कालो केटो,नेप्टी केटी र बुद्धनगरको बफ म:म - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

कालो केटो,नेप्टी केटी र बुद्धनगरको बफ म:म



प्रिय काठमाडौँ,

केही दिन अघि कामको सिलसिलामा टोकियो इमिग्रेसन कार्यालयमा लाइनमा थिएँ । मेरो अगाडी एक जना अफ़्रिकी मूलको कालो छाला भएको मानिस उभिएको थियो । लेनको बाहिर बाट मंगोल मूलकी होंची, थेप्चो नाक भएकी महिलाले जापानी भाषामा ‘कालो’ मानिसलाई केही सम्झाइरहेकी थिइन,सायद उनी त्यो मानिसकी जापानी श्रीमती हुनुपर्छ । महिला सँग बच्ची पनि थिइन । अफ़्रिकी र मंगोल मूलका मान्छेको सम्बन्ध बाट जन्मिएकी भएर होला बच्चीको वर्ण र बनोट केही फरक थियो । उनीहरू तिनै जना बिल्कुल फरक आवरणका थिए एक आपसमा,वर्ण र बनोट केही पनि मिल्दैनथ्यो उनीहरूको । उनीहरूलाई मात्र एक चीज़ले बाँधेको प्रतीत हुन्थ्यो,भाषाले । तिनै जना खुब राम्रो सँग जापानी भाषामा कुरा गरिरहेका थिए,माया साटासाट गरिरहेक़ा थिए । भाषा त मात्र माध्यम हुँदो हो,सायद उनीहरूका मन सबै भन्दा बढ़ी मिलेका थिए । जात,गोत्र,सम्पत्ति हेरेर बिहेबारीको सम्बन्ध गांसिने संस्कृतिबाट आएको म,फरक मान्छे एकाकार भएको त्यो दृश्य देखे पछि एकाएक देश सम्झिन पुगें ।

कालो केटो
केही वर्ष अगाडीको कुरा हो । एम.आर.पी. पासपोर्टको आवेदन पहिलो पल्ट खुलेको दोस्रो वा तेस्रो साता भित्रै हुनुपर्छ,म फारम बुझाउने लाइनमा थिएँ । मेरो पछाडि एक मधेसी मूलको कालो वर्णको साथी थियो । दुई दिन लाइनमा बसेर फारम बुझाउने झ्यालमा पुगे पछि, कहिले ‘फोटो मिलेन’ त कहिले ‘भर्ने तरिका मिलेन’ भनेर फर्काइए पछिको तेस्रो दिन थियो त्यो मेरो । त्यसैले पनि तनाव उच्च थियो । पछाडि उभिएको मधेसी साथी केही बोल्न खोज्थ्यो,केही सोध्न खोज्थ्यो, म चाहिँ अलि अलि बोले जस्तो गरेर तर्किन खोज्थें । मेरो लगातारको बेवास्ता बिच पनि उसले आफ्नो पिडा सुनाउन भ्यायो । हप्ता दिन पहिलै लाइनमा लागेको,दुई पटक झ्यालमा पुगेर फारम अस्वीकृत भएको,अनि रातारात राजबिराज पुगेर आई तेस्रो पटक लाइनमा उभिएको,हप्ता दिनमा पैँतिस चालिस हजार रुपैयाँ सकिएको आदि आदि ! तर मलाई उसको कुरा सुन्ने न चाहना थियो न फुर्सद नै,उसको भन्दा मेरो पिडा नै ठुलो लागिरह्यो, पृथक् लागिरह्यो । त्यसैले उसको कुरालाई एक कानले सुनेर अर्को कानले उडाइरहें । अचानक दुई बज्न लाग्यो भन्दै लाइनलाई रसीले छेकियो र फारम बुझाउन लाइनमा बसेकालाई फर्किन र भोलि आउन भनियो । सबै भन्दा अगाडी पुगेको र दुई दिनदेखि घण्टौं लाइनमा बसेर झ्यालमा पुग्दै फर्किंदै गरेको मलाई भोलि फेरी आउने धैर्य थिएन । प्रहरीको आँखा छली रसी नाघेर झ्यालमा पुग्नै लाग्दा प्रहरीले समात्यो । आफ्नो दुई दिन देखिको पिडा सुनाएर अनेक अनुरोध गरे पछि म प्रति प्रहरी केही दयालु देखियो । तर मेरो पछाड़ीको मधेसी साथी प्रहरीको फन्दामा पर्‍यो, ऊ पनि रसी नाघेर मेरो पछि पछि आउँदै रहेछ । उसले पनि अनेक समस्या देखाएर अनुरोध गर्‍यो तर मलाई छोडिदिने प्रहरीले उसका कुरा सुनेन,उल्टै दुई लट्ठी हिर्काउन भ्यायो । तत्कालको लागि त्यो घटना सँग मलाई खासै सरोकार रहेन,किनकि मलाई सरोकार मेरो काम बन्नु सँग थियो ।

