जसले आमालाई पुनर्जन्म दियो ….. « Himal Post | Online News Revolution
Logo

जसले आमालाई पुनर्जन्म दियो …..



रुकुमको महत गाउँमा जन्मिएर हाल काठमाडौँ बस्दै आएकी युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीकी छोरी भन्दा पनि मैले आमा बचाउने छोरी भनेर चिनेँ किनकि उनै विजया बि.सी जसले आफ्नी आमालाई आफ्नो मिर्गौला दान गरेर पुनर्जन्म दिएकी छन् ।

प्रस्तुति :समिर प्रकाश पाण्डे 

प्रस्तुत छ उनै विजया बि.सी. सँगको कुराकानी

के गर्दै हुनुहुन्छ अाजभोली ?

म नर्स हुँ । अस्पतालमा बिरामीहरुको सेवामै बितिरहेका छन् दिनहरू ।

तपाईँको बाल्यकाल कहाँ र कसरी बित्यो ?

बाल्यकाल सम्झँदा मन दुखेर आउँछ ।मेरो जन्म रुकुम जिल्ला महत गा.बि.स गुनाम भन्ने ठाउँमा भएको थियो तर बाल्यकाल २०५२ सालको जनयुद्धका कारण अलि कष्ट र पिडामा बित्यो । आधा बाल्यकाल गाउँमै बित्यो त आधा कालिकोट, जनयुद्धको कारणले घरमा बसोबास हुन सकेन घरमा बस्ने स्थिति नै थिएन ।

 के कारणले घरमा बस्ने स्थिति भएन ?

मेरो बुबा (दलजीत श्रीपाली) अन्याय अत्याचार भएको सहन सक्नु हुन्नथ्यो । ५२ सालमा सुरुभएको जनयुद्धमा गाउँको शिक्षण पेसा छोडेर भुमिगत जीवन बिताउनु भयो । यसकारण हामी सिअाईडिको नजरमा परेका थियौँ । घर घेरा हालिन्थ्यो त्यो कारण प्राय जंङ्गलकै बास हुन्थ्यो ।

तपाईँ कति वर्षकी हुनुहुन्थ्यो बुबा भुमिगत हुने समयमा सम्झना छ ?

सम्झना छैन, बुबा भुमिगत हुँदा २ वर्षकी थिएँ रे । बुबालाई त्यति चिनेकी थिईनँ र चिन्ने बेलामा माओवादीको नेता भएकै कारण घरमा आर्मीहरुले बस्न दिदैनथे बुवासँग मेरो साइनो परिवर्तन गरिएको थियो आर्मी र सिअाईडि बाट बचाउनको लागि मैले मेरो जन्म दिने बुबालाई मामा भन्नुपरेको थियो ।

 तपाईँ कति वर्षको हुँदा मैले मामा भनेर सम्बोधन गर्ने मान्छे त मेरो बुवा पो रहेछ भन्ने थाहा पाउनु भयो?

म पाँच वर्षकी हुँदा थाहा पाएको थिएँ ।

युद्धकालमा उहाँको मुत्युको कुरा पनि धेरै पटक आएको भन्ने सुनिएको थियो खास के थियो ?

जनयुद्धको क्रममा मेरो बुबाको मृत्युको खबर धेरै पटक आयो टुहुरो जीवन पनि बितायौ । सहिदको परिवार भनेर चिनियौ मेरो बुवा जिउदो हुदाहुदै कति पटक त आमाले बिधुवाको जीवन बिताउनु भयो । तपाईँले सुन्नुभएको कुरा सही हो । जनयुद्धको बेला युद्धमा लडाइँ लड्दै गर्दा मृत्यु भएको खबर आइरहन्थ्यो । हामी कम्जोर महसुस गर्दै गयौँ । बुबाको मृत्युको खबरसँगै आमा पनि युद्धमा होमिनुभएको थियो ।

जीवित हुनुहुन्छ भन्ने खबर कसरी थाहा पाउनु हुन्थ्यो

बुवा जीवित भएको खबर चिठ्ठीमार्फत थाहा हुन्थ्यो । कसैको बुबासँग भेट भएको थियो भने उहाँले खबर दिनुहुन्थ्यो । तर अरूको खबरमा विश्वास गर्दैनथ्यौ ।

 आमा पनि जनयुद्धमै लागेपछि कसरी बित्यो जिन्दगी ? अनि पढाई कसरी अगाडि बढ्यो ?

