पृथ्वी नारायण शाहको बलिदान र नेपाली पहिचान « Himal Post | Online News Revolution
Logo

पृथ्वी नारायण शाहको बलिदान र नेपाली पहिचान



पुष्प थापा/जर्मनी

हामी नेपाली स्वदेश तथा विदेश संसारको जुनसुकै कुनामा रहेपनि हाम्रो देश नेपाल र हामी नेपाली पहिचानबाट परिभाषित र परिचित हुने गर्दछौ। यसकारण सम्पूर्ण नेपालीहरूको आवाज सधैँ नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको एवम् राष्ट्रिय एकताको पक्षमा एकताबद्ध हुने गर्दछ।

राष्ट्रभक्ति र देशप्रेमी सबै नेपालीहरूको एकताका सूत्रधार तथा विशाल नेपालको निर्माणकर्ता पृथ्वीनारायण शाहको प्रेरणाको सन्देशले स्वाभिमानी वीर गोरखाली सम्पूर्ण नेपालीहरूको उत्साह र उमङ्गको साथ राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती हरेक पौष २७ गते राष्ट्रिय चाडको रूपमा पृथ्वी नारायण शाहको स्मरणमा श्रद्धा सुमन अर्पण गर्दै गर्दा राष्ट्रिय एकताको अझ धेरै ऊर्जाशील शक्ति प्रदान गरेको छ।

विश्व महान् चित्रमा नेपालको अस्तित्व र संसार भरी नेपालीहरूको महत्त्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्र निर्माता पृथ्वी नारायण शाह नै हुन। यदि नेपाल देश नभएका भए हामी अहिले नेपाली पहिचानले परिचित हुन सक्ने थियौ।

त्यसैले हरेक वर्ष पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवस हर्षोल्लास पूर्वक मनाइन्छ । यो दिन पृथ्वी जयन्ती मात्र नभई सिङ्गो राष्ट्रको राष्ट्रिय एकता दिवस तथा नेपालको पहिचान अनि नेपालीपनाको बिगुल फुकिएको दिनको रूपमा पनि स्मरण गरिन्छ।

पृथ्वी नारायण शाहले सम्पूर्ण नेपालीहरूलाई औँला माथि उठाएर राष्ट्रिय एकताको सन्देश दिएको सालिक तथा तस्बिरले आम नेपालीहरूलाई हरेक पल एकताको शिक्षा दिई रहेका छ। यस्ता तेजस्वी राष्ट्र निर्माता पृथ्वी नारायण शाह विक्रम संवत् १७७९ पौष २७ मा गोरखाका राजा पिता राजा नरभुपाल शाह र माता कौशल्यावती देवीको कोखबाट प्रथम पुत्रको रूपमा जन्म भएको थियो। ।

नेपालको एकीकरणको क्रममा स-साना राज्य रजौटामा बाँडिएको बाइसे तथा चौबिसे राज्यहरूलाई आधुनिक नेपालको खाकामा एकत्रित गरी विशाल नेपालको राष्ट्रनिर्माण गर्ने पृथ्वी नारायण शाह नै थिए । त्यसैले पृथ्वी नारायण शाहको सम्झनामा हरेक साल संसार भरका नेपालीहरूले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गर्दछन्।

राष्ट्र निर्माता पृथ्वीनारायण शाह विक्रम संवत् १७९९ साल चैत्र २५ गते, राम नवमीका दिन २० वर्षको उमेरमा गोर्खामा राज्यारोहण गरेका थिए ।पृथ्वी नारायण शाहको समयमा लिखित कानुनी व्यवस्था नभए पनि प्रचलन र परम्परा तथा मानवीय संवेदनाका आधारमा राज्य सत्ता चल्ने गरेको इतिहासकारहरूले बताउने गर्दछन्।