अचेल सोंच्छु,फारम बुझाउने समय सकिए पछि रसी नाघ्ने गल्ती राजबिराजको त्यो साथीको र मेरो बराबर थियो, तेस्रो पटक लाइन बस्नुको पिडा पनि उसको र मेरो बराबर थियो,सायद आर्थिक व्ययको हिसाबले उसको पिडा अझ बढ़ी थियो । या हामी दुवै लाई फारम बुझाउने मौका दिइनु पर्थ्यो, या मलाई पनि लट्ठी हानेर हटाइनु पर्थ्यो । किन फरक व्यवहार गर्‍यो होला प्रहरीले ? मलाई गोरो र उसलाई कालो देखेर ? मलाई पहाडी र उसलाई मधेसी देखेर ? ख़ैर, उही प्रहरीले जानोस । तर मेरो मनबाट त्यो मधेसी कालो वर्णको साथीको तस्बिर अझै हटेको छैन,प्रहरीको लट्ठी उसका खुट्टामा पर्दा उसका विनयी आँखाले मलाई हेरेको झलझली याद आउँछ । छाला केही गोरो भएकोमा फाइदा र ग्लानि एकै चोटि भएको दिन थियो त्यो मेरो । लाइनमा हुँदा मैले उसलाई गरेको बेवस्ता, उसँग परिचय गर्न नपरे हुन्थ्यो झैँ गरेर तर्केको अवस्था सम्झिंदा अझ बढ़ी पिडाबोध हुन्छ । कहाँ होला त्यो साथी ? अरबमा होला कि, सी. के. राउतको भिडमा ? भारत तिर भासियो होला कि, मधेस आन्दोलनमा मारियो होला ? पासपोर्ट बनाउनु पर्ने उस्तै नियति भएका हामी दुईलाई के चीज़ले बाँध्न सकेन होला त्यति बेला ? के चीज़ले जोड्न सकेन होला त्यति बेला ? वर्णले ? बनोटले ? भाषाले ? वा सोंचले ? म सँग अनगिन्ती प्रश्न मात्र छन्,केवल छैन त मेरो साथीको सूचीमा राजबिराजको त्यो ‘कालो’ केटो ।

