गगन थापाले सार्वजनिक गरे 'प्रोजेक्ट गभर्मेन्ट'- के छ यसभित्र ? - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

गगन थापाले सार्वजनिक गरे ‘प्रोजेक्ट गभर्मेन्ट’- के छ यसभित्र ?



नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार गगन थापाले आफूले दुई वर्षअघि सुरू गरेको प्रोजेक्ट गभर्मेन्टबारे बताएका छन् । सामाजिक सञ्जालमा एक भिडियो संदेश जारी गर्दै थापाले यसबारे आधिकारिक जानकारी दिएका छन् ।

दुई वर्षदेखि ६० जना विभिन्न क्षेत्रका विज्ञहरूले भोलेन्टियर रूपमा गरिरहेको अध्ययन अनुसार प्रोजेक्ट गभर्मेन्टबारे थापाले बताएका हुन् । उनले प्रधानमन्त्री बन्ने तयारी गरेपछि यस्तो प्रोजेक्टबारे बताएका छन् ।

अन्य मुलुकमा चुनाव जितेपछि के गर्ने, सरकार बनेपछि के गर्ने भन्ने पूर्व तयारी गरिएको हुन्छ । यसैलाई आधार बनाएर गगनले नयाँ अभ्यासको सुरुवात गरेका छन् । उनले सार्वजनिक गरेको प्रोजेक्ट गभर्मेन्टमा प्रधानमन्त्री बनेपछि ५ वर्षमा गर्ने कामहरूको विस्तृत अध्ययन अनुसन्धान गरिएको छ ।

कुन काम कति सयमामा गर्ने, हाम्रो मुलुकमा कस्ता कस्ता नवीनतम काम गर्न सकिन्छ, कुन कानुनले गर्दा काम गर्न अफ्ठ्यारो भैरहेको छ, कुन कानुनलाई संसोधन गर्नुपर्नेछ, देशमा बेरोजगारी समस्या कसरी हल गर्न सकिन्छ जस्ता सबै क्षेत्रको अध्ययन अनुसन्धान यो प्रोजेक्ट भित्र गरिएको गगन बताउँछन् ।

यो प्रोजेक्टभित्र कर्मचारी संचालन, कानुन र सबै विकल्पबारे समेत अध्ययन भैसकेको बताइन्छ । विभिन्न क्षेत्रका अध्यताहरूले यसबारे प्रतिवेदन तयार पारेर त्यसमाथि फरक फरक समूह बनाएर छलफल गरिएको बताइन्छ ।

सुरुवातमा विभिन्न ३१ क्षेत्रमा अध्ययन गर्नेगरी बनेको योजना थियो प्रोजेक्ट गभर्मेन्ट । यो प्रोजेक्ट भित्र कृषि, उड्ययन, शिक्षा, वातावरण, वन जंगल, स्वास्थ्य, जलविद्युत्, सञ्चार, लघु अर्थ नीति, प्रहरी, खरिद प्रणाली, सडक, कर, जलस्रोत, समुदायिक विकास, विपद् व्यवस्थापन, परराष्ट्र नीति, उद्योग र लगानी, व्यापार, नागरिक सेवा, शिक्षा, यातायात, शहरी विकास, वित्तिय संस्था, पर्यटन, संघीयता, रक्षा, बाह्रय र आन्तरिक श्रमिक, भूमि व्यवस्थापन, कानुन प्रशासन, खेलकुद जस्ता क्षेत्रमा अनुसन्धान गरिएको छ ।

यस्ता क्षेत्रहरूमा अध्ययन अनुसन्धान गर्नको लागि ६० जना विज्ञलाई जिम्मा गगनले दिएका थिए । ३१ विषयका लागि नेपालको ऐन, नियम र प्रणाली र अन्तर्राष्ट्रिय अनुभवलाई आधार बनाएर अध्ययन गरिएको छ । यस्तै अल्पकाल, मध्यकाल र दीर्घकालमा गर्न सक्ने कामको सूचि पनि विज्ञ समूहले तयार पारेका छन् ।

छानिएका क्षेत्रहरूभित्र पनि गहिरो अनुसन्धान भएको बताइन्छ । यी क्षेत्रभित्र कुनकुन विकल्पले काम गर्न सकिन्छ भन्ने सम्मको अध्ययन समेत भएको छ ।