पुडासैनी काण्ड: मंगलबार सकिँदै बकपत्र- कसुर प्रमाणित भए के हुन्छ रविलाई ? - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पुडासैनी काण्ड: मंगलबार सकिँदै बकपत्र- कसुर प्रमाणित भए के हुन्छ रविलाई ?



चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा वादी र प्रतिवादीका साक्षीको बकपत्र मंगलबारसम्म सकिने छ । मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

सरकारी पक्षका १३ जनामध्ये तीन जनाको मात्र बकपत्र आइतबार सकिएको छ ।बकपत्रका क्रममा सबैजना उपस्थित हुनुपर्ने भएकाले रवि‚ युवराज र अस्मिता बकपत्र सकिने समयसम्म अदालतमा उपस्थित हुनुपर्ने हुन्छ । लामिछानेसहितको टोली शनिवारदेखि चितवनमा छ ।

सरकारी पक्षका जाहेरीकर्ता, अनुसन्धानकर्ता, शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिक गरी १३ जनाको बयान हुनेछ । यस्तै‚ प्रतिवादीको तर्फबाट २३ जनाको नाम रहेकाले सोमबार बेलुकी वा मंगलबारसम्म बकपत्र चल्नेछ ।

न्यायाधीश हेमन्त रावलको इजलासमा आइतबारदेखि बकपत्र सुरु भएको हो । लामिछानेसहित तीनजनाविरुद्ध जाहेरी दिने पत्रकार पुडासैनीकी श्रीमती सम्झनाको पनि बकपत्र लिइनेछ ।

साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनको मोबाइलमा मृत्युअघिको भिडियोमा मर्नुका कारण ती तीन व्यक्ति रहेको आरोप थियो । त्यसैको आधारमा लामिछानेसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

आत्महत्याको आरोपमा तीनैजनाविरुद्ध चितवन जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अपराध संहिताअनुसार कारबाहीको माग गर्दै मुद्दा दर्ता गरेको थियो। यसको सुनुवाई गर्दै न्यायाधीश रावलको इजलाशले लामिछानेलाई ५ लाख रुपैयाँ, कँडेललाई ३ लाख रुपैयाँ र अस्मितालाई सादा तारेखमा रिहा गर्न गत भदौ ९ मा आदेश दिएको थियो ।

चितवन जिल्ला अदालतको आदेशमा चित्त नबुझेपछि रवि र युवराज उच्च अदालत पाटनको हेटौँडा इजलासमा पुगेका छन् । त्यस्तै‚ उच्च सरकारी वकिलको कार्यालयले पनि चितवन जिल्ला अदालतको निर्णयविरुद्ध निवेदन दिएको छ।