प्रिय काठमाडौँ २ (स्पोन्सर्ड जिन्दगी) « Himal Post | Online News Revolution
Logo

प्रिय काठमाडौँ २ (स्पोन्सर्ड जिन्दगी)



प्रिय काठमाडौं,
म कसैलाई रिझाउन लेख्दिन,आफनै मनलाई रिझाउन लेख्छु । आफनै मनलाई रिझाउँदा मेरो जस्तै मन भएका हरू प्रभावित हुँदा रैछन,मेरा कुरालाई आफ्नो ठान्दा रैछन,मेरा भावना र भोगाई हरुको अपनत्व लिंदा रैछन । त्यही नै मेरो लेखनीको मिठो संयोग हो काठमाडौँ, अनि यही नै मेरो जीवनीको प्यारो प्राप्ति पनि ।

प्रिय काठमाडौँ, म भिड़ त्यति मन पराउँदिन । किनकि भिडमा आवाज़ ज़्यादा हुन्छ,आभास कम; आवेग ज्यादा हुन्छ,विवेक कम । तर, न तिमी सँगै हुँदा तिम्रो छाती माथि सल्बलाउने भिड सँग म भाग्न सकेको थिएँ कैलै, न आज टोकियोको भिड बाट नै भाग्न सकेको छु । जब भिडले कहीँ गए पनि छोड़दैन भने भिड बाट केही सिक्नु पर्छ भन्ने बुझ्न थालेको छु अचेल । ध्यान दिएर सुन्छु, भिड भित्र कतै जीवनहरु चिच्याइरहेको,कराइरहेको; कतै जीवनहरु दुखिरहेको,रोईरहेको अनि कतै जीवनहरु उन्माद र अहङ्कारमा कुर्लिरहेको महसुस गर्न थालेको छु । तर भिडको आवाज चर्को हुने हुँदा कैले काहिं छुट्टयाउन गाह्रो पर्छ, को पिडामा रोईरहेको छ, को खुसी छल्काइरहेछ वा को उन्मादमा डुक्रिरहेछ छ भनेर ।

प्रिय काठमाडौँ, कुरा नलुकाई,नडराई गर्ने बानी छ मेरो । मान्छेले भिड सँगै सामेल भएको त देखाउँछ आफूलाई । तर भिडभित्रै पनि भई परि आउँदा आकस्मिक आक्रमण बाट जोगिन आफ्नो टाउको लुकाउँछ,सम्भव भए सम्म साथीलाई अगाड़ी सारेर आफू उसको पछाड़ी लुकेर जोगिन्छ । अनि जब साथीको देह ढलिसकेको हुन्छ, सबै भन्दा चर्को स्वरमा त्यही कायर क्रान्तिकारी बनेर चिच्याउँछ-शाहदत,शहीद,वीर वा अन्य यस्तै शब्दको प्रयोग गर्दै । ढलेको शरीरमा शब्दले चढ़ाउने श्रद्धाको एक अंश पनि मान्छेले जिउँदो मानवताको लागि अर्पण गर्थ्यो भने मान्छे बस्ने यही धर्तीकै नाम स्वर्ग राख्दा पनि हुन्थ्यो । भिडमा सामेल हुने हरेकको मानसिकता यही हो काठमाण्डू । जो कायर छ उसले भिड खोज्छ । र नियतिले हामी सबै लाई कायर बनाएको छ ।

केही वर्ष म रेडियोमा बोलें । धेरैले प्रस्तुति मन पनि पराए । लुम्बिनी अञ्चल आसपासमा चिनिएको नाम थिएँ । सबको प्रेम र सद्भाव प्राप्त थियो । केही कारणवश रेडियोको जागिर छोडियो । छोड़े पनि मलाई अझै लागिरहन्छ,मैले जीवनमा आफूले सबै भन्दा जानेको काम भनेकै लेख्न र बोल्न हो । अरू काममा त म औसत भन्दा पनि कम छु, तर केही बाध्यताले नगरी नहुने भएर मात्र गरिरहेको छु । खाने मुखहरु बढ़े पछि रुचिको पेसा पछाडि छुट्यो । तर फेरि कुनै दिन आवाज लिएर उदाउने छु भन्ने उत्कट अभिलाषा छ,हेरौं । तर यहाँ चर्चा गर्न खोजेको चाहिँ रेडियो कार्यक्रम चलाउँदाको प्रसङ्गको हो ।