अहिले जस्तै मौलिक अधिकारको अवधारणा र कुनै सङ्गठित शैक्षिक संरचनाहरू भएको पाईदैन। तर पनि त्यस समयमा ज्ञान अनुसार धर्म, कर्मकाण्ड तथा सामाजिक मानसम्मान र सामुदायिक शिष्टाचारका आधारमा राम्रो-नराम्रो छुट्टौने गरिन्थ्यो ।प्रजातान्त्रिक समाजवादको विकास भएको पाईदैन। पुरातनवादी सोच थियो। औपचारिक रूपमा अर्थ शास्त्रको ज्ञान नभए पनि पृथ्वी नारायण शाहको चत्तुराई, कुशल नेतृत्वको कारणले राजनीतिक रूपमा त्यो अत्यन्त स्थिर राज्य व्यवस्था थियो ।

गोर्खा राज्य आर्थिक रूपमा सम्पन्न नभएको कारणले छिमेकी राज्यहरूसित लड्न सक्ने क्षमता पनि थिएन। तर संसार साम्राज्यवादीहरूको बिस्तारवादको चपेटामा परि सकेको थियो।पृथ्वी नारायण शाहलाई एउटा ठुलो चुनौतीपूर्ण प्रश्न र नेपालको एकीकरण गर्ने महत्त्वाकाङ्क्षी अवसर पनि थियो।

विक्रम संवत् १८०० मा गोर्खाका राजा पृथ्वीनारायण शाहले नुवाकोटको युद्धमा पराजयको सामना गर्नुभएकाले आवश्यक हातहतियारहरू संकलनार्थ बनारस पुगे। पिता नरभूपालको पुण्य प्राप्त गरून् भनी काशीको यात्रा गरी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्रमा परिवर्तन गरे। सोही बेलामा तीर्थ गर्न भनी गएका जाजरकोटका राजा हरि शाहसँग उनले राज्य विस्तार गर्दा गोरखा र जाजरकोटले एक अर्कालाई वाधा र कुभलो नचिताउने कुराहरू बारे सन्धि गरे।

बनारसको भ्रमण गरेको अवस्थामा विश्वनाथको मन्दिर मुसलमान सम्राट औरंगजेवले भत्काएपछि भग्नावशेषको अवस्थामा नै थियो । त्यसले पृथ्वीनारायण शाह धेरै चिन्तित थिए । उता ब्रिटिस साम्राज्य इष्ट इन्डिया कम्पनीले भारतका विभिन्न राज्यमा सनातन धर्म र संस्कृतिको नास गराएर इसाई धर्म लाद्न हिन्दुहरूलाई आक्रमण गर्ने, मार्ने, मन्दिर भत्काउने, धम्क्याउने अंग्रेजले अनेकौँ अत्याचारहरू गरेको देखेपछि हिमवतखण्ड क्षेत्रलाई जोगाउन पृथ्वीनारायण शाहले हिमवतखण्डका हिन्दुराज्यहरुलाई एकीकरण गर्ने जागृत भएका थिए।

नेपालको एकीकरण गर्ने उद्देश्यबाट नै प्रेरित भई पृथ्वीनारायण शाहले बनारसबाट हातहतियार बनाउने कारखानाको निरीक्षण गरी हातहतियार बनाउने र मर्मत गर्ने मुसलमान कालिगड, केही हातहतियार र मुसलमान योद्धाहरू समेत गोर्खामा ल्याएका थिए भन्ने इतिहासमा पढ्न पाइन्छ।

पृथ्वीनारायण शाहले नुवाकोटको पहिलो पराजित पछि दोस्रो पटक वि.सं १८०१ मा कालु पाण्डेको सेनापतित्वमा करिब हजार जना फौजले नुवाकोटमाथि हमला गरी नुवाकोटमाथि विजय प्राप्त गरे।

नुवाकोट गोरखालीहरूको कब्जामा भएकाले नुवाकोटका सिपाहीहरू भागी वेलकोटमा अड्डा जमाई बसेकाले कालु पाडेको तत्काल हमला नगर्ने सल्लाहलाई उपेक्षा गरी पृथ्वीनारायण शाहले वेलकोटमा हमला गरे।

पृथ्वीनारायण शाहको काठमाडौँ उपत्यका र पूर्वी क्षेत्र विजय गर्ने इच्छा रहेकाले आफ्ना प्रवल विरोधी शक्ति लमजुङका राजा रिपुमर्दन शाहसँग विसं १७९९ मा एक मैत्रीपूर्ण सन्धि गरेको पनि इतिहासकारहरूको भनाई छ उक्त सन्धि अनुसार दुवै राज्यबिच मैत्री सम्बन्ध कायम गर्ने कास्कीको अर्घामाथि कब्जा गर्न सफल भएमा त्यहाँको काठ कास्कीलाई दिने आदि शर्तनामा उल्लेख थियो।

