प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

प्रस्तावित न्यायाधीशविरुद्ध तीन उजुरी



काठमाडौँ, माघ ४ गते ।  सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीनवटा उजुरी दर्ता भएका छन् ।  समितिले तोकेको दस दिनको समयसीमामा तीन उजुरी प्राप्त भए पनि समिति सचिवालयले उजुरी औपचारिक रूपमा सार्वजनिक गरेको छैन ।

प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारीविरुद्ध समितिमा तीनवटा उजुरी परेका हुन् ।  समिति सचिवालयले पुस २१ गतेबाट दस दिनको समय दिएर सर्वसाधारण समेतलाई उजुरी दिन समय दिएको थियो ।  संसदीय सुनुवाई विशेष समितिका सचिव ध्रुवप्रसाद घिमिरेले दुई न्यायाधीशविरुद्ध तीनवटा उजुरी प्राप्त भएको बताउनुभयो ।  घिमिरेले दुई जनाविरुद्ध तीनवटा उजुरी प्राप्त भएका छन् ।  कार्यविधि अनुसार समितिमा सार्वजनिक गरेपछि मात्र कोविरुद्ध कुन उजुरी भन्ने थाहा हुनेछ भन्नुभयो ।

पुस १९ गते न्याय परिषद्ले सुनुवाई प्रक्रिया अगाडि बढाउन समितिलाई पत्राचार गरेको थियो ।  प्राप्त उजुरी अब समितिमा पेस हुनेछन् ।  समितिले उजुरीमा थप अनुसन्धान आवश्यक परेमा उजुरीकर्ता र अन्य सरोकारवालासँग छलफल गर्न सक्नेछ ।  न्याय परिषद्को पुस १८ गतेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशका लागि उच्च अदालतका दुई मुख्य न्यायाधीशको नाम सिफारिस गरेको थियो ।  परिषद्ले उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तेजबहादुर केसी र पोखराका मुख्य न्यायाधीश पुरुषोत्तम भण्डारीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो ।

गोरखापत्र