प्रायोजित विचार : त्यो बेला प्रायोजित (स्पोन्सर्ड) कार्यक्रम चलाउन अर्कै मज्जा आउने । साधारण कार्यक्रममा आफ्ना विचार अभिव्यक्त गर्न मज्जाले पाइन्थ्यो, तर विचारमा बाँधिएर अर्काको लागि बोलिदिने ‘स्पोन्सर्ड’ कार्यक्रम नै बढ़ी चलाउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो,यद्यपि आफ्ना विचारवान कार्यक्रम अलि बढ़ी लोकप्रिय र लोकहितका थिए भन्ने थाहा थियो । त्यसो किन लाग्थ्यो त भन्दा, ‘स्पोन्सर्ड’ प्रस्तुति बाट केही अतिरिक्त आऊँथ्यो पेटको लागि,अनि ‘स्पोन्सर’ वालासंग कहिले काहिं कुम जोड़ाउन पाइन्थ्यो,कहिले काहिं गिलास ठोक्काउन पाइन्थ्यो । त्यसो गरिरहँदा म आफनै मनलाई कति मारिरहेको हुन्थें अनि कति खराब लाई पनि सही प्रमाणित गरिरहेको हुन्थें, लेखाजोखा हुँदैनथ्यो । राजेश हमाल,मदनकृष्ण-हरिवंश त ‘स्पोन्सर्ड’ विज्ञापनको लफड़ामा परिसकेका नाम हुन भने म बबुरो त को हुँ र ? तर त्यो बिचारको प्रायोजन थिएन काठमाण्डू केवल पेटको प्रयोजन मात्र थियो । भोकै मर्नु भन्दा पेटको प्रयोजन सम्मको लागि विचार ‘स्पोन्सर्ड’ गराउनु त्यति अनुचित पनि नहोला । तर पेट भरिएर टन्न भएका हरू, पेट लागेर डम्म भएका हरू, अनि पुस्तौंलाई पुग्ने पेटका सर्जाम थुपारिसकेका हरुले विचार ‘स्पोन्सर्ड’ गराउनु कत्तिको बुद्धिमानी ? आज देश विदेशका नेपालीका विचारका भिड देख्छु,सञ्जाल र सडकका भिडका आवाज सुन्छु अधिकांश प्रायोजित विचार लाग्छन काठमाण्डू । डिग्री छन् हातमा, आर्थिक सामाजिक रूपले सुरक्षित जीवन छ, फेरि केले छेक्दो हो मान्छेलाई बिचारले स्वतन्त्र हुन बाट ? सायद सुरक्षित हुन अपनाएका आफ्ना विगतका ‘स्पोन्सर्ड’ विचारको कारणले वा अप्रायोजित भावी जीवन जोखिमपूर्ण हुन्छ भन्ने डरले ! अथवा बुझिने भाषामा भनौं,नुनको सोझोले वा गुलामीको मानसिकताले !