नेपालको एकीकरण गर्न पृथ्वी नारायण शाह काठमाडौँ र गोरखा बिचमा पर्ने नुवाकोट भू-भागलाई जितेर काठमाडौँमा प्रवेश गरेका थिए। काठ्माण्डाैको चन्द्रागिरि डाँडाबाट जब काठमाडौँलाई नियालेका थिए। त्यस क्षणमा काठ्माण्डाैको सौन्दर्यताले पृथ्वी नारायण शाहलाई लालायित बनाएको थियो ।

रणनीतिका कौशल र कुशल नेतृत्व भएका पृथ्वी नारायण शाहले इन्द्रजात्राको दिन काठ्माण्डौ माथि विजय हासिल गरे भने कुशल रणनीति लगाएर क्रमशः ललितपुर, भक्तपुर, कीर्तिपुर अनि अन्य भू-भागहरू जितेका हुन।

पृथ्वी नारायण शाहले भुरे टाकुरे बाइसे चौबिसे राज्य तथा क्षेत्रहरूलाई एकीकरण गरी पुरै नेपालको राजवंशिय राज्यमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरु गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिस्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भयो। पछि नेपाल अङ्ग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपाल अधीनस्थ थियो।

नेपाल विश्वको प्राचीनतम मुलुकमध्ये एक भएकोले हामी सम्पूर्ण नेपालीहरू गौरव महसुस गर्दछौ। नेपाल उपत्यका ऐतिहासिक कालदेखि नै हिमवत्खण्डमा अलग सांस्कृतिक पहिचानयुक्त रहँदै आएको छ । इसापछिको तेस्रो शताब्दीसँगै लिखित इतिहास पाइएदेखि लगातार काठमाडौँ समग्र हिमवत् खण्डको सांस्कृतिक राजधानी रहँदै आएको हो । तत्कालीन समयका अति प्रभावशाली लिच्छवि राजाहरूको पतन पछि क्रमशः विभिन्न सानाठूला राज्यहरू बन्दै र भत्कँदै पनि गए ।

पृथ्वी नारायण शाहले काठमाडौँलाई राजनीतिक राजधानी बनाई यहाँको कला,संस्कृतिको इज्जत-आमद, वैभव र उच्चतम मर्यादालाई आत्मसात् गरेको पाइन्छ। हिन्दु र बौद्धको प्राचीन सभ्यतालाई समानान्तर विकास गरी आपसी सद्भाव बढाउन पृथ्वी नारायण शाहको आधुनिक तथा बहुआयामिक र राजनीतिक दुरदर्शिता एवम् दीर्घाकालीन एकीकरणले राजा पृथ्वीनारायण शाह महत्त्वाकाङ्क्षा मात्र थिएन । तत्कालीन अवस्थाका वस्तुगत परिस्थितिहरूलाई पनि विद्यमान गर्न सक्ने दूरदर्शी परिपक्का राजा थिए।

तत्कालीन बेलायती प्रधानमन्त्री रोबर्ट वालपोल धेरै महत्त्वाकाङ्क्षी साम्राज्यवादी स्वभावका र बेलायतको बढ्दो सैन्य शक्तिले त्रसित बनाएको थियो । रुसका राजा (जार) पिटर द ग्रेटले राज्यमा ठुलो भूमिका पाएको अर्थोडक्स चर्चको सुधार गर्न थालेका थिए । तथापि, रुस र पर्सियाबीच युद्ध सुरु भइसकेको थियो ।

अफगानहरूले त्यस बेलाको शक्तिशाली राष्ट्र इरानलाई जितिसकेका थिए । चीनका कांशी बादशाह भर्खर बितेका थिए । विश्वको यस्तो राजनीतिक परिस्थितिमा पृथ्वी नारायण शाहको उदय भएको थियो। अङ्ग्रेज र स्पेनीहरूबीचको युद्ध अर्को ठुलो घटना थियो ।

