[UPDATE]त्रिशुली बस दुर्घटना :पुरा बिबरण यस्तो छ ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

[UPDATE]त्रिशुली बस दुर्घटना :पुरा बिबरण यस्तो छ !



मंसिर १३ ,चितवन 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा अर्घाखाँचीका ५२ वर्षीय नुदराज अधिकारी, दैलेखका ३० वर्षीय अमरबहादुर शाही, नवलपरासीको बर्दघाट नगरपालिका वडा नं १ का ५० वर्षीय कृष्ण ढकाल रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा अन्य २१ जना घाइते भएका छन् । तीनजना बेपत्ता रहेको प्रहरीको अनुमान छ ।

सात जनाको घटनास्थलमै र एकको उपचारका क्रममा मृत्यु भएको हो ।

उपचारका लागि काठमाडौँको बिएण्डबी अस्पताल पुर्‍याइएकी सन्धिखर्क नगरपालिका–४ अर्घाखाँची बस्ने ४३ वर्षीया लक्ष्मी पौडेलको उपचारका क्रममा मृत्यु भएको छ । अन्य चार जनाको भने सनाखत हुन सकेको छैन । थापाका अनुसार लु२ख २९१ नंको  बस काठमाडौँतर्फ जाँदै गरेको ना६ख ४९७२ नंको ट्रकमा ठोक्किएर अनियन्त्रित भई सडकबाट त्रिशूली नदीमा खसेको थियो । ट्रकका चालक र सहचालक पनि सामान्य घाइते भएका छन् । सामान्य उपचारपछि उनीहरुलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

घाइतेमध्ये नौ जनाको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा र १२ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेमध्ये दुई जनालाई हेलिकप्टरबाट र ११ जनालाई एम्बुलेन्सबाट काठमाडौँ पठाइएको छ । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका–१ बस्ने ३४ वर्षीय सूर्य भट्टराई, अर्घाखाँची जिल्ला बुद्धिभूमि नगरपालिकाका ३२ वर्षीय कमल सुनार, अर्घाखाँची जिल्ला सन्धिखर्क–१ बस्ने ३५ वर्षीया तिलसा घर्तीमगर, अर्घाखाँची जिल्ला सिद्धिगंगा–३ बस्ने २८ वर्षीय पदम रायमाझी र बाणगंगा–९, कपिलवस्तुका १८ वर्षीया सविना थारुको नर्भिक अस्पताल काठमाडौँमा उपचार भइरहेको छ ।

यसैगरी, अर्घाखाँची जिल्लाका ३४ वर्षीय ध्रुव दमासे, १५ वर्षीया निशा थापा, २४ वर्षीय पवन महत, ४० वर्षीय दधिराम गैरे, सरिता न्यौपाने, रामबहादुर विक र केशरमणि न्यौपानेको बिएण्डबी अस्पताल काठमाडौँमा उपचार भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । प्रहरीका अनुसार बसका सहयोगी चालक प्यूठान बागेमोड–२ का १९ वर्षीय सुनील क्षेत्री, अर्घाखाँची जिल्ला भूमिकास्थान–४ की २१ वर्षीया इन्दिरा दमासे, अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिकाका ३० वर्षीय गोविन्दबहादुर सुनारको भरतपुर शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।

त्यसैगरी, बसका चालक कपिलवस्तु भृकुटी नगरपालिका–९ का ४० वर्षीय थमबहादुर क्षेत्री, अर्घाखाँची नुवाकोट–७ बस्ने २१ वर्षीय राजेन्द्र रायमाझी, बाँके जिल्ला कोहलपुर– ३ बस्ने ४० वर्षीया उमा पोखरेल, अर्घाखाँची जिल्ला भूमिस्थान–४ का सन्दीप दमासे, अर्घाखाँची जिल्ला खनदह–४ का ४२ वर्षीय माधव खनाल र छ महिनाका एक बच्चाको पनि पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सामान्य घुमाउरो सडकमा ट्रकमा बस ठोक्किएर अनियन्त्रित भई नदीमा खसेको हो । बस त्रिशूली नदीमा पूरै डुबेको छ । बस नदीको करिब २५ मिटर गहिराइमा फेला परेको गोताखोरलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बस नदीबाट निकाल्ने प्रयास थालिएको छ ।

दुर्घटनास्थल मुग्लिनबाट करिब १६ किलोमिटर काठमाडौँतर्फ पर्दछ । घटना बिहान ९:१५ बजे भएको हो । चालक र सहयोगी चालक गरी बसमा ३२ जना सवार रहेको क्षेत्रीको भनाइ छ ।

– रासस