प्रायोजित रगत : राजनीतिक खिचातानीले देशमा स्वतन्त्र भई काम गरेर खान साह्रै मुस्किल वातावरण सृजना गरिएको छ । त्यसैले त सजिलोको लागि कि युवा पाटीको झंडा बोक्छ कि पासपोर्ट च्याँपेर कुलेलम ठोक्छ । अफ़्ट्यारो बिच पनि देशमै रहेर निस्स्वार्थ श्रम गरिरहेक़ा ज्यादै कम छन्, जस प्रति मेरो सत सत नमन छ । तर स्वयम् केन्द्र सम्म नै पहुँच भएको, दल बाट संरक्षित र प्रायोजित युवा त सडकमा दिनदहाडै मारिन्छ भने सामान्य मान्छे कति सुरक्षित होला ? खैर, एकाध घटना बाहेक साधारण स्वतन्त्र मान्छे भन्दा दलको झंडा समात्ने मान्छे नै बढ़ी सुरक्षित छ देशमा । सुरक्षाको लागि पनि खुनले प्रायोजन माग गर्ने अवस्था छ । हिंजोका दिनमा रगत बलिदानको लागि बग्थ्यो,देखिएकै हो । आज त्यही वंशाणु खुन प्रायोजित बनेर टायर बालेर बल्ल बल्ल बनेको सडक पोल्छ,सवारी साधन र भवनका सिसा फ़ुटाऊँछ,प्रहरी बीट र एम्बुलेंस जलाउँछ । जुन राप र ताप त्यो खुनले आफ्ना राग हरुमा देखाउँछ,त्यति नै भित्र बाट चिसो छ त्यो खुन । किनकि त्यो खुनको मौलिक तातोपना त विचारको स्खलन सँगै सति गैसकेको छ । खुन साँच्चै तातो हुन्थ्यो भने एक रातको छिंडीको बासले आत्तिदैंथ्यो,जेल भित्रका कैयौँ चिसा रातलाई तातो खुनले सजिलै परास्त गर्थ्यो होला । तर केही घण्टा पनि फलामे बार भित्र टिक्न सक्दैन बिकाऊ खुन । तब त क़ानून खल्तीमा बोक्ने महाराजहरु छुटाउन आइहाल्छन चिसा,पिलन्धरे, ‘स्पोन्सर्ड’ खुनहरुलाई । अझ तिनै चिसा मान्छे हरुले बूढ़ा नेतालाई तथानाम गाली गरेको कत्ति नसुहाउने के,काठमाण्डू ! अहिले केही लालची भए पनि यिनै बुढ़ाहरुको खुन बरु तातो र मौलिक थियो कुनै समय जसले वर्षौं वर्ष कालकोठरी झेल्ने हिम्मत त राखेथ्यो,जसले भूमिगत हुने आँट त गरेथ्यो । केही मौलिक तातो खुन बोक्ने हरू बाँकी नभएका होईनन देशमा तर सडक र सञ्जाल जताततै उनीहरू न्यून छन्, ‘लाइक’को जो ज़माना छ ! खुन सांच्चिकै ‘स्पोन्सर्ड’ नभाको हुँदो हो त केही भिड सुस्तामा देखिनु पर्ने, केही भिड कालापानीमा देखिनु पर्ने, केही भिड टनकपूरमा देखिनुपर्ने अनि केही भिड लक्ष्मणपूरमा देखिनु पर्ने । कैले काठमाण्डू,कैले बिरगंज,कैले बुटवल त कैले सुर्खेतमा देखिने भिड भित्र प्रायोजित खुन सवार छ । त्यसैले त त्यो भिडले आफनै सडक पोल्छ,आफनै सुरक्षाकर्मी मार्छ,आफनै उद्यान उजाड़छ,अनि आफनै भाइ बैनीको विद्यालयको ढोकामा भोटेताल्चा लगाउँछ ।