आमा पनि युद्धमा लागेपछि हामी बज्यै र हाम्रो हेरचारको लागि काईला बुवा र काईली ममीसंगै बस्यौ । मैले रुकुमतिरै गाउँको स्कुलमा पढें । पछि आमा र बुबाको भेटपछि हामी आफ्नो घर छोडेेर सुदुरपश्चिमतिर बुबाआमाका साथमा बसेर ६ कक्षा सम्म पढे । घर फर्किसकेपछि रोल्पाबाट एसएलसी दिएँ ।जनयुद्धपछि शान्ति सम्झौता भएपछि घुमघामको लागि काठमाडौँ आएको थिएँ । बुबासँग कुरा गरेर यतै नर्सिङ पढ्ने निर्णय गरेँ । भक्तपुर नयाँ ठिमीमा चक्रबर्ती हबी एजुकेसन एकेडेमी नर्सिङ कलेजमा पढाई पूरा गरेँ ।
 अहिले त बुबा मन्त्री पनि हुनुभयो नि ? कस्तो लाग्छ ?

बुबा मन्त्री हुनु भएकोमा गर्व महसुस हुन्छ । अन्याय र अत्याचार विरुद्ध युद्धमा होमिनु भएको थियो । धेरै ठुलो त्याग र सङ्घर्ष गर्नुभयो । पहिले र अहिलेको माहोल धेरै फरक छ । पहिले युद्धकालमा बम बारुदको बिचमा हुर्किएको मान्छे मनमा अशान्ति थियो अहिले सबै जना मिलेर बस्न पाउँदा खुसी लाग्छ नै ।

 अनि अहिले कस्तो छ तपाईँ र आमाको स्वास्थ्य ?

अहिले आमा र मेरो स्वास्थ राम्रो छ। आमालाइ पनि पहिला भन्दा सुधार छ ।

आमालाई मृगौला दिने एक महान् छोरी तपाईँले कसरी निर्णय गर्नुभो मृगौला दिने भनेर?

मैले आमाकै कारण यो संसार देख्ने सौभाग्य पाए पहिलो सन्तानको रूपमा । आफ्नो ज्यान जोखिममा राखेर मलाइ जन्म दिनुभयो भने मैले शरीरको एउटा अङ्ग दिनु ठुलो कुरा होइन जस्तो लाग्छ । त्यसैले आमाको पीडा देख्न नसकेर मैले मेरो उहाँलाई एउटा मिर्गौला दिने निर्णय गरे । खुसी छु यो मेरो सानै देखिको सपना पनि हो आफू बाँचुन्जेल भित्र आफूले देखेर नै अङ्ग दान गर्ने त्यो पुरा भयो ।

यत्रो ठुलो निर्णय लिनुभयो के भन्नुभयो तपाईँको श्रीमान् र परिवारले ?

मेरो काँधमा दुई घरको जिम्मेवारी छ। आमालाई मिर्गौला दिने निर्णय लिनु भन्दा पहिले घरपरिवार र श्रीमान् सबैलाई सोधेको थिए । उहाँहरू सबैजनाले मेरो हैसला बढाउनुभयो । आफ्नो आमालाई बचाउ किन कि जीवनमा सबै साइनो पाइन्छ तर बुबाआमाको साइनो कहिल्यै पाइन्न त्यसैले घरपरिवारको चिन्ता नगर पहिले आमाको ज्यान बचाउ अनि त्यस पछि के गर्ने सोचौला भनेर सम्झानुभयो मलाई । अनि म मेरो परिवार देखि अत्यन्तै खुसी भए जीवनमा सोचे जस्तो श्रीमान् र घरपरिवार पाएँ भनेर ।

त्यो क्षण तपाईँ आफ्नो आमालाई मिर्गौला दिदैहुनुन्थ्यो कस्तो सोच आयो मनमा ?

