निको भएकाहरूलाई फेरि सङ्क्रमण बढेपछि टाउको दुखाई बन्दै कोरोना - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

निको भएकाहरूलाई फेरि सङ्क्रमण बढेपछि टाउको दुखाई बन्दै कोरोना



एजेन्सी– कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण भएर निको भएका मानिसमा फेरि चाँडै नै सङ्क्रमण हुने गरेको पाइएको छ ।

जापानका एक पुरुष कोरोना सङ्क्रमणबाट पूरै निको भएर सामान्य जीवनमा फर्किएको केही दिनमा फेरि बिरामी भएको र उनको परीक्षण गर्दा कोरोनाको सङ्क्रमण देखिएको बीबीसीले जनाएको छ । यो निकै चिन्ताको विषय भएको डाक्टरहरुले बताएका छन् ।

प्रतिरोधात्मक क्षमता राम्रोसँग विकास नभएकोले यस्तो हुन सक्ने भए पनि यसले आगामी दिनमा आउने खोप तथा रोग नियन्त्रणमा गम्भीर समस्या ल्याउन सक्ने डाक्टरहरुको बुझाइ छ ।

स्पेनका जैविक प्रविधिसम्बन्धी राष्ट्रिय केन्द्रका भाइरोलजिस्ट लुई इन्वानेस कम्तीमा १४ प्रतिशत बिरामीमा पुनः कोरोनाको सङ्क्रमण भएको पाइएको छ । यो पुनः सङ्क्रमण भएको नभइ पुरानै भाइरस फेरि बल्झिएको उनी बताउँछन् ।

कतिपय भाइरस शरीरमा तीन महिनाभन्दा लामो समय रहन सक्छ तर कोरोनाको पुनः सङ्क्रमण निकै चाँडो भएकोमा डाक्टरहरुले चिन्ता व्यक्त गरेका छन् ।

दादुराको खोप एक पटक दिएपछि जीवनभरि प्रतिरोधात्मक क्षमता बनाइराख्छ तर कोरोनाको बिरामीमा चाँडै पुनः सङ्क्रमण भएकोले खोपले कसरी काम गर्छ भन्ने चिन्ता थपिएको डाक्टरहरुले बताएको बीबीसीले जनाएको छ ।

कोरोना भाइरसको व्यवहारको बारेमा धेरै कुरा बुझ्न बाँकी छ तर पुनः सङ्क्रमण चाँडो देखिनु निकै अनौठो भएको अनुसन्धानकर्ता इसिडोरो मार्टिनेजले बताएको बीबीसीले जनाएको छ । यदि लामो समयसम्म प्रतिरोधात्मक क्षमता नरहने हो भने एक दुई वर्षपछि यसले अर्को महामारी ल्याउन सक्ने मार्टिनेजको भनाइ छ ।

प्यान अमेरिकन हेल्थ अर्गनाइजेशनले भने कोरोनाका बारेमा हरेक दिन नयाँ तथ्य थाहा पाइराखेको भन्दै पुनः सङ्क्रमण र रोकथामका बारेमा पनि विज्ञानले थाहा पाउने बताएको छ ।

अहिलेकै लागि भने एक पटक निको भइसकेका कोरोना सङ्क्रमितहरु फेरि सङ्क्रमणको जोखिममा छौँ भन्ने बुझेर स्वास्थ्यको ख्याल गर्न डाक्टरहरुको सुझाव छ ।