प्रायोजित पसिना : प्रिय काठमाण्डू, देशमा बाँच्नकै लागि भए पनि आफ़ूलाई ‘स्पोन्सर्ड’ गराउनु पर्ने बाध्यता छ । त्यो मैले भन्दा तिम्रो छाती माथि सल्बलाउने भिडको धड़कन नापेर तिमीले बढ़ी महसुस गरेको छौ होला । तर टोकियोमा किन ‘स्पोन्सर्ड’ हुँदा हुन नेपाली भिडका विचार,म यही कुरामा रनभुल्ल परिरहेको छु । जबकि औसत बढ़ी नेपाली यहाँ दुःख गर्न,पसिना बगाउन आएका छन् । जे गर्नु छ आफ्ना पाखुरी बजारेर,सके सम्म बढ़ी घण्टा काम गरेर कमाउनु छ,रमाउनु छ,बचाउनु छ,पठाउनु छ अनि परिवार पाल्नु छ । केही व्यवसायी र राजनीति गर्नकै लागि ठाउँ खोज्दै आएकालाई छोडेर ‘नान-करी’को लागि पसिना चुहाउने हरू,भोलि बिहानको गाक्को(कलेज) को रूटीन सम्झिंदै ‘वातामी र इजागाया'(जापानी रेस्टूरेंट)मा घण्टा र निद्रा एकै चोटि मार्नेहरु कुन सपना देखेर आफूलाई ‘स्पोन्सर्ड’ गराउने भिडमा मिसिंदा हुन, म रनभुल्लमा छु । आफ्नो कठोर मेहेनतले केही सिक्न सकिने परिश्रमि देशमा आएका मेरा देशका नौजवान हरुलाई कहिलेकाहीँ देशबाट आउने नेताहरू र तिनका टोकियोमा रहेका एजेण्ट हरुले तिल्मिलाइदिने गरेको पाउँछु काठमाण्डू मैले । यहाँको लगन,मेहेनत र अनुशासन देखेर मनमनै धेरै सिकिरहेको युवालाई देश बाट कहिले काहिं आउने प्रायोजित मान्छेले अंतरक्रिया,जमघट,सदस्यता आदि इत्यादिको नाममा टुनामुना लगाउने गरेको देख्छु । राजनीतिक लालसा बाहेक केही नबोकेर आउने दलको त्यो धुन्धुकारीले टोकियो स्काइ ट्रि चढेर यहाँको समृद्धी लाई त नियाल्छ,न सुको कौडी केही सिकेर देश लैजान्छ न सिकाएर नै जान्छ । उल्टै जानेबेला उही लप्पन छप्पन सिकाएर जान्छ । कोठे बैठक गर्छ,कानेखूशी गर्छ,पल्याकपुलुक गर्छ अनि के के मन्त्र भरेर जान्छ खै ! ऊ सँग गिलास ठोक्काएको जापानी लाहुरे एकाएक बलियो बन्छ अनि बेहोशीमै परदेशमा रहेर देशका पहुँचका ठुला ठुला कुरा गर्छ । परिश्रमी पसिना रातारात ‘स्पोन्सर्ड’ भएको देखेको छु काठमाण्डू मैले टोकियोमा ! र यस्तै हुँदो हो न्यु योर्क,लंडन,सिड्नी,सियोल,दुबई र दोहामा पनि !

एउटा स्वभिमानी जीवन तीन तत्वले बनेको हुन्छ काठमाण्डू । विचार,रगत र पसिना । जब यी तीन तत्त्व नै ‘स्पोन्सर्ड’ हुन्छन्,जीवनमा बाँकी केही रहन्न । चिच्याऊन त मान्छे चिच्याउला म यो लेभलको स्वाभिमानी भन्दै । तर आफ्नो मन भन्दा ठुलो अर्को मञ्च हुँदैन । मनकै मञ्चमा आफ्नो आवाज आफैलाई कर्कश लाग्छ भने जति चिच्याए अर्थ रहँदैन । आवाजको के अर्थ,आभास हराइसके पछि ? दुनियाँले त सुन्ला फलानोको स्वाभिमानको हाँक, आफनै आत्मा बहिरो बनिदिन्छ भित्र भित्रै । जीवन भर बदमासी गरेर मर्ने बेलामा कीर्तन गरेर केही हुँदैन काठमाण्डू । शारीरिक र मानसिक दुवै शक्तिको क्षयीकरण हुँदै जाँदा एक दिन आत्माको नसुनेर गल्ती गरेछु,विचार रगत र पसिनालाई ‘स्पोन्सर्ड’ गराएँछु भनेर पछूतो मान्दै वृद्ध हातले खैंजरी मजूरा बजाउनु छ भने ज्यानमा ऊर्जा छँदै आत्माको आवाज किन नसुन्ने ? शरीर जीर्ण बन्ने अनि आत्माले सब बोध गर्दै जाँदा पाउने कष्टलाई आज बाट नै कम गर्न किन नलाग्ने ? तर्क हजार होलान् बाँच्नको लागि काठमाण्डू, सत्य एक हुन्छ र सुख साथ बाँच्नको लागि त्यही एउटा सत्य बोध गरे पुग्छ । र त्यो सत्य भनेको विचार,रगत र पसिनाको सही र स्वतन्त्र प्रयोग बाट प्राप्त हुने ऊर्जा नै हो ।

