रोकियो 'प्रेम गीत ३' को रिलिज, अनिश्चित बन्यो प्रदर्शन - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

रोकियो ‘प्रेम गीत ३’ को रिलिज, अनिश्चित बन्यो प्रदर्शन



काठमाडौं : बहुप्रतिक्षित नेपाली फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन अनिश्चितकालका लागि स्थगित भएको छ। फागुन १३ देखि प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको हो।

सोमबार फिल्मका निर्देशक तथा निर्माता सन्तोष सेनले फेसबुकमार्फत फिल्म तोकिएको मितिमा प्रदर्शन नहुने जानकारी दिएका हुन्। भारतका विभिन्न राज्यमा कोरोना संक्रमण बढ्दै गएपछि फिल्म हलहरू पनि बन्द हुँदैछन्। कोरोना त्रासका कारण भारतीय फिल्महरूले प्रदर्शन स्थगित गरिरहेका छन्।

प्रेम गीत ३ का भारत बजारका वितरक समूहले दिएको सुझावअनुसार अहिले फिल्मको प्रदर्शन रोकिएको सेनले जनाएका छन्। उनले लेखेका छन्, ‘नेपाल,भारत अथवा विश्वभरि अलगअलग मितिमा प्रदर्शन नगरी एक साथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव स्वीकार गर्दै अनिश्चितकालका लागि प्रदर्शन मिति स्थगित गरेका छौं।’

सेनले फिल्मको प्रदर्शन स्थगितको समाचार सम्प्रेषण गर्दा दु:ख लागेको पनि जनाएका छन्। २०७६ को चैत मै प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। सेन र छेतेन गुरुङको संयुक्त निर्देशनमा बनेको फिल्ममा प्रदिप खड्का र क्रिस्टिना गुरुङ केन्द्रीय भूमिकामा देखिँदैछन्।