नेप्टी केटी
उच्च शिक्षाको लागि पछि काठमाडौँ आइयो । बुद्धनगरको डेरा । जानी नजानी खुब गाउनु पर्ने हामीलाई,चर्को स्वरमा । हामी जस्तै गीत गाउने हरू पल्लो घरमा पहिल्यै देखि बस्दा रहेछन् । उनी हरू मध्ये एक जनाको स्वर चाहिँ साह्रै मीठो,साह्रै सुमधुर,व्यावसायिक गायिकाको जस्तै ! दिनहुँ दोहोरी नै चल्थ्यो । यता बाट गीत गाएर सक्ने बित्तिक़ै उताबाट अर्को गीतमा जवाफ आउँथ्यो । संवाद र देखादेख चाहिँ कहिल्यै भएन । मात्र फलानी यस्ती होली भन्ने अनुमान हुन्थ्यो । अनुहार हेर्ने अभिलाषाले आउने जाने बाटोको चियो नगरिएको पनि होइन । तर धेरै जना भाडामा बस्ने घरमा मिठो स्वरकी धनी फलानी नै हो भनेर पहिचान गर्न सकिएन । त्यो क्रम करिब ३ महिना चल्यो । गीतको आदान प्रदानमा आत्मीयताको लेभल पनि बढेको अनुभूति हुन्थ्यो । देख्न मन लागे जस्तो हुने,भेट्न मन लागे जस्तो हुने भयो । संयोग एक दिन कस्तो पर्दियो भने चोकको पसलमा तरकारी किन्ने बेला पहिले देखि नै सुनिरहेको जस्तो आवाजले ‘तपाईँ नै हैन पल्लो घर बाट गीत गाउने’ भनेर प्रश्न गर्‍यो । देखेँ-होंची, थ्याप्चो नाक भएकी(चल्तीको भाषामा नेप्टी भन्ने चलन छ) र आवरणमा खासै सुन्दर(चलन अनुसारको सुन्दरता) नदेखिने पल्लो घरकी गायिका मसँग परिचित हुन चाहान्थी । मैले ‘म होइन साथी हो’ भनेर उम्किने बहाना गरेँ । हामीलाई पहिले नै देखेको र को कुन हो भन्ने चिनेको बताएर ऊ सागको मुठो समाएर गई । भैदियो कस्तो भने त्यो दिन देखि दोहोरी बन्द भयो,उताबाट एकोहोरो मधुरो गुनगुन मात्र आऊँथ्यो । संयोगले त्यही बेला साथी पनि घर गएको थियो । साथी आए पछि नेप्टो नाक र होंचो कदका कुरा हाम्रा लागि हाँस्ने विषय बने । पल्लो घरकी गायिकालाई विषय बनाएर खुब हाँसियो,गायन चाहिँ बन्द गरियो । यताबाट बन्द भएर होला उताबाट पनि बिस्तारै स्वर हराउँदै गयो । र समयान्तरमा सङ्गीतले बाँधेको साइनो पनि हराएर गयो ।

प्रकृतिले हरेक मानिसलाई एउटा छुट्टै विशेषता दिएको हुन्छ । हामी ती विशेषतालाई संसारिक चलन चल्तीका आवरणले छोपेर राख्छौं । हामी विशेषताका होइन,वर्णका कुरा गर्छौँ । आज सोंच्छु त्यो गीतको दोहोरीमा हामीले खोजेको एउटी सुन्दरी गायिका रहेछ,राम्री गायिका होइन रहेछ । कहाँ होलिन ती प्रतिभावान गायिका ? के नाम होला तिनको ? गायक गायिकाको भिडमा अनि मिडियामा त कतै देखिन्निन उनी ! कहाँ गइन होला ? आफ्नो कलालाई चिनाउन सङ्घर्ष गरिन होला कि गरिनन होला ? सङ्घर्ष गर्दा पत्याइइन होला कि हामी जस्ता आवरण ख़ोज़्नेहरु बाट लत्याइइन होला ? कि आत्महत्या गरिन होला ?! म सँग प्रश्न हरू मात्र छन् । मिडियामा केही वर्ष बिताएको र कलाकार हरुको कथा व्यथा लेखेको म सँग आज ती छिमेकी प्रतिभावान गायिकाको बारेमा लेख्ने कुनै कथा छैन ।

बुद्धनगरको बफ म: म:
बुद्धनगरको वेलकम रेस्टूरेंटको ( केही पहिले बानेश्वर बाट शंखमूल जाने बाटोमा सरेको छ क्यारे सायद) बफ म: म: भने पछि हुरूक्क नहुने कोही थिएनन । सिट पाउनै गाह्रो । सिट पाए पछि पनि म: म: खान झन् गाह्रो । ठुला ठुला ताता डल्ला,एकै पटकमा मुखमा नअटाउने,काटेर दुई टुक्रा पारेर ख़ानु पर्ने । काटे पछि भित्रको ठुलो खसी(चल्तीको भाषामा) को मासु देखिने । त्यो देखिए पछि हामी साथीभाई एक अर्कामा मुखामुख गर्ने । असमंजस हुने । नखाम असाध्यै मिठो,खाम ‘ठुलो खसी’ को मासु देखिए पछि हाम्रो ब्राम्हण अभिमानमा भित्र भित्रै ठेस लाग्ने । एक प्लेट म: म: पैँतिस रुपैयाँमा खाए पछि त्यो साँझ खाना पकाउनै नपर्ने,पेट मज्जाले भरिने । अचार मिठो कि, म: म: भन्ने बहस पनि चल्थ्यो कहिले काहिं हामी हामीमा । तर म म बिनाको अचार के अचार ! म: म: र अचारको गतिलो मेल पो मिठो थियो । मेल बिना मिठास कहाँ ? अझ रमाइलो कुरा त के थियो भने जो जनै पूर्णिमामा जनै फेर्न मैतिदेवी,भद्रकाली,पशुपतिनाथमा लाइन लगाउँथे,त्यो म: म: हाउसमा तिनकै बढ़ी भिड हुन्थ्यो । पहिलै देखि जाने बानी लागेका एक जना हाम्रो क्षेत्र तीरकै परिचित दाइ ले ‘तिमी पनि यहाँ ?’ भनेको वाक्य खुब बिझेको थियो त्यो बेला,अहिले त्यो वाक्य र ती दाईंलाई सम्झिंदा हाँसो उठ्छ ।

