा सेनिटाइजर प्रयोग गर्ने
  • हातले नाक, मुख, आँखा वा शरीरका अंग नछुने
  • संक्रमणको कुनै लक्षण देखिएको महसुस भए होम आइसोलेसनमा बस्ने र नजिकैको अस्पताल जाने