पृथ्वीनारायण शाह किशोर उमेरमा हुँदा रुस र टर्कीबिच चारवर्षे घमासान युद्ध सुरु भइसकेको थियो । चीनका प्रभावशाली सिङ लङ बादशाहको राज्य विस्तारको कार्यक्रम धेरै बलियो थियो। यता हिन्दुस्तानमा मुगलहरूको बिजोगले राज्यहरू टुक्राटुक्रा हुँदै थिए । पर्सियाका नादिर शाहको आक्रमणबाट मोहम्मद शाह निकै पीडित थिए । युरोपमा प्रोटेस्टेन्ट र क्याथोलिकबीच पटक-पटक युद्ध भए जस्तै हिन्दुस्तान पनि मुस्लिम र हिन्दु राज्यहरूबिच भिड्न सुरु गरिसकेका थिए । चतुर अङ्ग्रेज तथा फ्रान्सेलीहरू हिन्दुस्तानमाथि आधिपत्य स्थापित गर्ने तयारीमा जुटिसकेका खेलमा अङ्ग्रेज महा चतुर देखिए ।

राष्ट्र निर्माता पृथ्वीनारायण नयाँ नेपाली मुलुकका एकीकरणकर्ता मात्र नभई आफ्नै नेतृत्वमा जिन्दगीको अन्तिम महत्त्वपूर्ण लडाइँ समेत सन् १७७३ मा लडेको देखिन्छ । करिब ४६ वर्षको उमेरमा काठमाडौँमा राजधानी सारेपछि पृथ्वीनारायण शाहमा देखिएको राजनीतिक कौशलले उनको परिपक्वता दर्साउँछ ।

उनले दिएका ‘दिव्योपदेश’ र उनका बारेमा लेखिएका ग्रन्थहरूले यसबारे प्रकाश पार्छन् । उनले पुनः एकीकृत नेपाललाई पाको राजनेताका रूपमा बहुजाति र बहुभाषी सम्पूर्ण नेपालीहरूको नेपाल एउटा साझा फूलबारीका रूपमा देख्न चाहे ।

हिमवत्खण्डको असंलग्न परराष्ट्र नीतिको सूत्रधार उनै भए । उपनिवेशवादविरुद्ध राष्ट्रिय सुरक्षाको अवधारणा उनीमार्फत नै आयो । एकीकरणमा परेका अधिकांश भुरेटाकुरे राज्यलाई उनले स्वशासन दिए । आफ्नो र अन्य क्षेत्रका फौजलाई नेपाली फौजमा परिणत गरी राष्ट्रिय सेनाको निर्माण एउटा ठुलो प्रयोगको उपलब्धि थियो ।

आन्तरिक पुँजी निर्माणका लागि उद्योग र वाणिज्य क्षेत्रमा उनीद्वारा प्रतिपादित नीतिहरू आज पनि त्यत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छन् । नव एकीकृत देशको सामूहिक क्षमतामै त्यसपछिका उत्तर तथा दक्षिण दुवैतर्फ नेपालले पटक पटक लडाइँ लडेको थियो । यी लडाइँले नै नेपाललाई सम्पूर्ण रूपमा एक ढिक्का पारेको थियो । सबै जातजाति धर्म र क्षेत्रलाई साथमा लिएर नेपाली पहिचान र नेपाली राष्ट्रवादको शिल्पकार पृथ्वीनारायण शाहले नै हुन् भन्नेमा कुनै विवाद नै छैन ।

सन् १८५८ देखि १९४७ का बिच उपनिवेश उन्मुख अङ्ग्रेजहरूले यस क्षेत्रका धेरैजसो राज्यलाई आफ्नो नियन्त्रणमा लिए । उपनिवेश नै नभने पनि अङ्ग्रेजको डरले करिब ५ सय ६२ वटा बाइसी-चौबीसी राज्यहरूले अङ्ग्रेजलाई कूत बुझाउँथे ।

