पुरानै संरचनामा भए पनि निर्वाचन गराउन सकिन्छःएमाले - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

पुरानै संरचनामा भए पनि निर्वाचन गराउन सकिन्छःएमाले



हिमाल पोष्ट / त्रिशूली (नुवाकोट), १ पुस । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधान कार्यान्वयन गर्ने बेलामा सरकारले संविधान संशोधनको राग अलाप्नु बेमौसमको विषय भएको बताउनुभएको छ ।

संविधान कार्यान्वयनका लागि जनपरिचालन अभियानअन्तर्गत स्थानीय बट्टारमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेत्री शाक्यले ५ नं प्रदेशको तराईको भाग टुक्र्याउनु भनेको एक मधेस एक प्रदेश नीतिलाई कार्यान्वयन गराउँदै तराईलाई नेपालबाट टुक्र्याउने खतरनाक खेल भएको जिकिर गर्नुभयो ।

उहाँले अहिलेको संविधान संशोधन भनेको नेपालको स्वाभिमान र सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको बताउनुभयो । नेत्री शाक्यले स्थानीय निकाय जनप्रतिनिधिविहीनताको अन्त्य गराउनु एमालेको पहिलो सर्त भएकाले दलबीच सहमति भएमा पुरानै संरचनामा भए पनि निर्वाचन गराउन सकिने बताउनुभयो ।

नेत्री शाक्यले देशको गतिरोध अन्त्य गर्न राष्ट्रिय सहमतिको सरकारको समेत आवश्यकता औँल्याउनुभयो ।

अगुवा कार्यकर्ता भेलामा एमाले प्रदेश नं ३ का सहसंयोजक काशीनाथ अधिकारीले एमालेकै कारण देशमा नयाँ संविधान आएको बताउँदै संविधान कार्यान्वयनको जिम्मेवारी पनि एमालेकै भएको बताउनुभयो ।

एमाले पोलिटब्युरो सदस्य महेन्द्रबहादुर पाण्डेले देशको आर्थिक समृद्धि र विकाससँग जोडिएका आयोजना कार्यान्वयनका लागि सरकार उदासीन रहेको बताउँदै संविधान कार्यान्वयन अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा एमाले नुवाकोटका अध्यक्ष नारायणप्रसाद खतिवडा, पोलिटब्युरो सदस्य अरुण नेपाल र सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य एवम् नुवाकोट इन्चार्ज खेम लोहनी, एमाले विदेश विभाग सदस्य केशव पाण्डे, नेता सूर्य कँडेल, विष्णु लोहनीलगायतले मन्तव्य राख्नुभएको थियो । रासस