पीठोमा मासु वा तरकारी को कीमा बेरेर स्टिम गरिएको परिकारलाई म: म: भनिन्छ । सामान्यतया भित्रको मासु वा सब्ज़ीलाई पीठोले लपेटेको हुने हुँदा देखिँदैन,केवल सेता कलात्मक बुट्टा सहितका डल्ला मात्र देखिन्छन तर खानेलाई थाहा हुन्छ के खाइरहेको छु भन्ने । बुद्धनगरको म:म: हाउसमा म:म: खाने प्रत्येकलाई थाहा थियो,म पाड़ो/भैंसी को मासुबाट बनेको म: म: खाइरहेको छु भन्ने । तर कसैले पाड़ो वा भैंसीको नभनेर सानो स्वरमा बफ म: म: भनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । बफ म: म: भन्ने शब्दले आफ्नो भोजन प्रतिको आशक्ति र ब्राम्हण अहंलाई लाई उदारता पूर्वक संरक्षण गरेको प्रतीत हुन्थ्यो । अझ रमाइलो कुरा त,म: म: को सिङ्गो डल्लो मुखमा नअटेर बिचबाट काटेर टुक्रा पारी ख़ानु पर्दा पर्दा जनै धारीको अहंमा ठुलै ठेस लाग्थ्यो । तर अहंलाई तत्काल आवश्यकता र बाध्यताले जित्थ्यो । भोक आवश्यकता थियो । थोरै खर्चमा भोक टार्नु पर्ने आर्थिक अवस्था बाध्यता थियो । आवश्यकता र बाध्यता बिचमा सधैँ सत्य मौन बसिरहेको हुन्छ । र बुद्धनगरको म: म: हाउसको एउटै र अकाट्य सत्य भनेको त्यहाँको म: म: र अचारको मेल बाट उत्पन्न मिठास नै थियो ।

प्रिय काठमाडौँ,
तिमी मेरो देशको राजधानी सहर हौ । राजधानी हुनुका आफ्ना अभिभारा हुन्छन्,अनि अफ़्टयारा पनि । तिम्रो छाती माथि सल्बलाउने दश लाखको भिडमा कति मान्छे असल होलान्,कति खराब होलान् त्यसको लेखाजोखा यो पत्रमा सम्भव पनि नहोला । तर तिम्रो छातीमा बास गर्ने र राज गर्नेहरुका सोंच र व्यवहार हरुले तिमीमा पार्ने प्रभावले तिम्रो विकास र समृद्धि निर्धारण गर्ने हुन । राजधानीको परिवर्तन र समृद्धि समग्र देशको परिचय र मार्गदर्शन दुवै बन्न सक्छ । जति विशाल सहर र संरचना बन्दै जान्छन त्यति विशाल सोंचको दायरा पनि बन्दै जानु पर्ने हो । तर दुःखको साथ भन्नु पर्छ काठमाडौँ,अझै पनि तिम्रो छाती माथि केही भ्रम,केही विभेद,केही अतिवाद र केही अराजकताले बालियो गरी डेरा जमाएर बसेका छन् । यी कुरा सर्र हेर्दा केही जस्ता लाग़्दैनन,तर गहिरिंदा हामी बिचका असमानताका प्रमुख कारण जस्ता देखिन्छन । माथिकै कालो केटो, नेप्टी केटी र बफ म म को उदाहरण हेरौं न । हामी वर्ण र बनोटको आधारमा विभेद अझै पनि गरिरहेक़ा छौँ । हामी छाला र चाला हेर्छौं,व्यक्तित्व हेर्दैनौं । हामी रूप र बनोट हेर्छौं,व्यवहार हेर्दैनौं । हामी आवरणका खुब चर्चा गर्छौँ,अन्तर्य खोतल्न समय खर्च गर्दैनौं । किनकि हामी एक्काइसौं सताब्दीमा पनि वर्ण र बनोटको आधारमा मान्छे बिच विभेद गर्छौँ । प्रहरीले मधेसी साथीलाई परराष्ट्रको लाइनमा लट्ठी हिर्काउनु र म ऊ सँग बोल्न नखोज्नु वा उसको पक्षमा बोल्न नसक्नुमा कुनै अन्तर छैन । मैले छिमेकी गायिकामा कला भन्दा बढ़ी रूप खोज्नु र उनी आजको संगितिक संसारमा कतै नदेखिनुका कारणमा कुनै भिन्नता छैन । बफ म: म: खाने तर खान्छु भन्न नसक्ने हाम्रो प्रवृत्ति हो । खाइहाले पनि रांगो/भैंसीको म: म: भन्दियो भने निधार खुम्च्याउने हाम्रो अहं हो । र देश बन्नलाई सबभन्दा पहिले हाम्रा प्रवृत्ति सुधार्नु,अहं भन्दा माथि उठ्नु प्राथमिक आवश्यकता हो,त्यसपछि बल्ल आउँछन नेता र राज्य संयन्त्रका कुरा ।