यो परिस्थितिलाई अध्ययन गर्ने हो भने पृथ्वीनारायणले निर्माण गरेको नेपालले आफ्नो स्वतन्त्रता मात्र कायम राखेन, यसले ब्रिटिस साम्राज्य र शक्तिशाली चिनियाँहरूसँग जटिल कूटनीति लडाइलाई समेत विजय हासिल गरेको देखिन्छ।

पृथ्वी नारायण शाहको व्यक्तिगत योग्यता, क्षमता, कार्यकुशलता र चरित्रमाथि नै धेरै तर्कबितर्क, टीकाटिप्पणी र विरोधी पनि गर्नेहरू समाजमा कहिलेकाहीँ कतै देखिन्छ कतिपयले पृथ्वीनारायण शाहलाई साम्राज्यवादको नाइके र विस्तारवादी निरङ्कुश शासक भनेका छन् भने कतिपयले एकलौटी हिन्दु धर्मलाई जनतामा लाद्ने क्रूर शासक पनि भनेको कहिले काहीँ यताकता उक्कल झुक्कल आउने गर्दछ।

त्यस्तै जातीय शासनलाई उनले भताभुङ्ग पारेको पनि कतिपयको आरोप छ । उनको पालादेखि नै विभिन्न जनजातिले राज्य गुमाएको पनि भनिएको छ । एकीकरणको लडाइँ बर्बरतापूर्ण थियो भन्ने मान्यता पनि व्यक्त गरेको देखिन्छ । अग्रेजले प्रकाशित गरेका सामग्रीका आधारमा हेर्दा पृथ्वीनारायणले नेपाललाई ‘असली हिन्दुस्तान’ बनाउन खोजेको आरोप लगाइएको छ ।

यी सबै आरोपका बारेमा आ-आफ्ना विभिन्न दृष्टिकोण हुन सक्छन् । यदि पृथ्वी नारायण शाहको नेपाललाई एकीकरण गर्ने महत्त्वाकाङ्क्षी अभिलाषा नभएको भए अहिलेको विशाल आधुनिक नेपालको परिकल्पना सम्म हुन् सक्ने थिएन।

पृथ्वी नारायण शाहले नेपाललाई कतै जातीय आडम्बरी र हिन्दु राज्य शासन व्यवस्था बनाउन खोजेको इतिहासले देखाउँदैन । उनले कसैसँग जातीय लडाइँ लडेका पनि थिएनन् । राष्ट्र एकीकरणको वृत्तान्तमा आस्था र विश्वासका कुरा राष्ट्र निर्माणमा धेरै महत्त्वपूर्ण हुन्छन् ।

इतिहासलाई काल्पनिक आधारमा मूल्याङ्कन गर्न खोज्नु हुँदैन। नेपाल र सम्पूर्ण नेपालीहरूका गौरवका प्रतीक नै पृथ्वीनारायण शाह हुन। यदि पृथ्वीनारायण शाहको जन्म र उनको महत्त्वाकाङ्क्षी एकीकरणको अभिलाषा नभएको भए आजको नेपाल सम्भव हुने थिएन। आजको विशाल नेपाल देश नभएको भए नेपाली पहिचानले विश्व मान चित्रमा अङ्कित हुन् सक्ने थिएन।

देश र जनता तथा समय परिस्थितिको माग तथा आवश्यकता अनुसार देशको शासन व्यवस्था, राजनीतिक प्रणाली तथा राज्य व्यवस्था जन चाहना अनुसार परिवर्तन हुन् सक्ने थिएन । नेपाल र नेपाली जनताले पृथ्वी नारायण शाहको जन्मजयन्तिलाई स्मरण गर्दै राष्ट्रिय एकता दिवसका रूपमा मनाउनु राष्ट्रप्रेमी देश भक्तिको ईमान्दारिता तथा नेपालको इतिहासको महत्त्व र सहअस्तित्व मान सम्मान र मर्यादालाई स्विकार्नुको साथमा सुन्दर शान्त र समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनाको निर्माणका लागि एउटा बलियो पूर्वाधार निर्माण गर्न सक्ने गौरवशाली राज्यको गर्व भएको अनुभूति हुन्छ।

(लेखक थापा एनआरएनए ग्लोबलका पूर्व सल्लाहकार तथा अभियन्ता हुन)