मैले यी सब कुरा तिमी सँग भन्नुको एउटै कारण छ । तिमी मेरो देशको राजधानी हौ । राजधानी देशको मुटु हो । मेरो देश र मेरी आमा बराबर हुन । आमाको काखमा टाउको राखेर मेरा कुरा सुनाए जस्तो अनुभूति हुन्छ तिमीलाई सम्बोधन गर्दा । आखिर सन्तानको मनको हाल,सन्तानको हृदयको चाल एउटी आमाको मुटुले जति अरू के ले महसुस गर्न सक्छ र ?

जुगल हिमालको चिसो हावा सिधै टूँडिखेलमा ठोक्किन आउँछ,लाँकुरी भन्ज्यांग र नगरकोटको सुगन्धले ठमेल र दरबार मार्ग मगमगाऊंछन,पशुपतिको शंख घण्टको आवाजले मिठा सपनी देख्दै गरेका आँखालाई जगाइ सापेक्षित समृद्धिको मार्गमा लम्किन प्रेरित गर्छन्,स्वयंभूका दुइटा आँखाले सधैँ शुभ हेर्न र सुन्न लालायित गराउँछन । आँखा चिम्लेर तिमीलाई सर्वांग सम्झिंछु काठमाण्डू,मन रोमांचित भएर आउँछ,चित्त खिलखिलाएर उठछ तर.. । तर जब आँखा खुल्छ्न, सिंह दरबारको गर्जन,बानेश्वरको ताण्डव,बालुवाटार र बालकोटको सिंगौरी अनि बूढ़ानीलकण्ठको नबूझिने बोलीले थलिएको मेरो काठमाण्डू प्रति करुणा जागेर आउँछ । लाग्छ, बोझिलो मेरो काठमाण्डूलाई मेरा शब्दको थप बोझ किन थुपारूँ ? फेरि पनि तिमी त मेरो देशको राजधानी सहर हौ,हजार गिद्दको लुछाचूँडी त सहन गर्न सक्ने सामर्थ्य छ भने म परदेशीको आवाज कसो नसुनौला ?

धेरै लेख्न मन थियो,परदेशमा आँखाले देखेका सप्पै कुरा तिमीलाई बताउन मन थियो, तर आज पनि पत्र लम्बियो । आजको पत्र हाम्रो नियतिमा सीमित भयो,आगामी पत्र हरुमा दृष्टान्त र सम्भावना हरू सहित सम्बोधन गर्ने छु तिमीलाई । बस् , म परदेशमै ‘स्पोन्सर्ड’ नभइजाऊँ कतै !

-हेमन्त गिरी, टोकियो बाट
[email protected]

लेखकका अन्य लेख

प्रिय काठमाडौं

‘प्रष्टोक्ती’….अनि म कायर भागेर विदेश आएँ !

आऊनोस,प्रचण्डको मृत्युको कामना गरौं

ट्रम्पलाई चिठ्ठी