त्यतिखेर आमाको अवस्था चिन्ताजनक थियो दुइटै मिर्गौलाले काम नगर्ने भइसकेको थियो । उहाँलाई जसरी पनि बचाउनुथियो । बुबाले आफ्नो मिर्गौला दिन्छु भन्नुभयो तर उहाँहरूको रगत मिलेन। अनि मैले दिने निर्णय गरे । मिर्गौला दिनु पहिले मेरो र आमाको शरीरको जाँच गर्दा मैले मिर्गौला दिन मिल्ने भयो । त्यति बेला म निकै खुसी भए मेरो आँखाबाट खुसीको आसुहरु झर्न थाले । सोचिरहे मैले मेरी आमालाई पूरा अङ्ग दिन नसकेनी एउटा अङ्ग दान गर्न पाउने भए भनेर मनमनै रमाइरहेको थिए ।

 आफ्नो जन्म दिने आमालाई पुनर्जीवन दिएर उदाहरणीय छोरी बन्नु भयो नि !

पृथ्वीभन्दा महान् आमालाई बचाउनु पाउनु छोरीहरुको सौभाग्य हो । मलाई आमा र बुबाले जन्म दिनुभयो तर म त्यस्तो छोरी हुदैछु आफ्नो आमालाई बचाउने र पुर्जन्म दिने छोरी । श्रीमान् बितेको पटक पटक सुन्नु भएको मेरी ममि मृत्यु सँग जुध्नु भएको थियो । त्यो मात्र होइन लडाइँ को मोर्चाहरुमा कयौँ हार बेहोर्दै ब्याटल जित्नु भएको हो मेरो आमाले । हरेक चुनौतीहरुको सामना गर्दै यहाँसम्म पुग्नु भयो । भगवान् भनेकै मेरो बुबाआमा नै हुन् । आफ्नो भगवान् बचाउन जे पनि गर्न सक्छु भन्ने मनमा आयो । अनि हरेक जन्ममा मेरो बाबुआमाको छोरी हुन पाउँ र उहाँहरूको सुखदुखमा साथ दिन सकौं भन्ने लाग्यो ।
आमाको शरीरले तपाईँको मिर्गौला इन्कार गर्‍यो रे किन ?

हजुर, मिर्गौला प्रत्यारोपणपछि आमालाई गम्भीर निमोनिया देखा पर्‍यो त्यस कारण उहाँको शरीरले मैले दिएको किड्नी इन्कार गरे पनि अहिले किड्नीले २०% काम गरिरहेको छ । अहिले उहाँको स्वास्थ्य राम्रो छ पहिलेको भन्दा।

 दुख र सुख दुवै भोग्नुभयो आखिर के रहेछ जिन्दगी तपाईँको भोगाइमा ?

दिन र रात, मिलन र बिछाेड भनेझैं दुख र सुख पनि एकअर्काको परिपुरक नै रहेछ, दुख पनि एउटा जीवनको साथी हो । दुखभित्र पनि खुसी महसुस गर्नु नै सुख जस्तो लाग्छ । जहाँ दुखको सामना गर्न सक्छौ त्यहाँ अवश्य पनि सुखको अनुभव हुन्छ । त्यसैले मेरो भोगाइमा जीवन त दुख र सुखको संगम हो भन्ने लाग्छ

धन्यवाद, विजया जी हिमाल पोस्टको तर्फबाट तपाईँ र आमाको स्वस्थ्य लाभको कामना गर्दछौ ।