प्रेमको प्रतीक रातो गुलाब - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

प्रेमको प्रतीक रातो गुलाब



यलु जोशी

काठमाडौँ, फागुन ३ गते ।  फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे ।  युवक/युवतीले आपसमा प्रेमको पहिलो प्रस्ताव राख्ने तथा प्रेममा बाँधिइसकेकाहरूले आपसमा उपहार आदानप्रदान गरेर प्रेम सम्बन्ध अझ प्रगाढ बनाउने दिन ।

युवापुस्ता महिनौँ वा वर्षौँदेखि गर्न नसकिएको प्रेम प्रस्ताव गर्न यस दिनलाई कुरेर बस्ने गरेको पनि पाइन्छ ।  पछिल्ला वर्षमा नेपालमा पनि युवापुस्ताले भ्यालेन्टाइन डेलाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन थालेका छन् ।  इरुराइड कलेजका रुजेस महर्जनले मन पराएको व्यक्तिलाई ‘लभ एक्सप्रेस’ गर्ने अवसर भ्यालेन्टइन डेले दिने गरेको धारणा व्यक्त गर्नुभयो ।

महर्जन यसपालि मुख खोल्ने तयारीमा हुनुहुन्छ ।  ‘चिनजान भएको तीन वर्ष बितिसकेछ, यसपालि भने कुरा फाइनल गर्छु’, आफ्नो मनको कुरो सुनाउनुभयो ।  “तीन वर्षअघिदेखि एकअर्कालाई राम्रोसँग चिनेका रुजेस र सरिता महर्जनको परिचयबाट बनेको सम्बन्ध अझै पनि प्रेममा परिणत हुन पाएको छैन ।  अब जे गर्छ भ्यालेन्टाइन डेका दिन मैले दिने रातो गुलाबले गर्छ”, उहाँले भन्नुभयो ।

सगरमाथा मल्टिपल कलेजमा १२ कक्षा अध्यनरत शैलेसा कार्कीको भनाइ पनि फरक छैन ।  उहाँले पनि यो ‘भ्यालेन्टाइन डे’ का अवसरमा आफूले मन पराएको प्रेमीलाई प्रेम प्रस्ताव राख्ने सोचमा हुनुहुन्छ ।  कार्की भन्नुहुन्छ, ‘यस दिन नो भन्न गाह्रो हुन्छ होला, त्यसैले म प्रेम प्रस्ताव राख्छु । ’
‘भ्यालेन्टाइन डे’ को रौनक नेपालमा एक दशकयता अत्याधुनिक प्रविधिले ह्वात्तै बढाएको छ ।  नजिकै भए भेटेर रातो गुलाब र ग्रिटिङ्स कार्ड थमाउने, टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस त छँदैछ ।  यतिमात्र कहाँ हो र, सञ्चारमाध्यम स्वदेशी तथा विदेशी टेलिभिजन च्यानल, सयौँ एफएम रेडियो र छापाहरूको माहौल पनि भ्यालेन्टाइन डेकै पक्षमा बोलिरहेको हुन्छ ।

गिफ्ट सप र फ्लावर सप भ्यालेन्टाइन डेका लागि प्रेम अङ्कित सामग्रीले पूरै सिँगारिएका छन् ।  तारे होटल, रेस्टुराँ प्रेममय बनाएर सिँगारिएका छन् भने सिनेमा हलमा पनि युवक÷युवतीको अरू बेलाभन्दा बढी नै चाप देखिन्छ ।  राजधानीका विभिन्न क्षेत्रमा रहेका पार्कको पनि दिन फिरेको देखिन्छ ।

रातो गुलाब

प्रेमको प्रतीक मानिने रेड रोज अर्थात् रातो गुलाब ।  ‘ह्याप्पी भ्यालेन्टाइन डे’, ‘आइ लभ यु’ भन्नलाई यही रातो गुलाब चाहिन्छ ।  जुन भावना शब्दमार्फत व्यक्त गर्न वर्षौंसम्म सकिँदैन, गुलाबको फूल काफी हुन्छ ।  प्रेमका भाव झल्कने कुरा लेखिएको प्लास्टिकले बेरिएको उक्त फूल नै हिजोआज बढी प्रयोगमा आउँछ ।

खिचापोखरीस्थित हलमार्कका बिक्रेता रूपेश कार्कीले वर्ष दिनमा सबैभन्दा बढी व्यापार भ्यालेनटाइन डेका अवसरमा हुने बताउनुभयो ।
यस अवसरमा रातो गुलाफ तथा ‘आई लभ यु’ लेखिएको विभिन्न उपहार पोस्टकार्ड, पुतली, प्रेम अङ्कित कप, खेलौना, गिफ्ट बास्केट, परफ्युम, चकलेट जस्ता सामानको बढी बिक्री हुने उहाँले जानकारी दिनुभयो ।  दरबारमार्गस्थित आर्चिज ग्यालरीमा सामान खरिद गरिरहनुभएका रमेश श्रेष्ठ भन्नहुन्छ, ‘प्रेम गर्ने शैली परिवर्तन भएकाले प्रेमिकाका लागि उपहार खरिद गर्दैछु । ’ ‘प्रेमको यस पर्व आफैँमा सुखद क्षण बनेर आउँछ तर यस दिन गरिने प्रेमप्रस्तावको शैली शिष्ट हुनुपर्छ’, रमेश भन्नुहुन्छ ।

प्रणय दिवसको शुरू भ्यालेन्टाइन डेको सुरुवात सन् २६९ मा रोमनबाट शुरू भएको मानिन्छ ।  तेस्रो शताब्दीका रोमन शासक सम्राट क्लाउडियस दोस्रोका पालामा देशवासीलाई सैन्य भर्तीका लागि उर्दी जारी भयो ।  नारीसँगको सम्बन्धका कारण सैनिक कमजोर हुने ठहर गर्दै सम्राट्ले प्रेम र विवाहमा रोक लगाए ।  तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यस अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे र थुप्रै सैनिकलाई वैवाहिक सूत्रमा बाँधिदिए ।

आफ्नै अभियानविरुद्घ गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजायँ दिए ।  भ्यालेन्टाइन पादरी जेलमा छँदा जेलरकी छोरी नै भेट्न आइरहन्थिन् ।  मृत्युदण्ड पाउनु केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षर गरेको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका अर्थात् जेलरकी छोरीलाई थमाए ।  भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइयो ।  प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा फेब्रुअरी १४ लाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।