जीवनमा गरेका गल्ती र दुनियाँमा देखेका नयाँ प्रयोग बाट केही सिक्यो भने मात्र हाम्रो सोंचको दायरा फराकिलो हुन्छ । फराकिलो सोंचले फराकिलो संसारको माग गर्छ । फराकिलो सहर,फराकिलो बाटो,फराकिलो स्वभिमान,फराकिलो आफ्नोपन,फराकिलो स्विकारोक्ति अनि फराकिलो देश । देश फराकिलो हुन सिमाना तंन्किनु पर्दैन,हाम्रा सोंच विश्व भर फैलिए पुग्छ । त्यसको लागि हामी हाम्रो वर्ण र बनोटको सोंच भन्दा धेरै माथि उठ्नु पर्छ । बफ म: म: लाई यो पत्रमा मैले हाम्रो आडंबरको प्रतीकको रूपमा जोड़ें । कालो केटो र नेप्टी केटीलाई वर्ण र बनोटको आधारमा गरिने विभेदका सिकार पात्रको प्रतीकको रूपमा,अनि इमिग्रेसनमा देखेको परिवारलाई मानव एकताको प्रतीकको रूपमा । मैले जे देखेँ,जे भोगें त्यो नै शत प्रतिशत सत्य हो,त्यो पनि होइन । तर यी बिम्बहरुको प्रयोग गरेर मैले जोड़ दिन खोजेको त मानव बिचको विभेदको अन्त्य होस भन्ने कुरामै हो । यहाँ अन्तरदेशिय विवाहलाई प्रोत्साहन गरिएको होइन,मात्र दृष्टान्त देखाइएको हो । वर्ण र बनोटको आधारमा कहीँ कतै केही नमिल्ने फरक राष्ट्रियताका मान्छे त मिलेर परिवार बसाउन सक्दा रैछन भने हामी आफनै देश भित्र कहिले सम्म गोरो-कालो,न्याप्टे-चुच्चे,टोपीधारी-धोंतीधारीको मुटावमा अल्झिरहने ? सेतो मिठो डल्लो भित्र रांगोको मासु नै हुन्छ भन्ने सत्य लुकाएर लुक्छ र ? बफ म: म: नामको आडंबरमा कहिले सम्म अहङ्कारको संरक्षण गरिरहने ? यो पत्रमा म यही प्रश्न सँगै रोकिएँ काठमाडौँ ।
बाँकी अर्को पत्रमा ।

-तिम्रो अनुरागी हेमन्त गिरी,टोकियोबाट ।

[email protected]

लेखकका अन्य लेख

प्रिय काठमाडौंप्रिय काठमाडौं २

प्रिय काठमाडौं

‘प्रष्टोक्ती’….अनि म कायर भागेर विदेश आएँ !

आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं

ट्रम्पलाई चिठ्ठी